पर्यटकले भरियो ‘मैयुङ’

भोजपुर । मैयुङ हाँसपोखरी महोत्सव शुक्रबारदेखि सुरु भएको छ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको मैयुङस्थित भूलभूले तालमा महोत्सव सुरु भएको हो । पर्यटकीय दृष्टिकोणबाट स्वदेश तथा विदेशसम्म प्रचारप्रसार गर्ने उद्देश्यकासाथ ‘तिम्मा सरोकार समाज’ काठमाडौंले महोत्सवको आयोजना गरेको हो । महोत्सवमा सदरमुकामस्थित टुँडिखेलबाट महिला तथा पुरुष ३० किलोमिटर स्काई दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा
पुरुषतर्फ प्रथम भोजपुर हेलौछाका २५ वर्षीय रामबहादुर गुरुङ ३ घन्टा १५ मिनेटमा निर्धारित दूरी पार गर्दै प्रथम भएका छन् । महिलातर्फ भोजपुर साम्पाङकी सुनिता राई भएकी छन् ।
खोटाङ र भोजपुरको संगम स्थलको रूपमा समेत रहेको मैयुङको भूलभूलेताल चारैतिर लालीगुराँस, चाँप, हाँसपोखरी र आफैँमा प्राकृतिक सौन्दर्यले भरिभराउ रहेको छ । चौरमा घोडाको टापले थपिएको सौन्दर्यमा रमाउन भोजपुर, खोटाङ, संखुवासभालगायत आन्तरिक र बाह्य पर्यटकहरूको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित परम्परागत तथा लोपोन्मुख सामग्रीको प्रदर्शन गरिएको छ । खोटाङ र भोजपुरमा रहेको लोपोन्मुख जातीय साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
लालीगुराँसका बोटहरूको सहायतामा छाप्रो बनाई छुर्पी राडीको व्यापार गरिरहेका दृश्यले महोत्सवको थप सौन्दर्य बढाएको छ । समुद्रीसतहबाट तीन हजार तीन सय ३३ मिटरको उचाइमा सञ्चालन भइरहेको महोत्सवस्थलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा, मकालु, महालंगुर, तथा कञ्चनजंघाजस्ता विश्व प्रसिद्ध हिमशृंखला देखिने गर्दछ । आन्तरिक र बाह्य पर्यटकहरू विभिन्न माध्यममार्फत ती दृश्य नजिकबाट नियाल्नेको संख्या पनि उल्लेख्य रूपमा रहेको छ । सुन्दर मावि पोखरी जलजले मात्तिम डाँडा दिल्पानागी, घोडनागी, हाँसपोखरी, सातदोबाटोलगायत ठाउँलाई मैयुङ डाँडा क्षेत्र भनेर चिनिने गरिन्छ ।
यस क्षेत्रमा पर्यटन प्रवद्र्र्धन गर्न आयोजित महोत्सवलाई सफल बनाउन विभिन्न ठाउँमा रहेर सहयोग पु¥याउने व्यक्तिहरूलाई आयोजकले सम्मानसमेत गरेको छ । कार्यक्रममा आमत्रित राजनीतिक दलका नेताहरूले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न आ–आफ्नो ठाउँबाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने कार्यक्रममा भोट माग्ने किसिमका सम्बोधन नगर्न आयोजकले अपिल गरेको थियो । नयाँ वर्षको अवसर पारी शुक्रबारदेखि सुरु भएको महोत्सव ३ गतेसम्म सञ्चालन गर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया