निर्माणाधिन नगर भवन अलपत्र

nagar palika

भोजपुर २९ वैशाख । भोजपुर नगरपालिकाको निर्माणाधिन भवन अलपत्र परेको छ । ओसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालि लाजिम्पाटले ०७२ असोजदेखि ०७४ चैत मसान्तभित्रमा सम्पूर्ण काम सक्ने सम्झौता गरेको थियो । दुई तले भवनका लागि एक करोड ५६ लाख ६९ हजार आठ सय ५६ रुपैयाँ ७६ पैसामा सम्झौता गरेको होे । सम्झौताको मिति सकिसक्दासम्म भवनको चर राख्ने काम मात्र सम्पन्न भएको छ । सानो र साँघुरो ठाउँबाट सञ्चालनमा रहेको कार्यालयलाई व्यवस्थित बनाउन निर्माण गर्न लागिएको भवन निर्माण कम्पनीले चासोका साथ काम नगर्दा भवन निर्माण हुन नसकेको हो । हालसम्म २३ दशमलव ९४ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

तोकिएको समयमा काम नसकिएपछि भवन निर्माणका लागि ६ महिना समय समेत थप गरिएको छ ।  यता निर्माण सामग्रीको अभावमा तोकिएको मितिमा काम सक्न ढिलाइ भएको ठेकेदार कम्पनीका साइड इन्चार्ज सुरेश माझीले बताए । ‘सामग्री खरिदमा समस्या छ तैपनि थपिएको ६ महिनाभित्र भवन निर्माणको काम सक्छौँ’, इन्जार्ज माझीले भने ।निर्माणमा प्रयोग गरिएका रडहरूमा खिया लाग्न थालेको छ । नगरपालिकाको अनुसार ठेकेदार जिल्लामा नरहेको र निर्माण कम्पनीलाई पटकपटक पत्र पठाइएको र फोन गरेर काम गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।

सोही अनुरूप ठेकेदार कम्पनीले जुन महिनामा आउने वचन दिएको छ । निर्माणका लागि कार्यालयले ३३ लाख रुपैयाँ पेस्की रकम निर्माण कम्पनीलाई उपलव्ध गराएको र अब तत्काल ३७ लाख रुपैयाँ दिन तयारी अवस्थामा रहेको लेखाअधिकृत सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया