प्रहरीले पत्ता लगायो सुन तस्करीको नयाँ तरिका

sun
काठमाडौं, १७ जेठ । करिब दुई वर्ष खाडीमा बिताएर स्वदेश फर्कने क्रममा कपिलवस्तु शिवपुर—४ का रामभोजन थारु सोमबार त्रिभुवन विमानस्थलमा सबै जाँच सजिलै पार गर्दै बाहिर निस्किए। तर, आगमन कक्षबाट बाहिरिएलगत्तै पार्किङमा उनलाई प्रहरीले शंकास्पद अवस्थामा भेट्यो।

३७ वर्षीय रामभोजनले आफूसँगै विदेशबाट आएका अन्यसँग सुन संकलन गरिरहेका थिए । रामभोजनले संकलन गरेको सुन लिन विमानस्थलमा अर्का एक व्यक्ति पनि पुगिसकेका थिए । प्रहरीले रामभोजनको साथबाट एक सय ९३ ग्रामका कुल चार वटा सुनका बाला बरामद गर्‍यो।

विमानस्थल जाँचमा कडाइ हुन थालेपछि तस्करले सुन तस्करीमा नयाँ शैली अपनाउने गरेको खुलासा भएको छ । विमानस्थल प्रहरीले रामभोजन र उनले जम्मा गरेको सुन लिन पुगेका चितवनका राजकुमार भुसाललाई पनि पक्राउ गरेको छ । चितवन वीरेन्द्रनगरका ३२ वर्षीय भुसाल नयाँबसपार्कस्थित होटल म्याग्दी पोखराका सञ्चालक हुन् । विदेशबाट आउँदा नेपालीले अधिकतम ५० ग्रामसम्म सुनको निर्माण सामग्री लिएर आउन पाउँछ । तर, काँचो सुन भने प्रतिबन्धित छ।

‘५० ग्रामभन्दा बढी तौल भएको सुन लिएर आउँदा भन्सारले पक्राउ गर्ने भएपछि तस्करले नयाँ बाटो अपनाएको देखिन्छ’, विमानस्थल प्रहरी अधिकारीले भने । विमानस्थल भन्सार प्रमुख नारायण सापकोटा भन्सार पास भए पनि विमानस्थलबाहिर सुन कलेक्सन हुनु अवैध हुने बताउँछन्। ‘५० ग्राम तौलसम्म रेडिमेड सुन ल्याउन पाइन्छ र त्यसको स्वामित्व भएको कागजात आफूसँग हुनुपर्छ । यस्तो स्थितिमा भन्सारले नछाडदिने कुरै आउँदैन । तर, यसरी व्यक्तिगत रूपमा ल्याइएको सुन बाहिर निस्किएर संकलन हुनु तस्करी हो । तस्करले नयाँ शैली अपनाएको देखिन्छ’, विमानस्थल भन्सार प्रमुख सापकोटाले भने।

तस्करले खाडीबाट स्वदेश फर्किन लागेका नेपालीलाई कागजात बनाई अधिकतम मापदण्डअनुसार सुन भिराएर पठाउने र त्यो विमानस्थलबाहिर संकलन हुने गरेको नयाँ शैली देखिएको उनले जनाए। ‘यसरी सुन बोकेर आएकाले काठमाडौंमा केही कमिसन पनि लिने गरेको जानकारी पाएका छौं’, उनले भने। विमानस्थल भन्सार कार्यालयले पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। अन्नपूर्ण पोष्टमा यो खबर छ।

प्रतिक्रिया