काफल बेचेर पढाइ खर्च

दाङ । यहाँका बालबालिकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सदको समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताए । कक्षा ६ मा अध्ययन गर्ने पुनले शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताए । ‘यही काफल बेचेको पैसाले पढाइ खर्च चलेको छ,’ उनले भने ।

हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताए । उनी जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्छन् । त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्छिन् । कक्षा– ७ मा पढ्दै गरेकी पुनले ७० रुपैयाँ मा एक मानो काफल किनेर एक सय रुपैयाँमा बिक्री गर्छिन । ‘दैनिक तीन सयदेखि पाँच सय रुपैयाँसम्म फाइदा हुन्छ,’ उनले भनिन् । काफल बिक्री गरी दैनिक चार सय रुपैयाँ भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताइन् । उनी जस्तै अन्य बालबालिकाले काफल बेचेर आम्दानी गर्दैआएका छन् ।

प्रतिक्रिया