एपिएफ र आर्मीलाई उपाधि

main news

काठमाडौं । सशस्त्र प्रहरी बलको (एपिएफ)क्लब र नेपाल आर्मी क्लबले ‘तेस्रो आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ को उपाधि जितेका छन् । दशरथ रंगशालास्थित कभर्डहलमा भएको खेलमा महिलातर्फ एपिएफले र पुरुषमा आर्मीले उपाधि हात पा¥यो । महिलातर्फ भएको फाइनलमा एपिएफले न्युडायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले न्युडायमन्डसँग पर्वतमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बेहोरेको हारको बदलासमेत लियो । निकै रोमाञ्चक रहेको पहिलो सेट एपिएफले २६–२४ ले आफ्नो पक्षमा पा¥यो ।
तर, दोस्रो सेट २५–१५ ले पुनः आफ्नो बनाउँदै विभागीय टोलीले न्युडायमन्डमाथि दबाब सिर्जना ग¥यो । तेस्रो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पार्दै एपिएफले उपाधि जित्न सफल भयो । जितपछि आर्मीका प्रशिक्षक जगदीश भट्टले विपक्षीको कमजोरीलाई हेरेर खेल्दा बलियो टोली पुलिसमाथि जित हात पार्न सफल भएको बताए । प्रशिक्षक भट्टले खेलाडीहरूले हरेक पोजिसनमा उत्कृष्ट खेल पस्किएको र पुलिसको मुख्य खेलाडीलाई रोक्न सक्दा सहज जित हात पार्न सफल भएको बताए । नेपाल पुलिस क्लबका मुख्यप्रशिक्षक सरोज श्रेष्ठले ‘हामीले लिगभरि उत्कृष्ट प्रदर्शन ग¥यौँ । फाइनल खेलमा रिसिभमा समस्या आउँदा अट्याक हुन नसकेको र आर्मीको लिब्रोले उत्कृष्ट प्रदर्शनगर्दा हार भोग्नुपरेको बताए । महिलातर्फ नेपाल पुलिस तेस्रो भयो । लिगमा ३ खेलबाट १२ अंक बटुलेको पुलिस तेस्रो भएको थियो ।
त्यसैगरी पुरुषतर्फ नेपाल आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मीले २५–१८, २५–१६ र २७–२५ ले हराउँदै लिग चरणमा बेहोरेको हारको बदलासमेत लियो । पहिलो र दोस्रो सेटमा आर्मीले सुरुआतदेखि नै अग्रता जमाउँदै सहजै २ सेट आफ्नो बनाएको थियो । तर, तेस्रो सेटमा अन्तिम समय आर्मीले पुलिसले अग्रता बनाएको सेट उल्ट्याउँदै आफ्नो बनाएको थियो । लिगमा सात खेलबाट १५ अंक बनाएको हेल्प नेपाल स्पोर्टस् क्लब तेस्रो भयो । महिलातर्फको पहिलो नगद २ लाख पुरस्कार बालकोटको शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले उपलब्धि गराएको थियो ।
दुवै विजेता आर्मी र एपिएफले समान २–२ लाख प्राप्त गरे । दोस्रो भएको नेपाल पुलिस र न्यु डायमन्डले १–१ लाख प्राप्त गरे । तेस्रो भएको हेल्प नेपाल र नेपाल पुलिसले ५०–५० हजार तथा चौथो भएको नेपाल एपिएफ र पश्चिमाञ्चल टप्सले २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट र महिलातर्फ नेपाल एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरूले समान १५–१५ हजार प्राप्त गरे । पुरुषतर्फ नेपाल पुलिस क्लबका इम राना मगर सेटर, आर्मीका ईश्वर थापा डिफेन्स, पुलिसका कुलबहादुर थापा स्पाइकर, आर्मीका मानबहादुर श्रेष्ठ सर्भर, हेल्प नेपालका सञ्जुविक्रम शाह ब्लकर र आर्मीका जगदीश भट्ट उत्कृष्ट प्रशिक्षक चुनिए । महिलातर्फ पश्चिमाञ्चल टप्सकी अरुणा शाही सर्भर, एपिएफकी उषा विष्ट ब्लकर, न्यु डायमन्डकी प्रतिभा माली स्पाइकर, पुलिसकी कमला पुन डिफेन्स, आर्मीकी जानकी भण्डारी सेटर र एपिएफका प्रकाश थपलिया उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले समान ५–५ हजार प्राप्त गरे ।
प्रतियोगिताको महिलातर्फको उत्कृष्ट खेलाडीको नगद सौजन्य पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छ्यामबहादुर थापाले गरेका थिए भने पुरुषतर्फको उत्कृष्ट खेलाडीको नगद प्रायोजन राष्ट्रिय रेफ्री टहल थापामगरले गरेका थिए । पुरुषतर्फको विधागत उत्कृष्ट खेलाडीको लागि नगद प्रायोजन पूर्ण खड्काले गरेका थिए । नेपाल भलिबल संघकी सदस्य ज्योती केसीले महिलातर्फको विधागत उत्कृष्ट खेलाडीको नगद प्रायोजन गरेकी थिइन् । दुवै विधाका विजेतालाई युवा तथा खेलकुदमन्त्री दलजित विके श्रीपाइली, राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मालगायतले पुरस्कृत गरे । २९ चैतबाट सुरु भएको लिग च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया