कांग्रेस नेता शाक्यको निधन

Marshall_Julum_Shakyaकाठमाडौं । कांग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री मार्सल जुलुम शाक्यको निधनमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपाल विद्यार्थी संघको संस्थापक नेता शाक्यको शनिबार बिहान ८ बजेर ४५ मिनेटमा ७७ वर्षको उमेरमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । कांगे्रस सभापति शेरबहादुर देउवाले स्व. शाक्यको पार्थीव शरीरमा शनिबार पार्टी कार्यालय सानेपामा पार्टीको झण्डा ओढाई उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
स्व. शाक्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केवी गुरुङ, प्रकाशमान सिंह, तीर्थराम डंगोल, भीमसेनदास प्रधानलगायत नेता तथा कार्यकताले स्व. शाक्यप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा सभापति देउवाले स्व. शाक्यको असामयिक निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रजातन्त्र स्थापनार्थ उनले पु¥याएको योगदानलाई पार्टीले उच्च सराहना गर्ने बताए । उनले भने, ‘स्व. शाक्य स्वभिमानी नेता हुुनुहुन्थ्यो, प्रजातन्त्रका निमित्त उहाँले कसैसित सम्झौता गर्नुभएन ।’
शाक्य १ पुस २०१७ मा राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्थ गरेपछि कालो झण्डा लिएर प्रदर्शनमा उत्रँदा जेल परेका थिए । सो अवसरमा वरिष्ठ नेता पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि शाक्यले पु¥याएको योगदान उच्च रहेको चर्चा गर्दै उनको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको बताए । लामो समय जेल जीवन व्यतीत गरेका शाक्य २०४६ पछि गठन भएको अन्तरिम मन्त्रिपरिषद्का कांग्रेसबाट आपूर्र्तिमन्त्री थिए ।

प्रतिक्रिया