दिगो आयआर्जनका लागि कफिखेती

कास्की । दिगो आयआर्जन गर्ने उद्देश्यले यहाँका कृषक कफिखेतीतर्फ आकर्षित भएका छन् । पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित बरपौवा, बरमाझथर, बर पाण्डेथुम, गैरागाउँलगायतका कृषकले दिगो आयआर्जन गर्ने उद्देश्यका साथ कफिखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरूले महारुद्र कफी उत्पादन संघ कास्कीको सक्रियतामा कृषक संघमा आबद्ध भई कफिखेतीतर्फ आकर्षित भएका हुन् । संघका अध्यक्ष मनोहर शर्मा आचार्यकाअनुसार साविक लेखनाथ नगरपालिका– १८ भित्रका सम्पूर्ण गाउँ समेट्ने गरी निर्माण गरिएको कफी समूहमा हाल १०२ जना सदस्य आबद्ध भई कफिखेतीतर्फ लागिसकेका छन् ।
समूहका सदस्यमध्येबाट लगाइएका लगभग तीन हजार ७ सय बिरुवामध्ये २ सय बोटले उत्पादन दिन थालिसकेका बताउँदै उनले कफिखेती विस्तारका लागि हाल पाँच हजार बिरुवा उत्पादन गर्न लागिएको जानकारी दिए ।
‘रोजगार एवम् अवसरको खोजीमा युवा विदेसिने क्रम बढ्नुका साथै गाउँबाट सहरमा विस्थापित हुने प्रवृत्ति बढेको छ’, उनले भने, ‘अवसरको खोजीमा विदेसिने युवालाई यहीँ रोजगारका सम्भावनाको खोजी गर्ने अभियानकै रूपमा कफिखेतीलाई विस्तार गर्ने सोचमा छौं ।’ कफिखेतीसँगै केराखेती र मौरीपालनलाई पनि अघि बढाउने उद्देश्यअनुसार समूहमा आबद्ध सदस्यलाई प्रति सदस्य एक÷एकवटा मौरीका घारसमेत प्रदान गर्ने संघको लक्ष्य छ ।
प्रत्येक कफिको बोटबाट सात हात अन्तरमा केरा लगाउनुका साथै बगँैचाभित्र मौरीपालनसमेत गर्नका लागि कृषकलाई अभिप्रेरित गरिने आचार्यले बताए । मौरीपालनसमेत गरिनुले कफिको फूल फुल्ने बेलामा महको उत्पादन पनि राम्रो लिनसकिने बताउँदै उनले कफी सँगसँगै केरा र महको उत्पादनसमेत भएपछि कृषकले त्यसबाट राम्रो आम्दानी लिनसक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया