एमालेद्वारा सुरक्षा माग

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले आफ्ना नेता कार्यकर्ताको घरमा आक्रमण भएको भन्दै सरकारको जवाफ मागेको छ । संसद्को मंगलबारको बैठक सुरु हुनासाथ विशेष समयमा सांसद रविन्द्र अधिकारीले मधेसी मोर्चाको नाममा आफ्ना नेता सत्यनारायण मण्डलको घरमा आक्रमण भएको बताए ।
‘मधेसमा हिँडडुल गर्न, एमालेको नाममा बोल्न, सभा गर्न, घरमा बस्न नपाइने ?’ यसअघि यस्ता घटना भएको तर दोषीलाई कारवाही नभएको भन्दै उनले भने, ‘यो कस्तो प्रजातन्त्र हो ? यो कस्तो शान्ति सुव्यवस्था हो ?’
मधेसमा एमालेले सभा गर्न थाल्यो, त्यसकारण आक्रमण भयो भन्दा प्रधानमन्त्री, गृहमन्त्री मुसुक्क हाँस्ने गरेको भन्दै उनले भने, ‘मधेसमा आफ्नै घरमा बस्दा आक्रमण भयोभन्दा पनि मुसुक्क हाँस्ने हो भने मुलुकको शान्ति सुव्यवस्था के होला ?’ यस्तो शान्ति सुव्यवस्थाले निर्वाचन सुनिश्चित नगर्ने र मुलुकमा कोही नागरिक पनि सुरक्षित नभएको सन्देश दिने उनले बताए ।
सरकार गैरजिम्मेवार भएको भन्दै उनले देशका विभिन्न स्थानमा भएको घटनाबारे जवाफ माग गरे । सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने भन्दै एमाले सांसदहरू आआफ्नो ठाउँमा उभिएका थिए । तर सभामुखले यसबारे जवाफ दिन सरकारलाई निर्देश गरेपछि एमाले सांसदहरू बसे र सदन अघि बढ्यो ।

प्रतिक्रिया