वायुसेवा निगमले जेएमकेसँग ऋण माग्यो

काठमाडौं । सधँै सञ्चय कोषको ऋण लिने नेपाल वायुसेवा निगमले सस्तो व्याजमा रकम पाइने आशमा सूर्य जेएमके प्रालीलाई पत्र लेखेको छ । सञ्चय कोषको व्याज चर्काे पर्ने भएकाले सस्तोमा व्याज पाइन्छ कि भनेर जेएमकेलाई पत्र लेखेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठ जानकारी दिए ।
निगम र सञ्चयकोषबीच ९ प्रतिशत व्याजदरमा २३ अर्ब रूपैयाँ ऋण १५ वर्षका लागि लिने अनौपचारिक सहमति भइसके भए पनि सस्तो पाउने आशामा पत्र लेखिएको हो । निगमले वार्षिक दुई किस्ताका दरले ऋण बुझाउनेसमेत सहमति भएको छ । सरकारले कोषसँग ऋण लिन जमानी बस्ने निर्णय गरिसकेको छ ।
विगतमा खरिद गरेको एयरबस ३२०–२०० सिरिजको न्यारो बडी जहाजका लागि पनि निगमले १० अर्ब सञ्चय कोषसँग ऋण लिएको थियो । तर, अहिले भने निगमले ब्याज चर्काे हुने तर्क गर्दै अर्काे कम्पनीबाट ऋण लिन खोजेको छ । श्रेष्ठले भने ‘३ प्रतिशतसम्मको व्याजमा रकम दिने कुरा आएपछि पत्र लेखेको हो ।’ उनका अनुसार जेएमके नेपाली फन्ड म्यानेजर कम्पनी हो । यसले विदेशी कम्पनीहरूबाट रकम लिएर निगमलाई सस्तोमा व्याज दिलाउने आश्वासन दिएको छ । गत बिहीबार मात्रै मन्त्रिपरिषद्को बैठकले दुईवटा वाइडबडी खरिद गर्नका लागि नेपाल वायु सेवा निगमले सञ्चय कोषसँग लिन लागेको ऋणमा सरकार जमानी बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया