दलहरू उम्मेदवार छान्न व्यस्त

म्याग्दी । स्थानीय निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरूले उम्मेदवार छनोटको गृहकार्यलाई अगाडि बढाएका छन् । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू क्रियाशील भएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रसहित राप्रपालगायत राजनीतिक दलले जिल्लाको एक नगरपालिकासहित चार गाउँपालिकामा चुनाव प्रचार अभियानलाई तीव्रता दिएका हुन् । चुनावी अभियानलाई प्रभावकारी बनाउन दलहरूले नयाँ स्थानीय तहअनुसारको जनवर्गीय र भ्रातृ संगठनहरूको गठन, पुनर्गठनसँगै कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको देखिन्छ । निर्वाचन आउन एक महिना पनि बाँकी नरहेकाले यहाँका दलहरूले निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उठाउने उम्मेदवारहरूको टुंगो लगाउने कसरतमा जुटेका छन् ।
लामो समयपछि स्थानीय चुनाव हुन लागेका कारण पनि हरेकजसो दलबाट उम्मेदवार बन्नेको संख्या बढी छ । म्याग्दीका दलहरूले निर्वाचन प्रचार अभियानलाई प्रभावकारी बनाउन वैशाखको पहिलो साताभित्रै उम्मेदवारको टुंगो लगाइसक्ने तयारी गरिरहेका छन् ।
कांग्रेस म्याग्दीले गाउँ कमिटी र नगर कमिटीलाई योग्य उम्मेदवारको छनोट गरी सूची पेस गर्न निर्देशन दिएको जिल्ला सचिव क्याप्टेन मीनबहादुर कार्कीले जानकारी दिए । कांग्रेस म्याग्दीले उम्मेदवार छनोट गर्दा स्वच्छ छवि भएको, नयाँ संरचनामा काम गर्न सक्ने क्षमतावान र अग्रज नेताहरूको भावना बुझ्ने व्यक्तिलाई उम्मेदवार बनाउने जनाएको छ ।
एमालेले ७ वैशाखभित्रै गाउँपालिका, वडा र नगरपालिकाका उम्मेदवारको टुंगो लगाउने गरी उम्मेदवार छनोटको गृहकार्यलाई तीव्र बनाएको छ । ‘केही वडाबाट सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवारको टुंगो लगाइसकिएको छ, सकभर सर्वसम्मतरूपमै उम्मेदवारको टुंगो लगाउने कसरत गरेका छौँ’ एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले भने ।
एमालेले ज्येष्ठता, लोकप्रियता, सामाजिक कार्यमा पोख्त र आर्थिक तथा नैतिक आचरण राम्रो भएका व्यक्तिलाई उम्मेदवार बनाउने आधार बनाएको जनाएको छ । यता माओवादी केन्द्रले नयाँ संरचनामा नेतृत्व वहन गर्न सक्ने र विकासलाई गति दिने क्षमतावान् व्यक्तिलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गर्न आफू मातहतको नगर, गाउँपालिका र वडा कमिटीलाई निर्देशन दिएको छ ।
‘आन्दोलनबाट प्राप्त संघीयता, समानुपातिक समावेशीता, धर्मनिरपेक्षता, दलित, महिला, जनजातिका अधिकारलाई संरक्षण गर्दै समृद्धिको दिशातर्फ स्थानीय तहलाई डो¥याउन सक्ने व्यक्तिलाई नै प्राथमिकता दिएका छाँै’ माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले बताए । उनका अनुसार युवालाई प्राथमिकता दिएर उम्मेदवार बनाउने तयारी भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा दुई सय ३७ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । ७२ वटा मतदानस्थल रहेको म्याग्दीमा ३७ हजार ६ सय ७२ महिला, ३३ हजार ७ सय ६० पुरुष र एक जना तेस्रोलिंगी गरी ७१ हजार चार सय ६३ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया