‘निर्वाचनमा बालबालिकाको प्रयोग निषेध होस्’

काठमाडौं । आगामी ३१ वैशाखमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग पूर्णरूपमा निषेध गरिनुपर्ने माग गरिएको छ ।
बाबबालिकाका निमित्त काम गर्ने गैरसरकारी संस्थाहरूको महासंघ–नेपाल (सिएनएफएन) को अगुवाइमा १३ वटा संघसंस्थाद्वारा संयुक्तरूपमा बुधबार आयोजित कार्यक्रमका वक्ताले सो माग गरेका हुन् । कार्यक्रममा घोषित स्थानीय तहको निर्वाचन पूर्व, निर्वाचन अवधिभर र निर्वाचनपश्चात निर्वाचनको गतिविधिमा बालबालिका प्रयोग नगर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको हो ।
निर्वाचनको मिति तय भइसकेको तथा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरिसकेको अवस्थामा निर्वाचन प्रयोजनका निम्ति बालबालिकाको प्रयोग गरिए बालअधिकारविरुद्ध हुने भन्दै उनीहरूले बालबालिका प्रयोग नगर्न राजनीतिक दलको ध्यानाकर्षण गराए । कार्यक्रममा सिएनएफएनका अध्यक्ष मनोजकुमार कँडेलले सरकार र मुख्य राजनीतिक दलले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रूपमा स्वीकार गरी कुनै पनि राजनीतिक गतिविधिमा बालबालिकालाई संलग्न नगर्ने तथा विद्यालयलाई राजनीतिक थलोको रूपमा प्रयोग नगर्न बालबालिकाका निमित्त गैरसरकारी संस्थाको महासंघ नेपालसमक्ष विगतमा लिखित प्रतिबद्धता गरिसकेको स्मरण गराउँदै निर्वाचन प्रयोजनका निम्ति बालबालिका प्रयोग नगर्न आग्रह गरे ।
उनले भने, ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ एवं विद्यमान निर्वाचन आचारसंहिताले तोकेका प्रावधानअनुसार घोषित स्थानीय तहको निर्वाचनपूर्व, निर्वाचन अवधिभर र निर्वाचनपश्चात् बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल र तिनका भ्रातृ तथा भगिनी संस्थालाई आग्रह गर्दछु ।’
कार्यक्रममा निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपालका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले यो राष्ट्रिय अभियानलाई मुलुकभरै विस्तार गरिने बताए । उनले भने, ‘अभियानले सकारात्मक बनाउन सञ्चारमाध्यामको ठूलो भूमिका हुन्छ । बालबालिकाको प्रयोग गरी हुने कुनै पनि त्यस्ता अवैध गतिविधिलाई न्यूनीकरण गर्न समाजमा सबैले भूमिका खेल्नुपर्छ ।’
बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व खड्काले विभिन्न बहानामा १६ वर्षमुनिका बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न नहुने तर्क गरे ।
कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र, बाल विकास समाज, बाल गृहहरूको महासंघ नेपाल, अभिभावक संघ नेपाल, अन्तर्राष्ट्रिय बाल संशाधन संघ नेपाल, राष्ट्रिय बाल क्लब सञ्जाल, नेपाल राष्ट्रिय अभिभावक संघ, बालबालिका, बन्दी तथा आश्रितका लागि कार्य समूह, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, बन्दी सहायता नेपाल र थैली नेपालले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न संयुक्तरूपमा आव्हान गरेका थिए ।
आह्वानपत्रमा विद्यालय परिसरभित्र कुनै पनि राजनीतिक सभा, सम्मेलन, बैठक, माइकिड, जुलुस, ¥याली तथा धर्ना नगर्न, बालबालिकालाई निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्यमा प्रयोग नगर्न, विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द नगर्न, बालबालिकालाई विद्यालय जान र त्यस प्रयोजनको निमित्त प्रयोग गरिने सवारी साधनको आगमनमा बाधा, व्यवधान र अवरोध सिर्जना नगर्न माग गरिएको छ ।

प्रतिक्रिया