अर्थपूर्ण निर्वाचन

अनेकन आरोह–अवरोहपछि आज बिहानदेखि पहिलो चरणको स्थानीय तहको निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं. ३, ४ र ६ मा मतदान हुँदैछ । झन्डै दुई दशकपछि वालिग नागरिकले स्थानीय तहको निर्वाचनमा भाग लि“दैछन् । उनीहरूले स्थानीय विकासका आफ्ना संवाहक चुन्दैछन् । राजनीतिक उथलपुथलका कारण लामो समयसम्म निर्वाचन हुन नसक्दा विगतको स्थानीय निकायमा अनियमितता, भ्रष्टाचार र अव्यवस्थाले प्रधानता पाएर जनताले निकै कष्ट बेहोर्नुपरेको थियो । गाविस, नगरपालिका र जिविस कर्मचारीको भरमा सञ्चालन गर्दा निर्वाचित जनप्रतिनिधिको तुलनामा त्यत्तिको असरदार नभएको सबैले महसुस गरेका थिए । त्यसमाथि पनि गाविसको बजेट बाँडफाँट र नचाहिँदो चन्दा माग बखेडाले गर्दा बेलाबेलामा स्वयं कर्मचारीले ज्यान जोखिममा परेको गुनासो गर्दै जनप्रतिनिधिको काम आफूहरूले गर्न असमर्थ रहेको जनाएका थिए ।
स्थानीय निकायका कर्मचारीको गुनासो यथार्थपरक भए पनि तत्काल निर्वाचन गर्ने अवस्था थिएन र स्थानीय निकाय तदर्थवादमा सञ्चालनमा रह्यो । विभिन्न राजनीतिक वादविवाद र अनेकन खि“चातानीलाई छिचोलेर स्थानीय निकायबाट रूपान्तरण भएर स्थानीय तहमा परिणत गाउ“पालिका, नगरपालिकाको निर्वाचनको सर्वाधिक महत्व रहेको छ । निर्वाचनको मिति घोषणा गरेदेखि नै अन्योल र अनिश्चिताको बादलभित्र रुमल्लिएर निर्वाचनको प्रत्याभूतको विश्वास खोजिरहेको विगतले आज साकार रूप धारण गर्दैछ । जुन आफैंमा उत्साह र खुसीको कुरा हो । सरकारले स्थानीय तहको निर्वाचन पक्कै हुन्छ भनेर बारम्बार भनिरहँदा पनि अविश्वास र अनिश्चय जीवितै थियो । नयाँ संविधान जारी भइसकेपछि आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तल्लो राजनीतिक एकाइमा निर्वाचित जनप्रतिनिधिलाई बहाल गराउनु जरुरी थियो ।
यो निर्वाचनविना गणतन्त्र संस्थागत हुने अवस्था थिएन । त्यसैले पनि स्थानीय तहको निर्वाचन निर्विघ्नपूर्वक सम्पन्न हुनु आवश्यक छ । दुई चरणको निर्वाचनले सम्पन्न भयो भने गणतन्त्रविरोधीहरूलाई राम्रै सन्देश जानेछ । तसर्थ, निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सबैको कर्तव्य हुन आउँछ । यसै सिलसिलामा निर्वाचन आयोगको सम्पूर्ण कोसिस मननयोग्य छ । केही निर्वाचनविरोधी जमात पनि नदेखिएको होइन । उनीहरूका माग के छन् त्यो बुझेर दोस्रो चरणको निर्वाचनमा भय र त्रासको वातावरण नहोस् यसतर्फ सरकारको ध्यान जाओस् । समग्रमा तीन वटै प्रदेशमा सुरु हुन लागेको निर्वाचनप्रति जनता उत्साही छन् । आजको दिनमा यो उत्साहले अझ उचाइ नाप्न सकोस् यही हाम्रो शुभकामना ।

प्रतिक्रिया