रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आइतबारदेखि ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको छ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गो दान गरी भोलिपल्ट अर्थात् वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ । पहिलो दिन आइतबार रथ गाबहालसम्म पु¥याइन्छ । सोमबार रथ गाबहालदेखि मङ्गलबजारसम्म पु¥याइने गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिए ।
१९ वैशाखमा मंगलबजारबाट रथ तानेर सुन्धारासम्म पु¥याइन्छ । बुधबार एक दिन रथ सुन्धारामा राखेर बिहीबार चक्रबहीसम्म लगिन्छ । शुक्रबार चक्रबहीबाट रथ तानेर लगनखेलमा पु¥याइन्छ । रथलाई शनिबार लगनखेलमा राखेर महाबलिसहित पूजा गरिन्छ ।
‘लगनखेलमा राँगा, थुम्बा, हाँस, माछा र बोकाको बलि दिएर रातभर पूजा गर्ने परम्परा छ, आइतबार लगनखेलबाट रथ तानी लगनखेल र थटीटोलको बीचमा पु¥याइन्छ, यही नरिबल खसालिन्छ, यहाँबाट महिलाले रथ तानेर थटीटोल पु¥याउने परम्परा छ’– उनले भने ।
रथ थटीटोलमा पुगेपछि साइत हेरेर अघि बढाइन्छ । राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किम्बदन्ती छ । एक हजार चारसय वर्ष अघि मत्स्येन्द्रनाथलाई ल्याएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ ।

प्रतिक्रिया