उद्योगी–व्यवसायीको चुनाव ः गोल्छा भर्सेज प्रधान

kishor-pradhan-and-shekhar-golchha-1
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मंगलबार चुनाव हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने गरी विधान संशोधन भएपछि हुन लागेको उद्योगी व्यवसायीको अधिवेशनमा यसपटकदेखि वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचनको तिक्तताले महासंघ कमजोर भएको निष्कर्ष निकाल्दै बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालमा स्वतः अध्यक्ष बन्ने गरी विधान संशोधन गरिएको थियो । यसले तिक्तता मेट्न त सकेन बरु पहिले अध्यक्षका लागि हुने तामझाम अब वरिष्ठ उपाध्यक्षका लागि हुने भएको हो । आगामी तीन वर्षपछि महासंघको नेतृत्व गर्न शेखर गोल्छा र किशोरकुमार प्रधान वरिष्ठ उपाध्यक्षको उम्मेद्वारीसहित मैदानमा छन् । दुवैजना आ–आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका छन् ।
महासंघका अध्यक्ष पशुपति मुरारकाले सहमतिको प्रयास गरे पनि अहिलेसम्म सार्थक वार्ता भएको छैन । र, सहमतिको कुनै खाका पनि तयार भएको छैन । यस्तोमा मंगलबार निर्वाचन हुने निश्चित प्रायः छ । अहिलेसम्मको आँकलनमा गोल्छा समूहका अगाडि प्रधान समूह कमजोर देखिएको छ । एसोसिएट उपाध्यक्षमा गोल्छा समूहका उम्मेदवार चन्द्रप्रसाद ढकाल निर्विरोध भइसकेका छन् ।
महासंघको निर्वाचनमा एसोसिएटको मतभार ३० प्रतिशत हुन्छ । अहिलेसम्म चुनावी स्वरुप हेर्दा गोल्छाले करिब एक तिहाइ मतले अघि लागिसकेको देखिन्छ । प्रधानले निर्वाचन जित्न अब जिल्ला नगर र वस्तुगत समूहमा ठूलो अन्तरले ‘लिड’ गर्नुपर्ने देखिएको छ । जिल्ला तथा नगरका लागि दुवै तर्फबाटै उपाध्यक्ष उम्मेदवार छन् । गोल्छा समूहबाट दिनेश श्रेष्ठ र प्रधान समूहबाट प्रमोद श्रेष्ठ उपाध्यक्षका उम्मेदवार हुन् । प्रमोद जिल्ला तथा नगरमा लोकप्रिय मानिन्छन् ।
तेस्रो मतभार (२० प्रतिशत) रहेको वस्तुगत समूहमा प्रधान समूह बलियो देखिएको छ । वस्तुगत उपाध्यक्षमा दुई समूहका अलावा एक स्वतन्त्र उम्मेदवार छन् । वस्तुगततर्फ गोल्छा समूहबाट उमेशलाल श्रेष्ठ, प्रधान समूहबाट शंकरप्रसाद पाण्डे र स्वतन्त्र रुपमा अनुप मल्लले उम्मेदवारी दिएका छन् ।
नेपालको ठूला घरानामा पर्ने गोल्छा समूहभित्र सबैभन्दा ठूलो व्यापार भएको बजाज र सामसङको आधिकारिक बिक्रेतामा उनैको होल्ड छ । उद्योग र व्यापारको समस्याबारे उनी जानकार छन् । अर्थतन्त्रबारे जमेर बहस गर्नसक्ने केही व्यवसायीभित्र उनको नाम आउँछ । महासंघको एसोसिएट सदस्य हुँदै उपाध्यक्षमा आएका उनलाई श्रम समिति सभापति भएर श्रम विवादलाई सहमतिमा टुंग्याएको जससमेत जान्छ । युवापुस्ताका व्यवसायीले गोल्छालाई सहयोग गरेका छन् । भाष्करराज राजकर्णिकार समूहबाट एसोसिएट उपाध्यक्षमा उनले सानदार मतसहित जितेका थिए । भाष्कर आफूसहित जिल्ला नगर र वस्तुगत उपाध्यक्ष हारे पनि गोल्छाले एसोसिएटमा जितेका थिए ।
अर्का उम्मेदवार प्रधानले महासंघमा १८ वर्ष बिताएका छन् । विराट फर्मास्युटिकल्सको असफलता हात परेपछि ह्युम पाइप र बिजुलीको पोल बनाउने उद्योग संचालन गर्दै आएका प्रधान पछिल्लो निर्वाचनमा जिल्ला नगर समूहबाट उपाध्यक्ष चुनिएका थिए । त्यसैले अहिलेको चुनावमा पनि जिल्ला नगरमै उनले बढी आशा गरेका छन् । महासंघका बहुमत पूर्वअध्यक्षका प्रिय छन् प्रधान । जिल्लादेखि केन्द्रसम्मका सबै उद्योगी–व्यवसायीको आफूसँग समान पहुँच रहेको उनी बताउँछन् ।

प्रतिक्रिया