केपी ओलीका उखान टुक्का बुझ्ने क्षमता राख्नुहुन्छ ?

guru bhattaraiशेरबहादुरजी !
हुन त नेपालको राजनीतिमा तपाईं परीक्षण हुन बाँकी मान्छे होइन । अझ खुलेरभन्दा अक्षम प्रधानमन्त्री घोषित नै मान्छे हो । तपाईंको बोली बुझिँदैन, बुझ्न त्यत्ति जरुरी पनि ठान्दिनँ किनभने तपाईंका कृत्यहरूले तपाईंको परिचय भरपूर दिइरहेकै छन् । यसका लागि पुराना सबै खतहरू अहिले नकोट्याउँ । आशा लामा र जयबहादुर चन्दका लागि तपाईंले शक्ति पृथकीकरण र कानुनी सर्वाेच्चतालगायत लोकतन्त्रका मान्यतामाथि राखेको दुस्मनी काफी छन् । तपाईंका लागि राजनीति भनेको पदमा पुग्ने, रकम लिएर भर्ती गर्ने, भर्ती गर्न लिएको बैना पचाउन अप्ठ्यारो भए जस्तासुकै राम्रा संरचना पनि भत्काउनेबाहेक केही होइन ।
तपाईंले कैलालीमा कांग्रेसको चुनावी सभा गर्नु भएछ र त्यहाँ केपी ओलीका उखान टुक्काले देश चल्दैन भन्नु भएछ । हुन त तपाईंले बोलेका कुरा झूट मात्रै हुन्छन् भन्ने प्रमाण के हो भने बृद्धभत्ता कांग्रेसले सुरु गरेको हो भन्दिनु भएछ । यति ताजा कुरामा त यस्तो झूट बोल्नुहुन्छ भने तपाईंका तर्कहीन जिद्दीको लवज हुन्छ– हुन्छ– हुन्छ माथि के टिप्पणी गर्नु जस्तो लाग्छ । तपाईं तीन पटक प्रधानमन्त्री बन्नु भयो, आफ्नो कार्यकालमा गरेका कम्तीमा तीनवटा राम्रा काम भन्न सक्नुहुन्छ ?
तपाईं आफ्नै पार्टीको बहुमतको प्रधानमन्त्री दुई पटक र एक पटक संयुक्त सरकारको गरी तीन पटक प्रधानमन्त्री बन्नु भयो । केपी ओली मुस्किलले नौ महिना संयुक्त सरकारको प्रधानमन्त्री भए । ओलीले कठिन अवस्थाका नौ महिनामा देशको स्टाट्स बदल्नेगरी गरेका काम र तपाईंले सामान्य र सहज अवस्थामा तीन पटक एकल सरकार चलाउँदा गरेका कामको तुलना गर्नै मिल्ने अवस्थामा छैनन् । अझ तपार्इं केपी ओलीलाई ‘उखान टुक्काले देश चल्दैन गम्भीर बन्न’ भन्नुहुन्छ ।
देउवाजी,
तपाईं र ओलीबीच तुलना गर्न धेरै लामो तुलना नै गर्नु जरुरी छैन । आजका मितिमा प्रतिपक्षमा भएर पनि ओली देशलाई आगामी २५ वर्षभित्र कसरी संरचनागत, नीतिगत र कार्यक्रमिक हिसाबले समृद्धिमा लैजाने भनेर योजना बनाइरहेका छन् । तपाईं कसरी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउन लिएको रकम पचाउने, कसरी आशा लामाबाट राजदूत बनाइदिन लिएको रकम पचाउने र अरू आफ्ना सालामार्फत प्रशासनिक ठेक्कापट्टाबाट कसरी कमिसन खाने भन्ने कुरामा मात्रै केन्द्रित हुनुहुन्छ । देउवाजी संयोग कस्तो भने त्यही दिन केपी ओली मुलुकको समृद्धिका लागि विज्ञहरूसँग सुझाव मागिरहेका थिए, तपार्इं त्यही दिन केन्द्रीय कार्यसमितिको बैठकमा जयबहादुर चन्द र आशा लामाहरूलाई नियुक्तिवापत लिएको बैनाबारे बयान दिइरहनु भएको थियो । ओली र तपाईंको विपरीत गन्तव्य खुट्याउने यो सानो उदाहरण मात्र हो देउवाजी । घुस, कमिसन, ठेक्कामा अवरोध गर्ने जुनसुकै निकाय वा संस्था भत्काउन तपाईं पछि पर्नुहुन्न भन्ने तपाईंको केन्द्रीय कार्यसमितिको माइन्युट बुकमा अदालतविरुद्ध गरिएको निर्णयले पनि देखाउँछ । तपाईं यस्तो गैरजिम्मेवार धुन्धुकारी हुनुहुन्छ, अनि देशमा केही गरेर देखाएका केपी ओलीमाथि आक्रमण गर्नुहुन्छ । के बुझौं तपाईंलाई ?
मलाई त लाग्छ, देउवाजी तपाईंले कमिसन, पैसा, ठेक्कापट्टाभन्दा माथि राजनीतिलाई बुझ्नै भएको छैन । तपाईंले आफूले नेतृत्व गरेको दल एजेन्डाहीन भएको आवेशमा आएर कैलालीमा केपी ओलीलाई उखान टुक्काबाट देश चल्दैन त भन्नुभयो । तर तपाईंले केपी ओलीका उखान टुक्का बुझ्ने हैसियत पनि राख्नुहुन्न । किनभने तपाईंको राजनीतिको उच्चतम दृष्टि नियुक्तिबाट मुद्रा संकलन गर्ने मात्रै हो । केपी ओलीका उखान टुक्का बुझ्नुहुन्छ भने एउटाको मात्रै भए पनि अर्थ लगाउनुस् देउवाजी । यति मात्रले पनि तपाईंको वौद्धिकता अलि पोषिलो हुन्छ ।
१. नेपालले संविधान जारी गर्न रोकेन भनेर ६–६ महिना नाकाबन्दी लगाउने भारतसँग सिङ्गौरी खेलेर नेपाली जनताको स्वाभिमानमा बाँच्ने इतिहासलाई कायम राख्नु र हिन्दूस्तानलाई घुँडा टेकाउनु उखान टुक्का हो देउवाजी ? कि तपाईंले नेतृत्व गरेको पार्टी जस्तो नाकाबन्दी लगाएको थाहै नपाउने लाश हुनु पथ्र्याे केपी ओली ?
२. मेरो मुलुकमा लगाएको नाकाबन्दी नहटाएसम्म तिम्रो मुलुक भ्रमण गर्दिन भन्नु उखान टुक्का हो देउवाजी ? कि तपाईंले जस्तै पार्टीको माइन्युटमा भारतको नाकाबन्दी लेख्नु हुँदैन भारत रिसाउँछ भन्नु पथ्र्याे ?
३. हाम्रो मुलुकको आन्तरिक राजनीतिक मामला हामी मिलाउँछौ, यो कुनै विदेशी वा भारतको चासोको विषय हैन । हाम्रो मामिलामा औंला नघुसाउ भन्नु उखान टुक्का हो देउवाजी ? कि तपाईं जस्तै भारतले
भनेबमोजिम संविधान संशोधनको बाचा गर्न गोवा जानु पथ्र्याे ?
४. भारतको दादागिरी नचलेपछि नेपाल मामलालाई इयुमा पु¥याएर नेपालको सार्वभौम अधिकारमाथि खेलाँची गरेर वक्तव्य जारी गर्दा ‘माइन्ड योर विजनेश इयु एन्ड भारत’ भनेर सरकारको नेतृत्वमा बसेर दुनियाँका लोकतन्त्रका मसिहा हौँ भन्नेलाई औपचारिक रूपमा हप्काउने कुरा उखान टुक्का हुन् देउवाजी ? कि धनराज गुरुङहरूले इयु–भारत वक्तव्यले नेपालको स्वधीनतामाथि चुनौती दियो भनेर पार्टी बैठकमा ल्याएको प्रस्ताव दर्तासमेत गर्न नदिएर तपाईंले जस्तै संविधानविरोधीको चाकरी गर्नु पथ्र्याे केपी ओलीले ?
५. नेपालका भइरहेका नाका पनि थुनिरहेको भारतलाई कोलकाता बन्दरगाह टाढा र झन्झटिलो भो, विषाखापटनम बन्दरहाह चाहियो भनेर सम्झौता गराउनु, बंगलादेशसँग व्यापार गर्न बंगलाबन्ध मार्ग खोल्नु उखान टुक्का हो देउवाजी ? तपाईंले यस्ता कुरा त आफ्नो जीवनमा कल्पनासमेत गर्नु भएको थिएन होला ।
६. दुई छिमेकी मुलुकमध्ये समुद्रमा पुग्ने भारततर्फको मार्ग मात्र भयो, त्यसैले भारतले पटक पटक नाकाबन्दी गरेर दुःख दियो भनेर अर्को उत्तरी छिमेकीसँग द्विपक्षीय व्यापार, पारवहन, उत्तरी नाका जोड्ने अनेकन मार्गलगायत एक दर्जन सम्झौता नेपालका तर्फबाट पहिलो पटक केपी ओलीले गरे । यी उखान टुक्का हुन् देउवाजी ? कि तपाईंहरू जस्तै म प्रधानमन्त्री हुनु प¥यो भन्दै राष्ट्रिय हित भारतसामु बिसाउन जानु पथ्र्याे ?
७. नेपालको आफ्नो पर्याप्त उत्पादन नहुन्जेल भारतबाट भए पनि विद्युत् आपूर्ति गर्ने, त्यसको निम्ति ढल्केबर–मुजफ्फरपुर लगायत क्रस बोर्डर प्रसारण लाइन निर्माण गरेर विद्युुत् आयात गर्ने सम्झौता गरियो, त्यही योजनामुताबिक आज लोडसेडिङ घटेको छ मुलुकमा । भोलि नेपालले पर्याप्त विद्युत् उत्पादन गरेपछि त्यही प्रसारण
लाइनमार्फत भारतलाई विद्युत् बेच्ने बाटो खुलेको छ । यस्तो गर्नु उखान टुक्का हो देउवाजी ?
८. इतिहासमा कुनै पनि सरकारले मधेसमा नदिएको बजेट ओली सरकारले व्यवस्था ग¥यो, बजेट पुस्तिका पल्टाउनुस् । यो उखान टुक्का हो देउवाजी ? कि तपाईंजस्तो मधेसका लागि केही नगर्ने भारतको स्वार्थका लागि चारजना बिहारी नेतालाई नै मधेसी जनता भन्दै भक्भकिँदै हिँड्नु पथ्र्याे ?
९. भारतले २७ किमि बाटो प्रयोग गर्न दिने र बंगलादेशतिरको बन्दरगाह पनि प्रयोग गर्ने भनेर केपी ओलीले बंगलादेशसँग पनि सम्झौता गरे । यो उखान टुक्का हो देउवाजी ?
१०. मुलुकमा अब
अराजकताबाहेक केही हुँदैन भनेर वर्षौदेखि निराश आम युवा र जनता आफ्नै बुतामा पनि हामीले गर्न सक्ने रहेछौं भन्ने आशा केपी ओलीको सरकारले जगाएको थियो । यो उखान टुक्का हो देउवाजी ? कि भारतसँग लम्पसार परेर आफूले पद पाउने भए देशको जनसंख्यालाई अरबमा उँट जोत्ने हली नै बनाउन बाध्य पार्ने तपाईंको जस्तै ओलीले पनि गर्नु पथ्र्याे ?
११. मुलुकमै युरेनियम खानी, पेट्रोल खानी, फलाम खानी रहेको पुष्टि भयो, तिनको उत्खनन् गर्ने काम थाल्नु उखान टुक्का हो देउवाजी ? कि तपाईं जस्तो कहाँबाट कमिसन पाइन्छ भनेर त्यसलाई मात्रै राजनीति ठानेर हिंड्नु पर्ने थियो ?
१२. बरु प्रधानमन्त्री पद त्याग्न तयार छु तर, मधेसी मोर्चामार्फत हिन्दूस्तानले हाम्रो संविधानमा लाद्न खोजेको देश हितविपरीत विषय स्वीकार्दिन भनेर जनतामा आउनु उखान टुक्का हो देउवाजी ? कि तपाईंले जस्तो प्राडो पजेरो काण्ड, सुरासुन्दरी काण्ड बेहोरेर जसरी पनि सरकार टिकाउनु पर्ने थियो ?
यदि यी सबै उखान टुक्का हुन् भने तपाईंका जिब्रोले बोलेका कुरा के हुन् ? ती त कमसेकम लेखेरै भए पनि बुझाई दिनुस् । बोली बुझ्नु त यो जुनीमा त्यत्तिकै भो, व्यबहार त तीन पटक प्रम हुँदा बुझेकै छ ।

प्रतिक्रिया