विदेशी औषधिमा सरकार आफै व्यापार गर्दै

काठमाडौं । विदेशबाट आयातीत औषधिमा सरकार आफैले कारोबार गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिको टोलीले सो निर्णय गरेको समाचार छ । औषधि सयौँ गुणा महँगो पर्ने गरेको प्रतिवेदन दिएपछि सरकारले औषधि खरिद गरी बिक्री गर्ने निर्णय लिएको हो । सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधैँ खरिद गरी सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा गठित सुझाव समितिले दिएको सुझावमा सरकारले आफैँले औषधि खरिद गरी बिक्री गर्दा ५० प्रतिशतसम्म सस्तो पर्ने बताइएको छ ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधिमा स्वदेशी उद्योगकै औषधि प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्यन गर्ने निर्णय भएको बताउनुभयो । उनले भने, ‘स्वदेशी औषधि उद्योगलाई प्राथमिकता दिँदा औषधिको मूल्य सस्तो हुनुपर्ने, पर्याप्त गुणस्तरको हुनुपर्ने र नेपाली उद्योगको सिन्डिकेट तथा एकाधिकार हुन नदिने विषयमा पनि मन्त्रालय गम्भीर रहेको छ ।’ नेपाली बजारमा बिक्री हुँदै आएका क्यान्सर, मिगौलालगायतका औषधि २२ सय प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री हुनेगरेको तथ्य फेला पारेको मन्त्रालयको दाबी छ । अहिलेसम्म स्वदेशी कतिपय औषधि विदेशी भन्दा महङ्गो हुने गरेकोमा खपत बढ्न थालेपछि स्वदेशी पनि सस्तो हुने मन्त्रालयको विश्वास छ ।
मन्त्रिपरिषद्को गत मंगलबार बैठकले औषधिको मूल्य निर्धारण गर्न र सुपथ मूल्यमा खरिद बिक्री गर्न सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको रहेको उच्चस्तरीय समिति गठन गरिसकेको छ । समितिले कसरी उपभोक्तालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव सरकारलाई पेस गर्ने मन्त्रालयले जनाएको छ । नेपाल सरकारको कुनै निकाय वा अहिले भइरहेको खरिद इकाइ मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधि खरिद गर्ने मन्त्रालयको योजना छ । यसरी खरिद गरी बिक्री गर्दा बिरामीले ५० प्रतिशतसम्म सस्तोमा औषधि प्राप्त गर्ने बताइएको छ ।
नेपालमा आधुनिक औषधिको उत्पादन निजीस्तरमा केमी ड्रग प्रा.लि. २०२६ सालमा स्थापना भएपछि सुरु भएको थियो । सरकारीस्तरमा २०२९ सालमा नेपाल औषधि लिमिटेडको स्थापना भएपछि सुरु भएको थियो ।  सुझाव समितिका अनुसार अहिले ४९ वटा आधुनिक मानवका औषधि उद्योग, आठवटा पशुपक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन् । आयाततर्फ २९४ आधुनिक मानवका औषधि उद्योग, १३ बटा पशुपक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेेदिक औषधि उद्योग दर्ता छन् । गत आव २०७२÷७३ को औषधि उत्पादन र आयातको तथ्यांक हेर्दा नेपाली उत्पादनको बजार हिस्सा ४६%, भारतीय उत्पादनको ५२% र अन्य मुलुकको २% रहेको प्रतिवेदनमा उल्लेख छ ।
विदेशी औषधि आयातकर्ताले भने सरकारको यस्तो कदम सफल नहुने चेतावनी दिएका छन् । उनीहरूले स्वदेशी औषधि र उद्योगलाई प्रोत्साहन गर्ने नाममा हस्तक्षेप गर्न खोजेको आरोप लगाएको बताएका छन् । यसकै विरोधका अत्यावश्यक औषधि आयात ठप्प पार्ने चेतावनी दिँदैँ नेपाल औषधि आयातकर्ता सङ्घले आन्दोलनको घोषणा पनि गरेको छ ।

प्रतिक्रिया