बनेपाको चण्डेश्वरी जात्रा सुरु

chandeshjri jatr

काभ्रे २८ वैशाख । हरेक वर्ष वैशाख पूर्णिमाको दिन लाग्ने प्रसिद्ध चण्डेश्वरी जात्राको रौनक बनेपा र आसपासका नेवारी बस्तीहरूमा छाएको छ । चार दिनसम्म चल्ने चण्डेश्वरी जात्रा बनेपाली नेवार समुदायको लागि एक महत्वपूर्ण चाड हो । जात्राको पहिलो दिन बिहानै चिराग यात्रा निकालिने परम्परा छ ।  मंगलबारबाट सुरु भएको यो जात्रा बनेपाको तीनधाराबाट रथ यात्रा गरि चण्डेश्री मन्दिर पु¥याइन्छ भने बिहीबार सोही रथमा मूर्ति राखी बनेपा बजार परिक्रमा गराइन्छ । दैत्यराज चण्डासुरलाई बनेपाको चण्डेश्वरी अवस्थित रक्तचन्दन वनमा कुमारी चण्डेश्वरी प्रकट भई मार्न प्रयास गर्दा नसकेपछि भगवतीको रूपमा प्रकट भएर चण्डासुरको वध गरी देवगणको रक्षा गरेको किंवदन्ती छ । यसैको खुसीयालीमा जात्रा मनाइँदै आएको धार्मिक कथन छ ।

लामो इतिहास बोकेको चण्डेश्वरी जात्रालाई बनेपालीहरूले विशेष श्रद्धा र आस्थाका रूपमा लिने गर्दछन् । स्थानीयले धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमाजम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रूपमा जात्रा सुरु भएको मान्ने गरिन्छ । तीनधारामा पूर्णिमाकै दिन बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय सयौँ युवाहरूले बोकेर ल्हाका पालुं हाः अर्थात सबैले एकैचोटी उचालौँ’ भन्दै चण्डेश्वरी पु¥याउने गर्दछन् ।

खटलाई मन्दिर नजिक पु¥याएपछि विभिन्न अनुष्ठान र विधि गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बली दिने गरिन्छ । १२ वटा बोका मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरूप भीडमा फालिने परम्परा रहिआएको छ । कलंदान पछि मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा समापन हुन्छ ।

प्रतिक्रिया