सेयर बजार निरन्तर ओरालो

काठमाडौं । गत सातादेखि लगातार ओर्लिएको सेयर बजार घट्दो क्रमले आइतरबार पनि निरन्तरता पाएको छ । मधेसी दल सरकारमा सहभागी हुने निर्णयपश्चात गत साताको आइतबार बढेको बजार त्यसलगातार अघि रहेको छ ।
आइतबार २० अंकले घटेर १ हजार ६ सय ५० अंकमा नेप्से परिसूचक ओर्लिएको हो । उत्पादनमूलक र अन्य कम्पनी उपसूचकमा केही बृद्धि भए पनि अरू सबै समूह ओरालो लागेका छन् । खुल्ने बित्तिकै तीव्र ओरालो लागेको बजार पौने १२ बजेदेखि केही उकालो लागे पनि हरियो रङ पोतिन नपाउँदै ओर्लियो । साढे १ बजे १ हजार २ सय ६७ अंकसम्म फर्किएको बजार त्यसपछि क्रमशः घटेर बन्द भएको हो ।
सबैभन्दा धेरै होटल उपसूचक २ दशमलव ३९ प्रतिशतले घटेको छ । यस्तै बीमा १ दशमलव ८६ र बैंकिङ १ दशमलव ३९ अंकले घटेका छन् । फाइनान्स र जलविद्युत्मा पनि १ प्रतिशत बढीको गिरावट आएको छ । बजार घटे पनि अर्ब रुपैयाँमाथिको कारोबार हुँदै आएकोमा आइतबार त्यसमा समेत कमी आएको छ ।
१ सय ४३ कम्पनीको ७८ करोड ५६ लाख रुपैयाँ बराबरको ७२ लाख ४ हजार कित्ता सेयर किनबेच भएको हो । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सवा ४ करोड रुपैयाँको कारोबार भएको छ । नयाँ नेपाल लघुवित्त र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले झन्डै १० प्रतिशत कमाएका छन् । आँखिखोला जलविद्युत, महिला सहयात्रा माइक्रोफाइनान्स र अरुण फाइनान्सको ५ प्रतिशतले मूल्य घटेको छ ।

प्रतिक्रिया