नेपालमा पक्रिएका बब्लुको अदालतमै हत्या

Most-Wanted-Bablu-Dube-Shot-Dead

वीरगञ्ज २९ वैशाख । पर्सा, बाराका विभिन्न सीमावर्ती भारतीय सहरमा हत्या, अपहरण, फिरौती, लुटपाटजस्ता आपराधिक गतिविधि गर्दै आतंक फैलाउँदै आएका भारतीय नागरिक बब्लु दुबे भन्ने मिथिलेश मिश्रा मारिएका छन् । भारत मझौलियाको अहवर शेखका मुखिया जवाहर साहको हत्या आरोपमा पक्राउ परेका भारत बिहारको पूर्वी चम्पारण जिल्ला कल्याणपुर थानाअन्तर्गत सिसवा खरार गाउँ निवासी ३८ वर्षीय दुबेलाई भारतीय प्रहरीले बिहीबार बेतिया अदालतमा हाजिर गराउन लगेका बेला अदालतपरिसरमै अपरिचित दुई व्याक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् । अदालतमा पेसीपछि भ¥याङबाट तल झर्दै गरेको अवस्थामा दुबेमाथि दुई अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । पाँच वटा गोली लागेर गम्भीर घाइते भएका दुबेलाई उपचारका लागि अस्पताल पु¥याउनेबित्तिक्कै चिकित्सकले मृत घोषित गरेको बेतियाका एसपी विनय कुमारले बताए ।
गोली प्रहार गर्ने व्यक्तिको परिचय खुल्न सकेको छैन । बेतियाका सीमानाका सिल गरेर दुबेलाई गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।भारतमा अपराध गरेर नेपालमा बस्दै आएका बेला दुबेलाई चार वर्ष पहिले नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । अञ्चल प्रहरी कार्यालय वीरगञ्जका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले ०७० साल १४ जेठमा काठमाडौंको सीतापाइलामा लुकेर बसेका दुबेलाई पक्राउ गरी वीरगञ्जमा ल्याएर जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय बाराले केही सार्वजनिक अपराध मुद्दा दर्ता गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले दुबेलाई १० हजार धरौटी तिराएर रिहा रिहा गरेलगत्तै बाराको कलैयाबाट भारतीय प्रहरीले दुबेलाई नियन्त्रणमा लिएर भारतको मोतीहारी जेलमा राखेको थियो ।
भारतीय प्रहरीले बिहीबार मोतीहारी जेलबाट बेतिया अदालतमा पेसीका लागि लगेका बेला दुबेलाई अपरचित व्यक्तिले गोली हनेर हत्या गरेका हुन् । भारतमा विभिन्न हत्या र बैंक लुटपाटको घटनामा दोषी ठहर गरी अदालतले १० वर्ष कैद सजायको फैसला गरेपछि दुबे भारतबाट भागेर नेपालमा आई लुकेर बसेका बेला ०७० सालमा नेपाल प्रहरीले पक्राउ गरेको थियो ।त्यसअघि भारतको जेलमा रहेका बेला दुबेले बिहार पिपुल्स लिब्रेसन आर्मीको नाममा आपराधिक समूह खडा गरी ३० जना व्यक्तिको हत्या गराएको र करोडौं भारतीय रुपैयाँ असुल गरेको भारतीय प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया