रासायनिक हतियारको प्रयोग बढ्दो

rasainik hatiyarकाठमाडौं । संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको लामो समय भए पनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत संघका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउनेसम्बन्धी सम्झौतामा सन् १९९० मा हस्ताक्षर गरेपछि त आम मान्छेलाई लाग्यो, अब संसारभर कहीँ कतै रासायनिक हतियार प्रयोग हुने छैन ।
इराकमा रासायनिक हतियार भएको नाममा अमेरिका, उसको गठबन्धन राष्ट्र र उत्तर एटलान्टिक सहयोग संगठन (नेटो) गठबन्धनले हमला ग¥यो । मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको हिसाबले उक्त आक्रमण इतिहास कै महँगो साबित भयो अमेरिकालाई । किनकि आजसम्म पनि त्यही विषय उसको टाउको दुखाइको विषय बनिरहेको छ ।
अन्य प्रकारका हतियारको प्रयोगले मान्छे सहजै मारिन्छ वा घाइते हुन्छ । रासायनिक हतियार त्यस्तो हतियार हो, जसले बाँचेकालाई पल पल मारिदिन्छ । तड्पदै मर्नुपर्ने, त्यो पनि अर्धचेत वा अपांंगता भएका नागरिकभन्दा तल्लोस्तरमा रहनुपर्ने हुन्छ । अमेरिकाले हिरोसिमा र नागासाकीमा प्रयोग गरेको बमको प्रभाव हालसम्म देखिएको जापानी स्वयं बताउँछन् ।
इराक र कुवेतबीचको लडाइँ होस् वा इराक र इरानबीचको युद्धमा समेत रासायनिक हतियारको प्रयोग भएको थियो र त्यसले पारेको प्रभाव अझै पनि देखिने गरेको छ । उत्तरी यमन, भियतनाम र थाइल्यान्डको सीमा क्षेत्र, पर्सियन गल्फ युद्ध, फोकल्यान्ड र पछिल्लो पटक सिरियामा समेत रासायनिक हतियारको प्रयोग भएको देखिन्छ । जापान र चीनबीचको युद्धको समयमा समेत समान्य प्रकारका रासायनिक हतियार प्रयोग भएका बताइन्छ । त्यसवखत मस्टर्ड ग्यासको प्रयोग हुने गरेका थिए ।
नाजीहरूले कार्बन मोनोअक्साइड र हाइड्रोजन साइनाइडको प्रयोग गरेका थिए । हिटलरको ग्यास च्याम्बरमा विरोधीलाई राखेर मारेको विषय त आम मान्छेले थाहा पाएकै छन् । जेनेभा अधिसन्धिले सन् १९२५ देखिनै रासायनिक हतियारको प्रयोगमा रोक लगाएको छ, तर संसारभर नै यसको प्रयोग हुन भने छाडेको छैन । पछिल्लो पटक सिरियामा रासायनिक हतियारका कारण परेको प्रभाव यस शताब्दीकै हालसम्मको ठूलो मानिएको छ ।
पछिल्लो पटक सिरियामा सुरु भएको शान्ति वार्ता निष्कर्षमा पुग्न सकेन । परिणाम स्वरूप अहिले सिरिया रासायनिक हतियारको होडबाजीमा परेको छ । रासायनिक हतियारको कारण एकै पटक हजारौँ नागरिक प्रभावित भएका छन् । घाइते भएका नागरिक मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।
पछिल्लो पटक गत २३ चैतमा सिरियाको खान सेइखुन सहरमा लडाकुले रासायनिक हतियारको भण्डारण गरेको र सिरियाली सरकारी फौजले त्यसमाथि आक्रमण गरेको परस्पर विरोधी खबर सार्वजनिक भएका छन् । सो सहर यतिखेर भूतको सहरमा परिणत भएको छ । सडकमा
मूर्दा शान्ति छाएको छ । रासायनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् ।
सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ विषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण सयौँ नागरिकले ज्यान गुमाए । सिरियामा संघर्ष सुरु भएयता त्यो नै सबैभन्दा ठूलो रासायनिक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सो आक्रमणपछि मानिसहरू बस्ने घर खाली छन् र इडलिब प्रान्तको यो सहरमा अहिले रकेटका टुक्रा अझै छरपस्ट छन् । सन् २०१३ मा दमासकस नजिकैको विपक्षीको कब्जामा रहेको स्थानमा सरकारले रासायनिक आक्रमण गरेपछि एक हजार बढीको ज्यान गएको थियो । त्यसयता सरकारले रासायनिक हतियार प्रयोग गर्न छाडेको भनिएको थियो । राष्ट्रपति बसर अल असदका मुख्य सहयोगी रुसले सिरियाली सरकारले विद्रोहीले सञ्चालन गरिरहेको ग्यास उत्पादन गर्ने प्लान्टमा बम आक्रमण गरेको र लगत्तै उक्त ग्यास लिक भएर यो अवस्थामा पुगेको बताइएको छ । तर, रासायनिक आक्रमणलगत्तै घटनास्थल पुग्दा विद्रोहीले सञ्चालन गरेको भनिएको गोदामनजिकै रासायनिक मिसाइल खसेको देखिन्थ्यो । उक्त गोदामसँगै रहेको टावरमा केही क्षति पुगेको थियो र गोदाम पूरै धुलोले पुरिएको थियो । स्थानीयका अनुसार उक्त टावर पनि ६ महिना अघि भएको बम आक्रमणले नष्ट भएको थियो र त्यसयता प्रयोगमा छैन ।
विद्रोहीले सञ्चालन गरेको ग्यास उत्पादन उद्योगमा आक्रमण गरेको भन्ने सरकारको दाबीलाई स्थानीयले पत्याएका छैनन् । ‘तपाईंले यहाँ हेर्न सक्नुहुन्छ, यो गोदाममा केही खाद्यान्न र मरेका जीवजन्तुका अवशेषबाहेक केही छैन’, एक स्थानीयले भने । रासायनिक ग्यासले त्यत्रो मानिस मार्दा भर्खरै खसालिएको मिसाइलले अन्य भवन क्षति पुगेको वा भत्किएका छैनन् । सडक वरपर रहेका घरहरू बाहिरबाट हेर्दा जस्ताको तस्तै देखिन्छन् ।
सहर भूत बंगलामा परिणत भएका छन् । मान्छेका लाशहरू छरपस्ट थिए । कसैका हात मात्रै भेटिएका छन्, कोहीका खुट्टा मात्रै देखिएका छन् । कपडाको चाङ पनि देखिन्छ । सडकमा ठूला ठूला खाल्डा रहेका छन् । सवारीसाधनको आवतजावत छैन । नागरिकहरू सुरक्षित स्थान खोज्दै यत्रतत्र दौडिइरहेका छन् । योभन्दा कहालीलाग्दा दृश्य अरू हुनै नसक्ने स्थानीयहरू बताउँछन् ।
प्रत्यक्षदर्शीका अनुसार हवाई आक्रमण २३ चैतमा बिहान साढे ६ बजेदेखि सुरु भएको थियो । त्यो चार घन्टासम्म चलेको थियो । सुरुमा उनीहरूले यो पनि पहिले भएजस्तै हवाई आक्रमण सम्झिएका थिए । मानिसहरू भुइँमै लड्न थालेपछि उनीहरूले बल्ल रासायनिक आक्रमण भएको बुझे । स्वास फेर्न गाह्रो भयो, हिँड्दा हिँड्दै नागरिक ढले ।
‘स्थानीयले उद्धारकर्तालाई बचाउन आग्रह गर्दै फोन गरे । उनीहरू हिँड्न पनि नसक्ने भन्दै भुइँमा जोतिएका थिए । उद्धार टोली त पुगेको थियो तर सामान्य मास्कको भरमा । वरिपरि ग्यासको गन्ध आइरहेको थियो । घाइतेहरू मुखमा फिँज निकालेर भुइँमा छटपटाइरहेका थिए । उनीहरूको ओठ निलो भएको थियो र अर्धचेत अवस्थामा थिए । पानी पानी भन्दै कराइरहेका सयौ नागरिक कोही घरको आँगनमा लडेका थिए भने कोही सडकको किनारमा जीवन र मृत्युको दोसाँधमा थिए ।
साना नानीहरू रोइरहेका थिए, हिक्क हिक्क गर्दे वृद्धवृद्धा अल्लाह बचाऊ भनिरहेका थिए । यस्तो हृदयविदारक दृश्य पहिलो पटक देखिएको हो । युद्ध सुरु भएपछि कै यो सबैभन्दा भयंकर र डरलाग्दो क्षण हो, हामी पनि सामान्य मास्क मात्र लगाएर गएका थियौं । राम्रो सवारीसाधन पनि थिएन, केही नागरिकको उद्धार ग¥यौं तर सबैलाई धेरै दिनसम्म पनि उद्धार गर्न सकिएन एक उद्धारकर्ताले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएका थिए ।
अस्थायी क्लिनिक राखिएको स्थान पुग्दा यो भग्नावशेषले भरिएको थियो । भित्रपट्टी अस्पतालका उपकरण, बेड, शल्यक्रियाका लागि प्रयोग हुने सामग्री र औषधिका साना बट्टाहरू धुलाम्ये भएर छरिएका थिए । कयौं औषधि काम नलाग्ने भएका थिए भने कयांै बमको धमाकासँगै उडेका थिए ।
नजिकैको चिहानमा अघिल्लो दिन मृतकहरूको अन्त्येष्टी गरिएको थियो । एउटा कुनामा १८ वटा नयाँ चिहान बनाइएको थियो र मृतकमध्ये २० जनाको नाम एउटा ढुंगामा कुँदिएको थियो । यो चिहानमा एकै परिवारका २० जनाको शव गाडिएको थियो । तर सबैभन्दा बढी पीडादायी घटनाको रूपमा दुई बच्चाहरूलाई आफ्नै आमासँगै पुरिएको थियो । आफ्नी पत्नी र नौं महिने जुम्ल्याहा सन्तान अहमद र आयालाई गाडेका एक सिरियन नजिकै बसेर रोइरहेका थिए ।
द सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सकाअनुसार खान शैखुनमा सिरियाली सरकार तथा रुसी लडाकु विमानको हमलामा केही व्यक्तिहरू जलेका थिए । राहत तथा उद्धारकर्मीका अनुसार विषालु ग्यासले जलेर घाइते सयकडौं नागरिक अस्पतालमा भर्ना भएका छन् । उक्त ‘रासायनिक’ हमलामा २७
बालबालिका तथा १९ महिलासहित ८४ जना मारिएको इडलिब प्रान्तमा विद्रोही लडाकुद्वारा सञ्चालित समूहले दाबी गरेको छ । उक्त समूहका अनुसार पाँच सय ४६ जना घाइते छन् । रासायनिक हतियारले तबाही पारेको सोही क्षेत्रमा अमेरिकाले पुनः बमबाड गरेको थियो ।
विश्व स्वास्थ्य संगठनकाअनुसार उक्त हमलामा यस्तो रासायनिक हतियार प्रयोग भएको थियो कि, जसका कारण नागरिकले श्वास फेर्नसमेत एकदमै मुस्किल परेको थियो । सिरियाली सरकारले भने रासायनिक हमला भएको कुरा अस्वीकार गर्दै आएको छ । सिरियाली सेनाले आफ्नो बयानमा भनेको छ, उक्त हमलामा कुनै पनि रासायनिक हतियार प्रयोग भएको छैन । आफूहरूले कुनै पनि रासायनिक हतियारको व्यवस्था नगरेको उनीहरूको दाबी छ । सेनाले भविष्यमा समेत कुनै पनि किसिमको रासायनिक हमलाको योजना नरहेको बताएको छ ।
सेनाका एक अधिकारीले सरकारी टेलिभिजनमा भने ‘हामी रासायनिक हतियारमा विश्वास राख्दैनांै । हामीलाई हाम्रो नागरिकको चिन्ता छ । हामी बहुलट्ठी भाडाका सिपाही होइनौं । विदेशी हतियारको बलमा हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप गराउन चाहने अमेरिका र उसको गठबन्धको इसारामा हाम्रा नागरिकमाथि रासायनिक हतियारको प्रयोग भयो । यो कुनै पनि मूल्यमा क्षम्य हुन सक्दैन ।’
सो घटनापछि शक्ति राष्ट्रहरू विभाजित भएका छन् । सिरिया समर्थित मुलुकले आफूहरूले कुनै पनि खराब आक्रमण नगरेको जनाएको छ । सिरियाविरोधी राष्ट्रले खुलेर अमेरिकाको समर्थन गरेका छन् । फ्रान्स र जर्मनीले सिरियाली राष्ट्रपति बसर अल असद नै जिम्मेवार हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
रासायनिक हतियारको प्रयोगमा अमेरिकाले रुसलगायत मुलुकलाई दोष लगाएको छ भने रुसले गलत प्रचार गरिएको भन्दै प्रतिवाद गरिरहेको छ । हात हतियारको होडबाजीमा सिरियामाथि थप आक्रमण गर्ने हो भने त्यसले क्षेत्रीय शान्ति र अमनचैन थप खलबल्याउने देखिन्छ ।
यसअघि आतंकवादी समूह इस्लामिक स्टेटले उत्तरी इराकको एक गाउँमा पनि क्लोरिन र मास्टर्ड ग्यासको प्रयोग गरेका थिए । सो आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए । इराकी सरकारका अनुसार यस्तो आक्रमण पहिलो हो । घटनामा मारिनेमा तीन वर्षकी बालिका फातिमा र १० वर्षका मासुमेह पनि थिए । फातिमाकी आमा जेनबले आफूहरूमाथि खसेको रकेटमा रसायन रहेको र त्यसमा धेरै धुवाँ रहेको बताइन् । मैले उसलाई तान्ने कोसिस गरेँ तर उनको आसपास निकै धुवाँ भएका कारण मैले तान्न सकिनँ । प्रभावित मानिसले बताएअनुसार क्लोरिनका कारण आँखा र नाक पोलेको थियो ।
पछिल्लो पटक सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको बारम्बार अस्वीकार गरेको छ । रसियाली रक्षा मन्त्रालयले त्यो क्षेत्रमा कुनै हवाई आक्रमण नगरेको जनाएको छ । यदि सो आक्रमण रासायनिक नै थियो भन्ने पुष्टि भएमा सिरियाको गृहयुद्ध सुरु भएयताको सबैभन्दा खतरनाक रासायनिक आक्रमणको रूपमा चित्रित हुनेछ ।
आक्रमणका प्रयोग भएको रसायनका कारण स्वास्थ्यकर्मीसमेत प्रभावित भएका थिए । बेहोस भएका, उल्टी गरेका र मुखबाट फिँज निस्केका मानिसलाई उपचार गर्न गाह्रो परेको थियो । सारिन नामक स्नायु विष प्रयोग गरिएको आशंका गरिएको छ । जुन विष
साइनाइडभन्दा २० गुणा बढी खतरनाक मानिन्छ । सारिनको मात्रा बढी भएमा मान्छे निस्सासिएर मर्न सक्छ । उक्त ग्यासको रङ, स्वाद र गन्ध नहुने हुनाले त्यो पत्ता लगाउनसमेत गाह्रो हुन्छ ।
पश्चिमा शक्तिहरूले सन् २०१३ मा पनि सिरियामाथि विद्रोही नियन्त्रित क्षेत्रमा सारिन प्रयोग गरेर सयौंको ज्यान लिएको आरोप लगाएका थिए । राष्ट्रपति बशर अल असदले सो आरोप अस्वीकार गर्दै रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमति जनाएका थिए । राष्ट्रसंघको एक निकायले गरेको अनुसन्धानमा सरकारी फौजले सन् २०१४ देखि २०१५ को बीचमा क्लोरिनलाई हतियारका रूपमा प्रयोग गरेको पाइएको प्रतिवेदन तयार पारेको थियो । इस्लामिक स्टेटका लडाकुले पनि पोल्ने रसायन प्रयोग गर्ने गरेको सो अनुसन्धानले देखाएको थियो । पछिल्लो पटक बढेको रासायनिक हतियारको होडलाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघ र ठूला राष्ट्रको सकारात्म्क पहल एवम् प्रयत्नको जरुरी देखिन्छ । अन्यथा त्यसले संसारमा पार्ने प्रभाव सबैभन्दा बढी खतरनाक हुनेछ । जुन मानव सभ्यताका लागि कलंक सावित हुनेछ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया