धराप बन्दै विद्युत्का पोल

bejuali polरूपन्देही २५ वैशाख । बुटवल–१० (साविक–१२) कालिकानगर अभियान पथ हुँदै गएको हाइटेन्सन लाइनका विद्युतीय पोलहरू ढल्न लागेको दुई वर्ष हुँदा पनि त्यसलाई बदल्न पहल भएको छैन । चौराहादेखि योगिकुटीसम्मका करिब दुई किलोमिटर सडकका ३० वटा भन्दा बढी पोलका ७५ प्रतिशत भाग खिया लागेर मक्किएका छन् ।
यहाँका अधिकांश पोलहरू टेको लगाएर राखिएका छन् । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रका लागि टेन्डर प्रक्रियामार्फत पोलहरू फेर्ने बताए पनि अहिलेसम्म काम भएको छैन । प्राधिकरणले विद्युतीय पोलहरू परिवर्तन गर्न नसक्दा कालिकानगरबासीले आफूहरूलाई ‘एम्बुसमा’ राखेको आरोप लगाउन थालेका छन् । आवास क्षेत्रबाट गएको हाइटेन्सन लाइनका विद्युतीय पोलहरू जोखिमयुक्त हुँदा स्थानीयहरू त्रासमा बस्न बाध्य छन् ।
नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका निमित्त प्रमुख युवराज आचार्यले स्थानीयले त्यस क्षेत्रबाट हाइटेन्सन लाइन लैजान नदिने भन्दै अवरोध गरेपछि ठेकेदारले काम गर्न नपाएको बताए । ‘क्षेत्रबाट हिँडदा मलाई पनि आङ सिरिंग हुन्छ ।’ आचार्यले भने । ‘स्थानीयबासीले अभियानपथबाट हाइटेन्सन लाइन नलैजान माग गर्दै बुटवल उप–महानगरपालिकामा ज्ञापनपत्र बुझाएपछि उप–महानगरपालिकाले समेत तत्कालका लागि काम अगाडि नबढाउन अनुरोधका कारण रोकिएको हो । ’
सोही लाइनको तार चुडिँदा गएको साउनमा दुई बालकको ज्यान गएको थियो । दुर्घटना भएपछि प्राधिकरणले पोलहरू फेर्ने बताए पनि अहिलेसम्म काम भएको छैन । अभियान पथमा पोलहरू सडकको दायाँ–बायाँ र पिच सडकमा समेत छन् । गाडीले सामान्य ठक्कर दिएमा पोल ढलेर ठूलो दुर्घटना हुन सक्ने जोखिम छ । ‘विद्युतीय लाइनबाट सबैभन्दा जोखिममा कोही छ भने हामी कालिकानगरबासी छौँ’ स्थानीय शिला शर्माले भनीन, ‘हामी त एम्बुसको बीचमा बसेजस्तै भएका छौँ, कतिखेर पोल ढलेर के हुने हो थाहा छैन ।’

उनले भनिन, ‘जोखिमपूर्ण अवस्थामा रहेका पोल परिर्वतन नगर्दा ठूलो मानवीय र भौतिक क्षति हुने खतरा रहेको छ ।’ ‘पोलका तारहरू झोलिएको अवस्थामा छन्’ शंकरनगरका विदुर केसीले भने, ‘३३ केभी भोल्टको लाइन प्रभाव गर्ने पोलहरू यस्तो अवस्था राख्नु लाचारीपन हो । मक्किएर खियाले ढल्न लागेको पोलहरू तत्काल विस्थापित गनुपर्छ ।’ स्थानीयले पटकपटक प्राधिकरणमा लिखित तथा मौखिक जानकारी गराए पनि प्राधिकरणले पोलको विकल्पबारे कुनै प्रतिक्रिया नदिएको स्थानीय भुवन कोइरालाले बताए ।
विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयले डेढ वर्ष अगाडि जनमुखी कन्ट्रक्सन प्रालिलाई उक्त क्षेत्रका पोलहरू फेर्ने र दुई लाइन (एउटा हाइटेन्सन र अर्को वितरण लाइन) योगिकुटीदेखि चौराहासम्म ल्याउने गरी ठेक्का दिएको थियो । तर, स्थानीय बाटोको नालीभन्दा पारीपट्टिबाट पोल गाडेर लैजानुपर्ने बताउँदै आएका छन् । भने, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रले पनि आफ्नो साइनबाट लैजाँदा अफ्ठ्यारो पर्ने भन्दै विरोध गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया