स्थानीय चुनावमा कस्ता युवालाई छान्ने ?

manaka
करिब २० वर्षपछि स्थानीय तहको चुनाव हुँदै छ । चुनावी चटारोले जनस्तरमा देशैभरी उत्साह बढ्नु स्वाभाविक छ । किनभने जनताले आफ्नै घरदैलोमा लोकतन्त्र उपभोग गर्ने माध्यम भनेको स्थानीय तह नै हो । ३१ वैशाखका लागि घोषित स्थानीय तहको चुनावको अर्काे पनि महत्व छ । त्यो के हो भने यसले संक्रमणकालीन राजनीतिलाई लिकमा हिँडाउने र संविधान कार्यान्वयनको पहिलो खुट्किलोको रूपमा काम गर्नेछ र राजनीतिक अन्योलतालाई निकास दिनेछ । फलस्वरूप यसले आर्थिक तथा सामाजिक विकासको प्रारम्भिक आधारशिला निर्माण हुनेछ ।
यसपटकको स्थानीय निर्वाचनमा नेपालको नयाँ पुस्ता अलि भिन्न किसिमले सहभागी हुँदै छ । किनभने विचार निर्माणमा सामाजिक सञ्जालको प्रयोगले चुनाव प्रचारका शैली मात्रै बदलिएको छैन, यसले मतदाताहरूको उम्मेदवारका योग्यता परीक्षण गर्ने क्षमता पनि बढाइदिएको छ । कुनै पनि उम्मेदवार र दलले आफ्ना नारा भट्याएर त्यसलाई परीक्षण नगरी मतदाता पछि लाग्ने अवस्था यसपटक छैन । किनभने बढ्दो सूचनाको पहुँचले व्यक्ति आपैmँले राजनीतिक दल, राजनीतिज्ञ र उम्मेदवारलाई व्यवहारमा आपैmँले परीक्षण गर्न पाएको छ । यसअर्थमा यसपटकको चुनावमा युवाको भूमिका प्रभावकारी हुने देखिन्छ ।
देशको आर्थिक, सामाजिक तथा राजनीतिक गतिविधिमा जबसम्म युवाको भूमिका उच्च रहँदैन तबसम्म विकासले गति लिन सक्दैन । हर्बट होव्भरले भनेजस्तै पुराना मानिसले युद्ध घोषणा गर्छन् भने युद्ध जित्नका लागि युवाहरू लड्छन् र मर्न पनि तयार हुन्छन् । नेपालको राजनीतिक विकासक्रमलाई हेर्दा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनको आन्दोलनमा युवाहरूको भूमिका यस्तै विशेष देखिन्छ । विशेषतः ०७ साल, ०४६ साल र पछि ०६२–६३ को राजनीतिक आन्दोलनको क्रममा आन्दोलनको अग्रमोर्चामा युवापंक्ति उभिएको थियो । समयक्रममा देशको राजनीतिक व्यवस्था बदलिएको छ । बदलिएको अवस्थामा अब गर्नुपर्ने काम विकास र समृद्धिको नै हो । राजनीतिक पविर्तनको अग्रमोर्चामा रहेको युवालाई निर्माणको यो काममा पनि लगाउने कि नलगाउने ? प्रश्न यो हो । यदि युवाहरूलाई नवनिर्माणको काम जिम्मा दिइएन भने फेरि पनि युवाहरू असन्तुष्टि व्यक्त गर्ने र उही टायर बाल्ने, सडक अवरोध गर्ने अवरोधक चरित्रको वाहक बन्न पुग्छन् ।
युवा तथा खेलकुद मन्त्रालयको तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवा (२६–४० वर्ष उमेर समूह) छन् । त्यसमध्ये १४ प्रतिशत युवा विदेशमा रहने गरेका छन् । यो युवा जमातलाई राज्यले सही ढंगबाट प्रयोग गरेको देखिँदैन । त्यस्तै नेपालका साना ठूला गरी दर्जनौँ राजनीतिक पार्टीहरूमा लाखौँ युवाहरू संगठित छन् । त्यसमा पनि अझ प्रमुख ठूला राजनीतिक पार्टी एमाले, कांग्रेस र माओवादीमा संख्यात्मक हिसाबले देशैभरि अझ बढी युवाहरू संगठित छन् । हजारौँ युवा क्रियाशील रूपमा पार्टीमा संगठित भएर पनि एउटा चुनाव लड्न कम्तिमा ४०–५० वर्ष नपुगुन्जेल कुर्नुपर्ने बाध्यता हामीकहाँ छ । केहीलाई छोडेर भन्ने हो भने राजनीतिक पार्टीहरूको तलदेखि माथि (वडादेखि केन्द्र) सम्मको संगठनको नेतृत्व पुरानो मानसिकताबाट ग्रस्त छ । त्यो युवा नेतृत्वको विपक्षमा देखिन्छ । नेतृत्वदायी भूमिकामा रहेका केही युवाहरू पनि पार्टीभित्र सानोसानो समूहमा विभाजित हुने गरेकाले पनि राजनीतिमा युवाहरूको भूमिका छायाँमा परेको देखिन्छ । राजनीतिक दलहरूले युवा जमातलाई मासफोर्सको रूपमा मात्र प्रयोग गर्दा नयाँ जेनेरेसनका युवामा राजनीतिक वितृष्णा जाग्नु स्वभाविक हो । वृद्धहरूले राजनीति गर्ने युवाहरू विदेशिने हुँदा कसरी बन्छ देश ? राजनीतिमा आएको परिवर्तनलाई समाजको पद्दतिमा पनि समिश्रण गरेर प्रयोग गर्ने बेला हो यो निर्वाचन ।
स्थानीय तहको निर्वाचनमा युवाको भूमिका उल्लेखनीय हुनुपर्छ भनेर विभिन्न सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत व्यापक चर्चा परिचर्चा चलिरहेको छ । प्रत्येक पार्टीलाई आफ्ना उम्मेदवारको योग्यता परख गर्न यसले मद्दत गर्छ । युवाको मापन उमेरका आधारमा मात्र हुँदैन, अध्ययन, सीप, योजना, गतिशीलतालाई परीक्षणको मापन बनाइनु पर्छ । यसले स्वभाविक नेतृत्व विकास पद्दतिको निर्माण गर्छ । जुन पद्दति निर्माण गर्न यसपटकको स्थानीय तहको निर्वाचन एउटा अवसर हो ।
आज जसरी महिला र अन्य अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, त्यसैगरी प्रत्येक निकायमा कम्तिमा ७५ प्रतिशत युवाको प्रतिनिधित्वको वातावरण बनाइनु पर्छ । त्यसमा युवाहरूले पनि राजनीतिक गतिविधिमा चासो राख्ने, असल र खराब छुट्याएर आफ्नो भूमिका निर्माण गर्ने काम गर्नुपर्छ । यसले गलत राजनीतिक भूमिकालाई पराजित गर्न मद्दत गर्छ । आजको सन्दर्भमा कुरा गर्दा कुन राजनीतिक दल हाम्रो मुलुकको आर्थिक समृद्धिको एजेन्डा बोकेर हिँडेको छ ? कुन दल प्रशासनिक नियुक्तिबाट रकम संकलन गर्ने र आपराधिक राजनीतिको तदर्थवादमा मुलुकलाई फसाइराख्न चाहन्छ ? कुन दल आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि संघर्ष गरिरहेको छ ? कुन दलको नेता आफ्नो निजी पदाकांक्षाका लागि देशलाई पराधीन बनाउन सक्रिय छ ? यति बुझ्ने चेतना भने युवाहरूमा हुनै पर्छ । चेतनाको यही विन्दुबाट सुरु हुन्छ युवाको नेतृत्व स्थापना, पहलकदमी र परीक्षण ।
असल प्रवृत्तिको पक्षपोषण र खराब प्रवृत्तिमाथि खबरदारी युवा हुनुको लाक्षणिक परिचय हो । राजनीतिमा यसलाई संस्कारको रूपमा भित्र्याउनु पर्छ । गुण र दोषका आधारमा दृष्टिकोण नबनाउने र आफ्नो विचारसँग विमति राख्नेप्रति आरोप लान्छना मात्रै लगाउने गरियो भने हामी सही ठाउँमा पुग्न सक्दैनौँ । युवाहरूको योग्यता परीक्षण गर्ने कडी नै असल र खराब प्रवृत्तिमाथिको उनीहरूको दृष्टि हो । हाम्रो मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनतामाथि कसैले कुदृष्टि राखेर आक्रमण गर्दा कुनै दल विशेष वा नेता विशेषले त्यसलाई पक्षपोषण ग¥यो भने के युवा चेतनाले त्यसलाई समर्थन गर्न सक्छ ? सक्दैन । समर्थन गर्छ भने त्यो युवा हुन पनि सक्दैन । हाम्रो देशको आन्तरिक क्षमता अभिवृद्धिको मुद्दालाई कुनै दल विशेषले अवरोध गर्छ भने युवाले त्यसलाई समर्थन गर्न सक्छ ? सक्दैन । यदि त्यो प्रवृत्तिलाई समर्थन गर्छ भने त्यो पनि युवा होइन । यहाँ भन्न खोजेको के हो भने युवा हुनुको लाक्षणिक चेतनामा युवाहरूले पहिले आफूलाई खडा गर्नु पर्छ । यस्तो आत्मवोधले युवालाई गतिशील युवा बनाउँछ र त्यस्तो युवालाई नेतृत्वमा पुग्नबाट कसैले रोक्न पनि सक्दैन ।
युवाले अब गर्नुपर्ने कामका दुई आयाम छन् । एउटा यहाँको राजनीतिलाई स्वस्थ आचरणयुक्त, देशभक्तिपूर्ण र समृद्धिको दिशामा लैजाने भूमिका खेल्नु । अर्काे, राजनीतिलाई सामाजिक सहभागिता र उद्यमलाई जीवनशैली बनाउनु । यस्तो गर्न सकिएन भने हामीकहाँ उद्यमशीलता समाप्त हुनेछ र राजनीति नै उद्योग बन्नेछ । राजनीति सेवा हो उद्योग होइन । राजनीतिप्रति सचेत सहभागिता र पेसा व्यवसाय तथा उद्यमशीलताप्रति गहिरो लगाव अबका युवाको दिशा हो । यही मान्यतामा आधारित भएर युवाहरूले यो स्थानीय तहको चुनावमा नेतृत्वमा पुग्ने वा नेतृत्वमा पु¥याउने काममा लाग्नुपर्छ । नेल्सन मण्डेलाले कतै भनेका थिए, ‘जोसिला युवाहरूकामाझ रहँदा मलाई ब्याट्री रिचार्ज भएजतिकै ऊर्जा प्राप्त हुन्छ ।’ आजको राजनीतिक नेतृत्वले युवाहरूबाटै आफूमा ऊर्जा चार्ज गरोस् । अनि युवाहरूले अनुभवी नेताहरूको अनुभव पनि उपयोग गरेर देश निर्माणमा आफूलाई लगाओस् । यति भयो भने दैनिक १५ सयको संख्यामा विदेशिने नेपाली युवाको लस्कर अन्तर्राष्ट्रिय विमानस्थलमा घट्नेछ । विकासको गति बढ्नेछ ।

प्रतिक्रिया