गाँउगाउँमा खुल्दै छ ब्रोकर शाखा

काठमाडौं । रेमिटेन्स र जलविद्युत् आयोजनालाई लक्षित गर्दै सेयर ब्रोकरको शाखा पहाडी क्षेत्रमा खुल्न थालेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बाग्लुङ र लमजुङमा शाखा अर्को साता खुल्दै छ । बाग्लुङ सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने जिल्लामा पर्छ । लमजुङ जलविद्युत् आयोजनाको हबको रूपमा परिचित छ । विदेश बढी गएका र जलविद्युत् आयोजना बढी भएका जिल्लालाई आधार बनाएर शाखा खोल्ने प्रतिस्पर्धा सुरु भएको नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले बताए ।
‘सुगममा मात्रै होइन अहिले पहाडी क्षेत्रमासमेत ब्रोकरको शाखा खोल्ने प्रतिस्पर्धा सुरु भएको छ । यसले बिस्तारै सेयर बजारलाई फराकिलो बनाउँदै लैजाने विश्वाससमेत गर्न सकिन्छ’ उनले बिजमान्डुसँग भने, ‘विदेशमा कमाएको पैसा उत्पादक क्षेत्रमा लगाउने बाटोसमेत खुल्नेछ ।’ रेमिटेन्सको धेरैजसो उपभोगमा खर्च हुन्छ । उपभोगमा खर्च हुने तर त्यसले वास्तविक प्रतिफल नपाउने अवस्था हट्नेछ ।
दिब्या सेक्युरिटिजले सोमबारबाट बाग्लुङमा सेयरको कारोबार गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष राम आचार्यले बाग्लुङका धेरै व्यक्ति विदेश गएको बताउँदै रेमिटेन्स रकम सेयर कारोबारमा लगाउन सकिने आधारमा शाखा खोलेको बताए । उनले पर्वत, स्याङजा र बेनीसम्मलाई ट्रार्गेट गरेर शाखा खोलेको बताए । आचार्यले जिल्लामा जलविद्युत् आयोजना निर्माण भएकोले समेत सेयरमा आकर्षण रहेको बताए ।
‘अहिले यहाँ पनि धेरै जलविद्युत् आयोजना निर्माण भइरहेको छ । आयोजनाले स्थानीय जनतालाई सेयर दिनुपर्छ । यो आधारमा सेयर कारोबारका लागि बाग्लुङ राम्रो प्रोस्पेक्ट भएको ठाउँ हो’ उनले भने । लमजुङको बँेसीसहरमा सुन्धारा सेक्युरिटीजले एक सातापछि सेयर कारोबार गर्नेछ । जलविद्युत्को हबको रूपमा रहेको लमजुङलाई केन्द्रित गरेर यो कम्पनीले शाखा खोल्न लागेको हो ।
कम्पनीका प्रबन्धनिर्देशक बद्रीगोविन्द श्रेष्ठले बैंक र इन्स्योरेन्सको शाखा खुलेको बताउँदै बेँसीशहर क्षेत्रमा सेयर कारोबार गर्ने लगानीकर्तासमेत रहेकोले शाखा खोलेको बताए । उनले लमजुङमा धेरै जलविद्युत् आयोजना निर्माण भएकोले भविष्यमा सेयर कारोबारका लागि ठूलो सम्भावना देखेर मोफसल आएको बताए ।
‘सहर स्याचुरेसन जाने सम्भावना पनि हुन्छ । नयाँ ठाउँमा सम्भावना धेरै हुन्छ । हामीले मोफसलमा समेत पूँजी निर्माण गर्न सकिन्छ भनेर जान लागेका हौँ’ श्रेष्ठले भने । जलविद्युत्को हबको रूपमा रहेको लमजुङमा २५ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । अहिले पनि जिल्लामा मस्र्याङ्दी ७० मेगावाट, खुदी हाइड्रोपावर ५ मेगावाट, राँदी हाइड्रोपावर ४ मेगावाट, सिउरी हाइड्रोपावर ५ मेगावाट, छ्याङ्दी २ मेगावाट, स्याँगे जलविद्युत्को ५ सय किलोवाट निर्माण भइसकेका छन् । भारतको जिएमआरले अपर मस्र्याङ्दी बनाउन जग्गा अधिग्रहणको कामसमेत अन्तिम चरणमा पु¥याएको छ । मस्र्याङ्दी, दोर्दी, दरौदी, मादीलगायत आयोजना पहिचान भएर निर्माण सुरु भइसकेका छन् ।

प्रतिक्रिया