चर्चामा ट्याम्केमैयुङ

भोजपुर १७ जेठ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि तोकिएको मितिदेखि ९ असारमा सर्ने भए पनि दलको सक्रियता भने उस्तै रहेको छ । भोजपुर नगरपालिका र षडानन्द नगरपालिकापछि भोजपुरमा ट्याम्केमैयुङ गाउपालिका निकै चर्चामा रहेको छ । किनभने यो गाउँपालिकाको उम्मेदवारसँगै अहिले जति पनि केन्द्रीय राजनीतिमा भोजपुरबाट प्रतिनिधित्व गर्छन् यही गाउँपालिकाबाट बढी छन्भन्दा फरक पर्दैन ।  अहिलेको सभासद् जयन्ती राई यही गाउँपालिकाकी हुन् । त्यस्तै एमाले नेता शरणकुमार राई, पूर्वउद्योग मन्त्री तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राई, केन्द्रीय उपमहासचिव अजम्बर काङमाङ राई, केन्द्रीय सदस्य गोपाल राई अनि कांग्रेस र माओवादी केन्द्रसँगको दरिलो गठबन्धन बनाएर गाउँपालिका प्रमुख पदका उम्मेद्वार रामसिं राई पनि संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन् ।
यता एमालेबाट प्रमुख पदको उम्मेद्वार बनेका ध्रुव राई पनि यहीँका हुन् । त्यस्तै राप्रपा नेपालका सयन्द्र राई संघीय समाजवादी फोरम नेपालका किरात प्रदेश उपाध्यक्ष बलबहादुर बस्नेत, माओवादी केन्द्रका राजेश खतिवडा, राप्रपा नेपालका विष्णुकुमारी राई, कांग्रेस जिल्ला सभापति नन्दमणि राई पनि यहाँकै हुन् । कांग्रेस पूर्वसचिव तथा महासमिति सदस्य हेमन्त मुकारुङ र कांग्रेसका धर्मराज राई र शक्तिराज राई पनि यही गाउँपालिकाको हुन् । यति मात्र होइन कांग्रेसको महासमिति सदस्य विनोद वान्तावा एमालेका जिल्ला सचिव शरण राई पनि यहाँकै हुन् ।

केन्द्रीय तथा जिल्ला नेताहरूको दबदबा भएको यो गाउँपालिकाको चुनाव निकै रोमाञ्चक हुने देखिन्छ । तर, मतदाताहरूले कसलाई रुचाउने हुन् त्यो भने ९ असारको चुनावको परिणामले टुंगो लगाउनेछ । तर, यो गाउँपालिकालाई दलहरूले निकै महत्वको साथ हेरेका छन् । यहाँ जन्मेका केन्द्रीय नेता तथा जिल्ला नेताहरूको व्यक्तिगत प्रभाव पनि यो चुनावी परिणामले देखाउने भएकाले ट्याम्केमैयुङ गाउँपालिकाको चुनावी माहोललाई महत्वको साथ हेरिएको हो ।

प्रतिक्रिया