वनहातामा भ्यू–टावर शिलान्यास

दाङ २५ वैशाख । दाङको लमहीमा भ्यू–टावरको शिलान्यास गरिएको छ । लमही बजारसँगै उत्तरी भेगमा जोडिएको अजमरी सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र निर्माण हुन लागेको ग्रिनपार्कभित्र निर्माण गर्न लागेको सात तले भ्यू–टावरको शनिबार शिलान्यास गरिएको हो । लमहीलाई पर्यटकीय सुन्दर नगरका रूपमा विकास गर्न र लमहीको चिनारीका रूपमा उक्त टावर निर्माण हुन लागेको हो । करिब २० बिघा क्षेत्रफलमा उपभोक्ता समूहले ग्रिनपार्क, भ्यू–टावर, बालउद्यान, सिमसार, नर्सरीलगायत १९ वटा कार्य गर्ने निर्णय गरेलगत्तै जिल्ला वन कार्यालयले सहमति दिएको थियो । जिल्ला वन कार्यालयको सहमति तथा लमही नगरपालिकाको आर्थिक सहयोग प्राप्त गरेलगत्तै ग्रिनपार्कको निर्माण प्रक्रिया अगाडि बढेको छ । जसमध्ये एक भ्यू–टावर निर्माण पनि हो ।
एक करोड २२ लाखको लागतमा दुई वर्षमा निर्माण सम्पन्न हुने सो टावरको यसवर्ष भने पहिलो चरणको कार्य मात्र हुने अजमरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केसीले बताए । पहिलो चरणको कार्यका लागि लमही नगरपालिकाबाट ५० लाख, जिल्ला वन कार्यालय दाङबाट ६ लाख उपभोक्ताबाट १५ लाख गरी ७१ लाखको लगानी हुने भएको छ ।सो भ्यूटावर निर्माण भएलगत्तै भ्यू–टावरमा चढेर लमही बजारलगायत देउखुरीका धेरैजसो स्थानको दृश्यावलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया