रानीबारीमा चरा अध्ययन केन्द्र

काठमाडौं । राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ ।
नेपाल पक्षी संरक्षण संघको स्थापना दिवसका अवसरमा रानीबारी वनमा सोमबार आयोजित कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण काजी नेपालीले सो भवनको उद्घाटन गरेका हुन् । उक्त वनलाई रानीबारी सामुदायिक वन उपभोक्ता समिति र संघको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र बनाउने सम्झौताअन्तर्गत सो भवन निर्माण गरिएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष नेपालीले जैविक विविधताले भरिपूर्ण रानीबारी वन काठमाडौं सहरको बीचमा प्राकृतिक हरियाली भएकाले यसको छुट्टै महत्व छ भने ।
परम्परादेखि नै राजाहरूको दिवाली पूजा हुने वनका रूपमा रहेको रानीबारी ०५७ पछि सामुदायिक वनका रूपमा व्यवस्थित र संरक्षण हँुदै आएको छ । रानीबारी वन काठमाडौं सहरका बीचमा ६ दशमलव ९५ क्षेत्रफल हेक्टरमा अवस्थित प्राकृतिक वन हो । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको तथ्यांक छ ।
कार्यक्रममा संघका अध्यक्ष युवराज बस्नेतले सिकाइ केन्द्र स्थानीय समुदाय, विद्यार्थी तथा सम्बन्धित विषयका शोधार्थीका लागि उपयोगी हुने बताउँदै जैविक विविधताबारे जनचेतना प्रवद्र्धन तथा स्थलगत पहिचान गराउने कार्यक्रम अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । संघ सन् १९८२ देखि चराको खोज अनुसन्धान तथा जैविक विधिता संरक्षणमा क्रियाशील संस्था हो ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करनबहादुर शाह, रानीबारी वनका अध्यक्ष सन्तोषविक्रम शाह, संघका निर्देशक इशाना थापालगायतले पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापनाले सो वनको जैविक विविधता संरक्षणमा टेवा पुगी सहरी वातारण स्वच्छ र हरियाली हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया