कता जाँदैछ नेपाली समाज ?

हामी नेपाली मनकारी छौं, अत्यन्तै मनकारी छौं । त्यसैले त सधैं आफूले पसिना बगाएर गरेको कमाई क्षणभरमै अरूको सहयोगको लागि दिन तुरुन्तै तत्पर भइहाल्छौं । यसैले गर्दा हो कि आजभोलि जापानमा मात्रै होइन सम्भवतः नेपाली पुगेका अधिकांश देशहरूमा फेसबुक चन्दाआतंकले यस्तरी जरो गाडेको छ कि जसले सहयोगको नाममा जातीय रंग, क्षेत्रीय रंग र प्रदेशीय रंगमा नजानिँदो पाराले नेपालीलाई विभाजित गराउँदै गइरहेको आभास हुन थालेको छ ।
अहिले जापानमा चर्चामा रहेको विद्यार्थी बहिनी भीमाकुमारी श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग जुटाउन भनेर जापानमा सक्रिय संस्थाहरू दिनरात आफ्नो बलबुतोले भ्याएसम्म लागिरहेका छन । यसै क्रममा जापानमा रहेको पुरानो संस्था मध्येको एक नेपाली विद्यार्थीको साझा संस्था नेपाली विद्यार्थी समाज जापान (नेसाज) ले नेपाली मुटुरोगी भीमाकुमारी श्रेष्ठको सहयोगका लागि ५० हजारको प्रारम्भिक कोष घोषणा गर्दै थप सहयोगका लागि जापानबासी नेपालीलाई अपिल गर्दै पहिलो पल्ट विज्ञप्ति सार्वजनिक ग¥यो ।
नेसाजले विज्ञप्ति निकाल्दै हामीजस्तै अध्ययनको एउटा सपना बोकेर सन् २०१४ मा जापान आएकी चेली भीमाकुमारी श्रेष्ठको मुटुको भल्बमा गम्भीर समस्या देखापरेर उपचाररत रहेको खबर सुन्नुपर्दा हामी अत्यन्तै दुखित भएका छौं । मुटुको भल्बले काम गर्न नसक्ने भई तेस्रो चरणमा पुगिसकेको तर थप उपचारका लागि श्रेष्ठको आर्थिक अवस्था पनि कमजोर रहेको छ ।
मुटुको भल्ब परिवर्तनको लागि पनि १ सय ५० मान आवश्यक रहेको र सोको लागि दुःखमा साथी बन्ने निर्णय नेसाजले गरेको छ । नेसाजले संस्थाको बचत कोषबाट २०,००० येनसाथै कार्यसमितिका सबै सदस्यले व्यक्तिगत सहयोग गरी ५०,००० येनको सहयोग कोष स्थापना गरी सम्पूर्ण जापानबासी नेपालीलाई सहयोगमा ऐक्यबद्धता जनाइदिन अनुरोध ग¥यो । अर्कोतिर जापानमा बिमा (होकेन) हुनेहरूको लागि लाग्ने अत्यधिक खर्च पनि न्यूनतम खर्चमा गराउन सकिने प्रावधान भएकाले त्यसको लागि ओखलढुंगा घर भएकी श्रेष्ठको निम्ति पूर्वी नेपाल विकास सहकार्य केन्द्रका साथीहरू अस्पतालदेखि होकेन कार्यालयलगायत ठाउँहरूमा खर्च कसरी कम गराउन सकिन्छ भन्दै सक्रिय भएर लागे ।
यो साता जापानको अनलाइन मेडिया र फेसबुकमा भाइरल बनेको यो समाचार सुन्ने र पढ्नेहरूले जापान बाहिरबाट पनि सहयोग गरौं भन्दै कमेन्टको वर्षा नै गराउन थाले । तर, कसैले पनि एकत्रित भएर कसरी सहयोग गर्ने भन्नेतिर सोच्न सकेनन् अथवा सस्तो लोकप्रियताको यो अवसर गुम्ला भनेर सोच्ने फुर्सद पाएनन् ।जापानमा चन्दा संकलनको यो पहिलो संस्करण हैन । यो अनवरत चलिरहेको छ । यसको नियन्त्रण र निराकरण त्यति सजिलो होला जस्तो पनि छैन । यद्यपि, सोच्नुपर्ने बेला भने भएको छ ।
च्याउजस्तै उम्रेका संस्थाहरूले मात्रै नपुगेर व्यक्तिगत रूपमा चन्दा उठाउनेहरू पनि त्यत्तिकै छन् । जापानको नियम, कानुनअनुसार जाने हो भने चन्दा उठाउँदा पनि उठेको रकमबाट कर तिर्नुपर्ने व्यवस्था छ तर यो विषयमा चन्दा उठाउन अस्वस्थ प्रतिस्पर्धा गर्नेहरू कति जानकार हुनुहुन्छ थाहा भएन ।
नेसाज आफूले ५० हजार येनको कोष गठन गर्दै सम्पूर्ण जापानबासी नेपाली र संघ संस्थालाई आफ्नो अभियानमा ऐक्यबद्धता जनाउँदै भीमकुमारीको सहयोगका लागि गरेको अपिल स्वीकारेर सबैले एकताको सन्देश दिँदै सहयोग गरेको भए जापानबासी नेपालीमा एउटा नयाँ सन्देश जाने थियो, प्रवासमा परोपकारी कार्यको एउटा नमुना पेस हुने थियो, बिडम्बना त्यसो हुन सकेन । सबैले आआफ्नै तरिकाले चन्दा संकलन गरी भीमकुमारीलाई बुझाउनेतिर तँछाडमछाड गर्न थाले र यो क्रम अझै चलिरहेको छ । कसैले जातीय संस्थाबाट सुरु गरे, कसैले राजनीतिक संस्थाबाट पनि सुरु गरे । एनआरएनको केही क्षेत्रीय समितिलगायत अन्य संघसंस्थाहरू पनि त्यत्तिकै तँछाडमछाड गरेर लागे । तर ठूलो मन भएका हामी नेपालीमध्ये कसैले पनि एकताको सन्देश दिँदै अगाडि बढौं भन्नेतिर विवेक पु¥याउन सकेनौं, अझ भनौं मन गरेनौं ।
अभिभावकीय संस्था भएर पनि एनआरएन जापानले यस विषयमा केही बोल्न सकेन, सिवाय रमिते हुनुबाहेक । अनि यसका क्षेत्रीय समितिले पनि त्यसैगरे जुन केही जातीय र राजनीतिक संस्थाले गरे । परिणाम सबैले आआफ्नो तरिकाले रकम संकलन गरे र गर्दैछन् आजका दिनसम्म । तथापि कसैले पनि एकत्रितभै एकताको सन्देश दिँदै अगाडि बढ्ने खालको बाटो भने देखाएनन् ।
बढ्दो चन्दाआतंकलाई नियन्त्रण गर्ने अर्थात् सुव्यवस्थित गर्नका लागि सबै संघसंस्थाले सस्तो लोकप्रियताका लागि सामाजिक असमन्जस्य र मतभेद बढाउने खालका कुरालाई रोक्ने अथवा नियन्त्रण तथा व्यवस्थित गर्नेतिर लाग्दा भोली जापानबासी नेपाली समाजको उदाहरणीय रूप नदेखिएला भन्न सकिन्न । यसलाई आगामी दिनमा व्यवस्थित गरी अगाडि बढाउनका लागि एनआरएन जापानले नेतृत्वदायी भूमिका खेल्दै जापानमा सक्रिय सम्पूर्ण संघसंस्थाबीच छलफल गरी अगाडि बढ्नु आजको आवश्यकता हो ।
जापान बसाइँको झन्डै ११ वर्षको अनुभवमा आफ्नो समय र हैसियतअनुसार सामाजिक कार्यमा समर्पित गर्दैगर्दा सहयोगको लागि एक येन पनि खर्च गर्न नचाहने केही पात्रहरू यसपटक सहयोग उठाउनलाई सक्रिय देखिएको कुरा अत्यन्त सकारात्मक लाग्यो । उहाँहरूलाई राजनीतिक डोरीले तान्यो अथवा जातीय डोरीले नै तान्यो जेले ताने पनि सहयोगी भावनाको जागृत गराएकोमा खुसी लागेको छ ।
यस्ता किसिमका सहयोग सबै संघसंस्था एकत्रित भई अभियानको प्रमुख जिम्मेवारी लिएर अगाडि बढेको अर्थात् सहयोगको प्रकृतिअनुसार नजिक रहेको अभियान सुरु गर्ने संस्थाप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक एकताको सन्देश दिन नसकेकोमा भने दुःख लागेको छ ।
आशा छ, भोलिका दिनहरूमा जापानमा सक्रिय संघसंस्थाले सस्तो लोकप्रियताभन्दा आपसी एकतालाई महत्त्व दिँदै आफ्नो संकुचित मानसिकताबाट केही माथि उठी जापानमा बस्ने नेपालीका लागि मात्र हैन नेपालमा आइपर्ने समस्यामा एकत्रित भई एकताको सन्देश दिन अगाडि बढ्नेछन् ।
अन्त्यमा, सम्पूर्ण सहयोगी मनहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । भीमकुमारी श्रेष्ठका लागि मैले पनि आफूले सकेको सहयोग गरेको छु । यद्यपि, यस्तो खालको सहयोगलाई जातीय, राजनीतिक रंग नदिएर एउटा नेपालीको परिचय दिँदै एकत्रितभै एकताको सन्देशको साथमा गर्न पाए सुनमा सुगन्ध हुने थियो ।

प्रतिक्रिया