काठमाडौंमा २१ देखि ६९ वर्षका प्रत्यासी

काठमाडौं । उम्मेदवारी मनोनयनसँगै मंगलबारदेखि स्थानीय तह निर्वाचनको माहौल एकाएक तातिएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ गरी तीन प्रदेशमा निर्वाचन हुँदै छ । काठमाडौंको मेयर र उपमेयरमा २१ वर्षदेखि ६९ वर्षसम्म उमेर समूहका प्रत्यासीहरूले दाबी प्रस्तुत गरेका छन् ।  काठमाडौं महानगरपालिकामा एमालेले केही ढिलो गरेर विद्यासुन्दर शाक्यलाई मेयरको उम्मेदवार तोक्यो ।

विद्यासुन्दर शाक्य

विद्यासुन्दर शाक्य

एमालेले राप्रपासँग तालमेल गरेर उम्मेदवार दिएका कारण शाक्य चर्चामा आएका छन् । काठमाडौंको मेयरमा उम्मेदवार बनेका शाक्य ०४९ र ०५४ सालको स्थानीय चुनावमा काठमाडौं–२१ का वडाध्यक्ष निर्वाचित भएका थिए । शाक्य हाल एमालेका काठमाडौं जिल्ला सचिव छन् । वामपन्थी राजनीतिमा ०३६ सालको जनमत संग्रहदेखि होमिएका शाक्य ०४६ सालको जनआन्दोलनमा सक्रियरूपमा सहभागी भएका थिए ।
शाक्य यसअघि एमालेनिकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, काठमाडौं (हालको युवा संघ) का संस्थापक कोषाध्यक्ष थिए ।  विगतको चुनावी आधारमा विश्लेषण गर्दा एमाले राजधानीमा दोस्रो शक्ति मानिन्छ । तर ०७० सालको चुनावमा राप्रपाले राजधानीमा समानुपातिकतर्फ पहिलो दलका रूपमा भोट पाएको थियो । राप्रपाका राजाराम श्रेष्ठलाई उपमेयर र आफू मेयरको उम्मेदवार बनेका कारण शाक्य मेयरका बलियो दाबेदार बन्न पुगेका छन् ।

राजाराम श्रेष्ठ

राजाराम श्रेष्ठ

काठमाडौंको मेयरका उम्मेदवार राजुराज जोशी कांग्रेसका महासमिति सदस्य हुन् । जोशी कांग्रेसभित्र प्रकाशमान  सिंहनिकट नेता मानिन्छन् । उनी उद्योगमन्त्री नवीन्द्रराज जोशीका सहोदर दाजु हुन् ।  राजधानीमा प्रकाशमान सिंहको बलियो पकड रहेको विश्वास गरिँदै आएको छ ।

राजुराज जोशी र हरिप्रभा खड्गी

राजुराज जोशी र हरिप्रभा खड्गी

प्रकाशमान सिंह ०४७ सालमा काठमाडौं जिल्लाको पार्टी सभापति रहेका बेला राजुराज पार्टी सचिवको जिम्मेवारीमा थिए । त्यसो त हाल उद्योगमन्त्री रहेका नवीन्द्रराज जोशीलाई नै कांग्रेसले मेयरको उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर उनले मन्त्रीको स्टाटस छाडेर मेयर हुन मानेनन् । नविन्द्रराज काठमाडौंमा राम्रो पकड भएका नेता मानिन्छन् ।
उम्मेदवार मनोनयन दर्ता गर्दासम्म कांग्रेसले कसैसँग तालमेल गरेको छैन । यो अवस्थामा एमाले र राप्रपाबीच तालमेल भएका कारण काठमाडौं महानगरमा कांग्रेस एक्लै लड्न परेको छ । यसबीचमा उसले माओवादीसँग तालमेल गर्ने चर्चा चलेको भए पनि त्यसले सार्थक रूप लिन सकेको छैन । यो अवस्थामा अब काठमाडौं महानगरपालिकाको निर्वाचन निकै रोचक हुने देखिन्छ । माओवादी केन्द्रले काठमाडौंको मेयरमा उम्मेदवार बनाएका सर्वोत्तम डंगोल पुराना कम्युनिस्ट नेता हुन् । काठमाडौंका रैथाने ६१ वर्षीय डंगोल ताहाचल निवासी हुन् । उनी हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा काठमाडौं महानगरपालिकाको इञ्चार्ज छन् ।

सर्वोत्तम डङगोल

सर्वोत्तम डङगोल

विगतको मताधारलाई आधार मान्दा माओवादीले मेयरमा एक्लै जित्ने सम्भावना न्यून छ । यहाँको चुनावी प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हुने देखिन्छ । तैपनि माओवादीले कसको बढी भोट काट्छ, त्यसले अरूको हारजितलाई प्रभाव पार्न सक्छ । विगतका आधारमा हेर्दाखेरि राजधानीमा माओवादी केन्द्र राप्रपा, कांग्रेस र एमालेपछिको चौथो दल हो ।
साझा पार्टीले उम्मेदवार बनाएका किशोर थापा पूर्वप्रशासक हुन् । ३२ वर्ष लामो निजामती सेवाका क्रममा अस्थायी इञ्जिनियरबाट सुरु गरेर उनी सचिवसम्म भएका थिए । निजामती सेवाबाट निवृत्त भएपछि उनले साझा पार्टीमार्फत राजनीतिक यात्रा थालेका हुन् ।
सैनिक परिवारमा जन्मिएका थापा ०३१ सालमा एसएलसी बोर्ड फस्र्ट भएका व्यक्ति हुन् । आर्किटेक्ट इञ्जिनियर उनी सहरी विकासका विज्ञ मानिन्छन् । उनको स्थायी निवास काठमाडौंको बल्खुमा रहेको छ । तर उनी जुन दलबाट चुनाव लड्दैछन् सो दल नयाँ हो । साझा पार्टीका नेता रविन्द्र मिश्रले यसअघिदेखि नै भन्दै आएका छन् कि मतदाताले मेनु हेरेर अन्तिममा मम मागेजस्तै ठूलै दललाई मात्र रोज्ने कमजोरीका कारण राम्रा मान्छेले नजित्ने र खराबले चुनाव जित्ने खतरा हामीकहाँ छ ।
विवेकशील नेपाली दलले काठमाडौंको मेयरमा उम्मेदवार घोषणा गरेपछि एकाएक चर्चामा आइन् रञ्जु दर्शना । २१ वर्षकै उमेरमा काठमाडौं महानगरपालिका हाँक्न तम्सिएकी रञ्जुको चर्चाको प्रमुख कारण उनको कलिलो उमेर नै हो । काठमाडौं नेसनल कलेजमा स्नातक तह अध्ययनरत रञ्जु चार वर्षदेखि विवेकशीलको राजनीतिमा छिन् । भूकम्पपछिको उद्धार र राहतमा उनी सक्रिय रूपमा खटिएकी थिइन् । रञ्जुको खास थर न्यौपाने हो । उनी महाराजगञ्जमा बस्छिन् ।
रञ्जुको उम्मेदवारीबाट युवापुस्तामा विशेष खालको आकर्षण देखिएको छ । सोसियल मिडियामा उनी निकै चर्चामा छन् ।  चित्रबहादुर केसीकी भतिजीदेखि रसेन्द्र भट्टराईकी छोरीसम्म राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्मलकुमार थापा मेयरको उम्मेदवार बनेका छन् ।
काठमाडौं महानगरको उपमेयरमा भने अधिकांश महिला उम्मेदवार छन् । यसको अपवादमा राप्रपाका नेता राजाराम श्रेष्ठचाँहि एमालेसँगको तालमेलका कारण पुरुष उपमेयरको उम्मेदवार बन्न पुगेका छन् । ०७० सालको संविधानसभा चुनावमा राजाराम काठमाडौं क्षेत्र नं. ५ मा सभासद्को उम्मेदवार बनेका थिए ।
कांग्रेसका नरहरि आचार्यले जितेको सोही क्षेत्रमा एमाले महासचिव ईश्वर पोखरेल करिब ६ सय मतान्तरले आचार्यसँग हारेका थिए । तेस्रो स्थानमा रहेका राजारामले चार हजार तीन सय ५९ मत ल्याएर एमालेलाई हराउन भूमिका निभाएका थिए । अहिले संयोगवस उनी एमालेसँग तालमेल गरेर उपमेयरको दाबेदार बन्न पुगेका छन् ।
काठमाडौं महानगरको उपमेयरमा पार्टीका उम्मेदवारहरूका साथै स्वतन्त्र उम्मेदवार पनि देखिएका छन् । साझा पार्टीले कानुन व्यवसाय गर्ने मधेसी समुदायकी निरूपमा यादवलाई उपमेयरको उम्मेदवार बनाएको छ । जनमोर्चाले चित्रबहादुर केसीकी भतिजी ऋतु सापकोटा केसीलाई उपमेयरमा उठाएको छ । त्यसैगरी रसेन्द्र भट्टराईकी छोरी जेनिशा भट्टराई पनि उपमेयरमा स्वतन्त्रतर्फकी उम्मेदवार बनेकी छन् ।

प्रतिक्रिया