उम्मेदवारको उमेर हेर्ने कि जवाफदेहिता ?

यतिखेर स्थानीय तहमा उम्मेदवारीको चर्चा परिचर्चा चलिरहेका छन् । युवा राजनीतिका विभिन्न तहको नेतृत्व पंक्तिमा आउनु अवश्य पनि राम्रो कुरा हो र विशेषगरी पुरानो नेतृत्वबाट निराश बनेको यो पुस्तामा यस्ता विचारहरू आउनु पनि स्वाभाविक हो । पछिल्लो समय काठमाडांैको मेयर पदका लागि विवेकशील नेपाली दलले २१ वर्षीया रञ्जु दर्शनालाई उठायो, र फेरि एकपटक युवा नेतृत्वको विषयलाई लिएर सामाजिक सञ्जालदेखि मिडिया हाउसहरूमा समेत केही सरगर्मी बढेको देखिन्छ । कतिपय मानिसहरूले २१ वर्षीया रञ्जु काठमाडांै जस्तो ठूलो महानगरको जिम्मेवारी सम्हाल्न नसक्ने दाबी गरिरहेका छन् भने कतिपयले युवाले ठूलाठूला जिम्मेवारीहरू सम्हालेका उदाहरण दिँदै रञ्जु दर्शनाका पक्षमा टिकाटिप्पणी गरिरहेका छन् । उनीहरू डेविड क्यामरुन, मार्क जुकरवर्ग, मदन भण्डारीलगायतका युवाहरूले सम्हालेका जिम्वेवारीहरूका आधारमा विवेकशील नेपाली दल (जसलाई युवाहरूको दल मान्नेहरू पनि छन्) कि उम्मेदवार रञ्जु दर्शनाको पक्षमा वकालत गरिरहेका छन् ।
युवा नेतृत्वका बारेमा बहस चलिरहेका यसै बेलामा मेरो वरिपरि एउटा सानो तर बडा जटिल प्रश्नले फन्को मारिरहेको छ । सक्षम नेतृत्वकर्ता हुनको लागि के युवा हुनु मात्रै काफी छ ? उमेर मात्रै नेतृत्वको मूल्यांकन गर्ने साधन हुन सक्छ ? हो, म यो कुरा स्वीकार गर्न तयार छु कि २१ वर्षीया युवाले पनि काठमाडौंको मेयरको जिम्मेवारी सम्हाल्न सक्छन् । तर म यो स्वीकारोक्ति आँखा बन्द गरेर हर कोही २१ वर्षीय युवाको हकमा कसरी ग्रहण गरूँ ? डेविड क्यामरुन र रञ्जु दर्शना युवा भएकै नाताले मेयरका रूपमा स्वीकारोक्ति गर्न सकिँदैन । विवेकशील नेपाली दलले पपुलिष्ट एक्टिभिटिका लागि रञ्जुलाई उठायो या अरू कुनै कारणले उठायो त्यो मेरो लागि मुख्य विषय होइन । तर विवेकशील दल र रञ्जु भित्र नेतृत्व र जवाफदेहिता कति छ, या छ कि छैन भन्ने विषय मुख्य हुन् । त्यो मापन गर्ने भनेकै उनीहरूले विगतदेखि आजसम्म कस्ता कस्ता विषयहरूमा आफ्ना मुद्दा उठाइरहेका छन् भन्ने मात्रै नभई ती मुद्दाहरूलाई निष्कर्षमा नपुगेसम्म उनीहरू ती आफ्नै मुद्दाहरूप्रति कति जवाफदेही भइरहेका छन् भन्ने अहं प्रश्न हो । हामीले खोजेको नेतृत्व परिवर्तन उमेरको परिवर्तन होइन । जवाफदेहीविहीन नेतृत्वबाट जवाफदेही बोध गर्नसक्ने नेतृत्व परिवर्तन हो हामीले खोजेको ।
जस्तो कि एकताका भूकम्प पुनर्निर्माण कहाँ पुग्यो भन्दै रिक्सैभरी कालो ब्यानर, टाउकैभरी कालो झुम्रो बाँधेर बिहानदेखि साँझसम्म काठमाडौंको गल्ली गल्लीमा तमासा देखाउने गर्थे विवेकशील नेपाली दलका कार्यकर्ता । मानांै कि तत्कालै पीडितका घरहरू नठडिए उनीहरू सडकमै आत्महत्या गरेर मर्नेछन् । हरेक दिन काला ब्यानरका अक्षरहरूमा उत्रिएर सरकारको खोइरो खन्ने र
भूकम्पपीडितहरूका लागि आजको आजै सबथोक हुनुपर्ने माग राख्दै रातोतातो घाममा समेत टाउकामा पट्टी बाँध्ने विवेकशील युवाको त्यो उत्तेजना सरहानीय नै थियो । तर जब तत्कालीन केपी ओलीको सरकार ढलाइयो, अनि भूकम्पपीडितहरूका लागि विवेकशील दललाई केही गर्नु परेन । त्यो दलका सबै तमासा यसरी स्खलित भए कि मानौ सबै
भूकम्पपीडितको घर ठडियो । सत्य के थियो भने अघिल्लो सरकारले मात्रै भूकम्प पीडितहरूका लागि पुनर्निर्माण अनुदानको थिति बसालेको थियो र शून्यबाट सुरु गरेर पहिलो किस्ताको रकम वितरण गरेको थियो । त्यो काम अपर्याप्त थियो होला मान्न सकिन्छ । तर अपर्याप्ततालाई दोष लगाएर नयाँ सरकार बनाइयो, प्राधिकरणमा नयाँ जागिरे भित्र्याइयो । विवेकशील दलका साथीहरू सन्तुष्ट भए । काम र कामको प्रचारमा यति भिन्नता हुन्छ भन्ने यहाँ आएर देखिन्छ ।
आज त्यसको १२–१४ महिना अरू बितिसकेको छ,
भूकम्पपीडितहरूको झन् भन्दा झन् दुर्दशा भइरहेको छ, आज यो समय हो टाउकोमा कफन बाँधेर भूकम्पपीडितहरूको लागि सडक आन्दोलन गर्ने तर विवेकशील दलका साथीहरू र रञ्जु दर्शना बहिनीहरू एउटा कविता लेखेर भूकम्पपीडितप्रति सहानुभूति प्रकट गर्दै बसेका छन् । हो यहिँनेर छ मेरो चिन्ता र विमति ।
भूकम्पपीडितहरूको पक्षको लडाइँलाई जुन ढंगले युवाहरूको दल मानिने विवेकशील दलले उठान ग¥यो, उसले त्यो मुद्दालाई वोकेर निष्कर्षमा पु¥याउन सकेन ।
यस्तै घटना घट्यो डा. गोविन्द केसीको मामलामा पनि । समग्र मेडिकल माफियाविरुद्ध एउटा पपुलिस्ट आन्दोलनको भुँमरी केवल मनमोहन अस्पतालको शल्यक्रिया गरेपछि मथ्थर हुँदै गयो, आज कहाँ छ त्यो आन्दोलनको निष्कर्ष ? क्षणभरका लागि उत्तेजक सडक आन्दोलन गर्ने, पपुलर भएर पत्रिकाका समाचार बिक्री गर्ने, संवेदनशील कुरा उठाउने तर त्यो मुद्दा निष्कर्षमा नपुगुन्जेल जवाफदेही नदेखाउने जुन प्रवृत्ति छ, यही यसैलाई प्रश्रय दिएकै कारणले हाम्रो राजनीति यति धेरै बिग्रिएको छ । विवेकशील दलले जस्तै नयाँ पुस्ताको नेतृत्वका नाममा कागजमा राम्रा योजनाहरू कोरेर, या त्यसको भिडियो बनाएर, योजनाहरू सुनाएर मात्रै यो मुलुकको कायाकैरन हुनेवाला छैन । सही मुद्दा, त्यसलाई पूरा गर्न सक्ने कौशलता र मुख्य गरी त्यसका बीचमा आइपर्ने कयौं प्रकारका अवरोधहरूसँग फौलादी अडान राखेर डट्न सक्ने क्षमता बेगर यदि कुनै युवा नेतृत्वमै आए पनि केही हुनेवाला छैन ।
मुद्दाहरू त हजारौं भेटिन्छन् उठान गरेर भिड जम्मा गर्न । मुद्दाहरूलाई विवेकशीलले वेबसाइटहरूमा राखेकै पनि छ । तर त्यसको समाधान गर्ने अडान र दृष्टिकोण खोई । जोसँग दृष्टिकोण छ, जसले काम थालनी गरेको छ उसलाई असफल पार्न लागेर नारा मात्र लगाउँदैमा मुलुक समृद्ध हुँदैन । केपी ओलीले देश समृद्ध बनाउने काम थाल्दा त्यसको विरोधमा सडकमा उत्रने, मुलुक बर्बाद पार्ने उद्देश्य बोकेको सरकार आउँदा चुप लागेर बस्ने कामबाट हामी निष्कर्षमा पुग्न सक्छौं ।
भोलि काठमाडौं जस्तो सहरमा नयाँ योजना, नीति र नियमहरूको कार्यान्वयन गर्नु पर्दा हजाराँै अवरोध आउनेछन् । ती राजनीतिक, अराजनीतिक, माफियाका रूपमा आउनेछन् । कतिपय अवरोधहरू विभिन्नखाले इमोसनल या सेन्टिमेन्टका आवरणमा हुनेछन्, कतिपय अन द स्पट च्यालेन्जहरू हुनेछन् । हजारौं त्यस्ता हुरीहरू चल्नेछन् जहाँ आफ्ना विचारलाई निष्कर्षमा पु¥याउन जड भएर उभिन नसक्नेहरू बढारिएर उडिजानेछन् । भूकम्पपीडितहरूको जस्तो जनरुचिको मुद्दालाई समेत निष्कर्षमा पु¥याउनुअघि नै स्खलित हुनेले भोलि जनतामै मतभेद हुने एजेन्डाहरूलाई कसरी पार लगाउन सक्छ ? जस्तो कि भारतको निहुँ खोजाहा नाकाबन्दीका कारणले केपी ओलीले वैकल्पिक पारवहन खोले, दृष्टान्त आँखा अगाडि नै छ कस्ता कस्ता चुनौतीहरूको सामना गर्नु परेको छ ओलीले । चीनसँग पारवहन खोल्दा देशको हित हुने कुरा निर्विवाद हुनु पर्ने नि होइन र ? तर, त्यसलाई असफल पार्न कांग्रेस र माओवादीजस्ता दलहरू नै भारतको गोटी बनेर प्रयोग भए । यो परिदृश्य हाम्रा आँखै अगाडि छ । यो किन भनेको भने एउटा सत्यता स्थापित गर्न कति अवरोधहरू हुन्छन् । त्यो संघर्षमा उत्रिन सक्नु पर्छ ।
यो मुलुकको राजधानीमा नेतृत्व गर्न विवेकशील दलले हतारो गर्न जरुरी छैन किन पनि भने त्यसले विकासका अवरोधकहरूसँग केपी ओलीले जस्तो मुकाबिलाबाट आफूलाई प्रमाणित गरेको छैन । देशका जल्दाबल्दा विषयमा मौन मान्छेको कुँडुलो मात्रै जम्मा गरेर नयाँ हुन्छ कुनै शक्ति ? राष्ट्र र जनताका तमाम मुद्दाहरूमा एक पछि अर्को गर्दै आफूलाई जनतासामु खारेर देखाऊ, यी पुराना दलहरूले केही गरेनन् भन्ने कोरा नारा मात्रै बोकेर राजनीतिमा नआउ रञ्जना बहिनी !
यतिखेर कति पटक सरकारले कानुनको मान मर्यादा कुल्चँदै, अदालतको समेत मानहानी गर्दै, तानशाही गतिविधि गरिरहेको छ । यो राजनीतिक मुद्दा होइन, सुशासनको मुद्दा हो । तिमी यसप्रति मौन छौं यसै नयाँ दल भनेर फलाकेर मात्रै हुन्छ ? तिम्रो दृष्टिकोण के हो ? मुद्दाहरू र गतिविधिहरू के राम्रा हुन् के नराम्रा हुन् आफ्नो दृष्टिकोण दिनु पर्दैन ? कि राजनीति जुवाको खालमा थाप्ने च्याँखे मात्रै हो ? अहिले उम्मेदवार बन्ने होइन आफ्नो दृष्टिकोणलाई राम्रोसँग प्रस्तुत गरे राम्रो हुन्छ रञ्जु दर्शनाजस्ता पात्रहरूले ।

प्रतिक्रिया