‘मानिसहरू यसकारण सत्य सुन्न चाहँदैनन किन कि उनीहरू आफ्नो भ्रम टुटेको हेर्न सक्दैनन्’ । जर्मन दार्शनिक फ्रेडरिक नित्सेको भनाइ आजकल हुबहु नयाँ शक्तीका नेता डाक्टर बाबुरामसँग मेल खाँदै छ । संविधान जारी गर्नासाथ माओवादी नेता प्रचण्डसँगको २५ वर्षे राजनीतिक संबन्धलाई तिलाञ्जली दिँदै नयाँ शक्ती नामको पार्टी बनाउन देश दौडाहामा निस्किए । झुट यसकारण बिक्छ कि सत्यलाई किन्ने तागत र हिम्मत सबैसँग हुँदैन भन्ने मूलमन्त्र लिएर आफ्ना केही पुराना मित्रहरूका साथ युद्ध मैदानमा निस्किएका डाक्टर बाबुराम नजानिँदो ढंगले राजनीतिक चक्रब्यूहमा फसेको अनुभव गर्दै छन् ।
भारतको साथ लिने र ओलीको विरोध गर्दै नेपाली राजनीतिमा सिक्का जमाउने उनको खेल सुरु नहुँदै समाप्ती तिर उन्मुख भइरहँदा आफ्नो राजनीतिक जीवनको निम्ति चार धामको खोजीमा निस्किएका छन् । पितृहरूको उद्धारको निम्ति एकपटक पुग्नै पर्ने स्थानहरूको निम्ति हिन्दूधर्मले स्वीकार गरेको चार धाम यात्राको आइडोलोजी आफ्नै उद्धारको खातिर उपेन्द्र यादवलाई चार धाम मान्दै पुज्नुपर्ने अवस्थामा पुगेका बाबुरामको वर्तमान बढो टीठलाग्दो देखिँदै छ ।
सम्वृद्धी हाम्रै पालामा सम्भव छ भन्ने डाक्टर बाबुराम कै सम्वृद्धी धरापमा पर्नुले नयाँ शक्ती र संघीय समाजवादी पार्टी एकीकरणको बाध्यात्मक अवस्था कहीँ कतै बुनिएको केही दिन भित्र प्रष्ट भइसक्नेछ । पूरा देश नै विकासको नारामा झुमिरहेको बेला डाक्टर बाबुरामको बिकासे नारा किन नेपाली जनमानसमा प्रभावकारी बन्न सकेन ? किन उनी नेपाली समाजको आवश्यक शक्ती बन्न सकेनन् ? आखिर चण्डीगढ र जेएनयुको रोडम्यापले थिच्दै उपेन्द्र यादवको शरणमा पुग्ने उनको दिव्यज्ञानलाई रिमोटको करामत किन देख्छन् ? नेपाली जनताहरू । बाबुराम चार धाम खोज्दै किन उपेन्द्रको शरणमा पुगे ? जान्न र बुझ्न उनको विगत र वर्तमान एकपटक खोजी गरौँ ।
खोप्लाङदेखि जेएनयुसम्म ः
गजानन्द भट्टराईका सन्तान हुन् बाबुराम भट्टराईको खलक । गोरखा बेलबास, खोप्लाङ निवासी भोजप्रसाद भट्टराई र धर्मकुमारी भट्टराईको दोस्रो सन्तानको रूपमा ४ असार २०११ मा जन्मिएका बाबुराम एक मेधावी विद्यार्थी थिए । एसएलसी र आइएससीमा सर्वप्रथम हुँदै कोलम्बो प्लानमा इन्जिनियरिङ पढ्न भारतको चण्डीगढ पुगे । ०३४ सालमा ग्रयाजुयट गरेपछि दिल्लीको जेएनयुबाट बाँकी अध्ययन पूरा गरे । द नेचर अफ अन्डरडेभलपमेन्ट एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गरेका भट्टराईलाई भारतबाट विद्यावारिधि गर्न भारतका लागि तत्कालीन नेपाली राजदूत बेदानन्द झाको ठूलो योगदान थियो । झा तिनै व्यक्ती हुन् जसले सन १९५१ मा नेपाली कांग्रेसबाट अलग हुँदै ‘नेपाल तराई कांग्रेस’ नामको दल खोलेका थिए । उनको लक्ष्य दक्षिणको इसारामा तराईको स्वायत्तता, हिन्दी भाषा र संघीयता स्थापना गर्नु थियो ।
राजनीतिमा प्रवेश ः
०३३ सालमा भारतमा खुलेको नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठनलाई बाबुरामले ०३४ सालमा भारतव्यापी बनाउने काम गरे । भारत अध्ययनको दौरान कुनै पनि राजनीतिक पार्टीको सदस्य नदेखिएका बाबुराम ०३७ सालमा मोहनविक्रम सिंहमार्फत पार्टी सदस्यता लिन राजी भए । ०४२ सालमा काठमाडांै फर्के लगत्तै मसालको काठमाडांै जिल्ला सेक्रेटरी र बागमती ब्युरो सदस्य भएर काम सुरु गरे । गणतन्त्रप्रति झुकाव राख्ने बाबुराम ०४६ सालमा मसाल, मशाल, सर्वहारा श्रमिक संगठन (रूपलाल विश्वकर्मा), शम्भुराम समूह, कृष्णदास समूहसँग मिल्दै पञ्चायतको विरुद्ध संयुक्त राष्ट्रिय जनआन्दोलननामक मोर्चा बनाउँदै आन्दोलनमा सहभागी भए । ०४७ सालमा मोहनबिक्रम सिंहसँग विद्रोह गर्दै ‘फोरम फर युनिटी’ बनाए । केही समयपश्चात् एकता केन्द्रसँग आबद्ध हुनपुगे । जुन पछि गएर नेकपा माओवादी बन्दै ध्वंसको राजनीतिमार्फत राजनीतिमा स्थापित हुन पुग्यो । संविधान निर्माणसँगै एमाओवादी पार्टीलाई थोत्रो र भत्केको घरको संज्ञा दिँदै नयाँ शक्ती नामको पार्टी निर्माण गर्दै राजनीतिक स्टन्टबाजी गर्दै छन् ।
बाबुरामको दिल्ली कनेक्सन ः
जेएनयु अध्ययनको दौरान भेटेरान भारतीय प्रोफेसरमार्फत भारतीय सत्तासँग हिमचिम बढाउने मौका पाएका बाबुराम अन्ततः माओवादी ध्वंसको समयमा दिल्लीको आशीर्वाद लिन सफल भएको खुलासा उनकै गुरु एसडी मुनीले छताछुल्ल बनाइसकेका छन् । माओवादी ध्वंसकै समयमा माओवादी सुप्रिमो प्रचण्डमार्फत् कारबाही भोग्दै श्रम शिविर पु¥याइएका बाबुराम भारतको दबाबको कारण बच्न सफल भएको मान्न तयार छन् ।
तात्कालीन एमाओवादी नेता प्रचण्डले ललितपुरको खन्ना गार्मेन्टमा बाबुरामलाई भारतीय कारिन्दा बताइरहँदा डाक्टर बाबुराम धोबीघाट काण्ड रच्दै भारतको निगाहमा नेपालको ३५औँ प्रधानमन्त्रीसम्म बन्न सफल भएकोले उनको दिल्ली कनेक्सन मजबुत रहेको सबैले स्वीकार गर्ने गर्छन् । भारतीय सत्ताका विश्वास प्राप्त बाबुराम प्रधानमन्त्रीको रूपमा भारतलाई लगाउन सक्ने गुन केवल बिप्पा संझौतामा सीमित हुँदा संविधान निर्माणमार्फत् भारतको सेवागर्न असफल हुनुले नयाँ भारतीय प्रयोगशालाको मोहरा बन्दै नयाँ शक्तीको जन्म गर्न बाध्य भएका हुन् भन्ने आरोप उनकै पार्टीबाट निष्कासित निर्मल भट्टाराईमार्फत् छापामा आउनुलाई बाबुरामको सहयोगी करिष्माले पुष्टी गरिदिएकी छन् ।
तनावमा बाबुराम ः
ठूलो तामझाम र हल्लीखल्लीबीच पूर्वप्रशासक र पूर्वएमाओबादी पार्टीका आफ्ना भक्तहरू लिएर निर्माण गरिएको नयाँ शक्ती पार्टी केवल मिडियाबाजीमा सीमित भएको महसुस बाबुरामले गर्न पुगेका छन् । राम्रो (टेलिभिजन) वक्ताको छवी बनाएका मुमाराम खनालको पार्टी त्यागलाई स्वभाविक रूपले लिएका बाबुराम रामेश्वर खनालको राजनीतिक सन्यासपछि पार्टीमा आउने पहिरोको संकेत निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम दाहाल, मोहन बमलाई पार्टी कार्बाही गर्दै रोक्न चाहान्छन् ।
डाक्टर बाबुरामको निरंकुश शैली र अपारदर्शी भारतीय कनेक्सनप्रति उठेका बाँकी औँलाहरू बेद लिम्बू (भर्खरै नयाँ शक्ती त्यागेका), मुनिन्द्र बस्नेत, अशोक ढुंगेल, सहदेव न्यौपाने र युबी घिमिरेलाई रोकी राख्न दिनप्रतिदिन कठिन हुँदै गर्दा उनी तनावमा डुबेका छन् । प्रचण्ड सरकारले स्थानीय चुनावको घोषणासँगै उनको मुखबाट निस्किएको सर्वपक्षीय सरकार, संविधान संशोधनविना चुनाव असम्भव र चुनाब चिन्ह नपाए निर्वाचन नै हुन नदिने बहुलट्ठी भाषणले पार्टीको आन्तरिक क्षयीकरण हुँदै गर्दा थुप्रै नेता तथा कार्यकर्ताको धमाधम पार्टी त्यागले अकल्पनीय तनावबाट गुज्रदैछन् ।
उपेन्द्र यादवसँग एकीकरणको चर्चा ः
सधँै प्रत्यक्ष कार्यकारीको वकालत गर्ने डाक्टर बाबुराम आउँदो नयाँ सालसँगै उपेन्द्र यादवको सेरेमोनियल अध्यक्ष बन्दै पार्टी एकीकरण गर्ने महाअभियानमा लाग्नुले उनको हैसियत के रहेछ भन्ने आममानिसले जान्नेछन । स्वाधिनता, समाजवाद, समतामूलक समावेशी लोकतन्त्र, सदाचार र सम्बृद्धी (पाँच ‘स’) को बिचल्ली नहोस् भन्नबाहेक केही गर्न नसक्ने स्थितिमा कार्यकर्ता पुग्नुले भविष्यमा कुन तागतले के के गराउने हो ? हेर्न आतुर राजनीतिको चेपुवामा बाबुराम कहाँ पुग्ने हुन् केहीदिन कुर्नुपर्नेछ ।
संघीयता भनेको नयाँ घर बनाउनु होइन । भएकै घरभित्र कोठा बनाउनु हो भन्ने बाबुरामको सिद्धान्तमा मूल ढोकाको महत्व र जिकिर कहीँ कतै उल्लेख नगरिनुको असली मकसद पार्टी एकतामार्फत् खुल्नेछ भन्न सकिन्छ । कुनै जमानाको मसालका कार्यकर्ता बाबुराम आज पनि यादवको चुनाबचिन्ह मसाल लिन पाउनुलाई ठूलो उपलब्धी देख्दै गर्दा उनले पढेको माक्र्सवाद आज रछान पुगेको मान्न सकिन्छ ।
ध्वंस र हिंसामार्फत् आफ्नो कथित चाहना पूरा गर्ने उनको माक्र्सवादी शैली पछिल्लो समय गुलामी, धम्की, घुर्कीमा बदलिएको देखिन्थ्यो । जनतामा बिकासे भ्रम छर्ने र देशलाई अनावश्यक एजेन्डामा धकेल्दै आफ्नो औचित्य अझै नसकिएको प्रमाणित गर्ने काइदा नबिक्ने स्थितिमा पुग्नुले उपेन्द्र यादवको शरणमा पुग्न बाध्य भएका हुन् भन्न सकिन्छ ।
माओवादी ध्वंसकालीन रत्नाकरहरू असीमित आर्थिक र भौतिक क्षति गर्दै नेपाली जनतासँग माफीसमेत नमागीकन बाल्मीकि बन्ने काइदा नबिक्दा डाक्टर बाबुराम अकल्पनीय क्षतिबाट बच्ने उपाय खोज्दै जाँदा उपेन्द्र यादब ‘डुब्नेको निम्ति सिन्का सहारा’ भनेजस्तो भइदिएका छन् ।
डाक्टर बाबुरामको भविष्य र चार धाम ः
डाक्टर बाबुराम एक महत्वकांक्षी, तीव्र संवेदनशील, हठधर्मी, प्रसिद्ध हुन जतिसुकै गिर्न तयार, सेलीब्रेटी जीवनशैलीका भोका मानिस हुन् । बुर्जुवा शिक्षाको माध्यमबाट समाजबादी सत्तामा डेरा जमाउने उनको प्रयोग आंशिकरूपमा मात्र सफल हुनाले भित्रभित्रै आन्दोलित थिए । सधैँ सेलेब्रेटी बन्ने चाहनामा आफ्नै सहकर्मी वाधक हुँदैगर्दा प्राध्यापक डाक्टर सुरेन्द्र केसीले देखेको उनको चार धाम जेएनयुको प्रोफेसर हुनुमा नै थियो । अस्थायी रूपमा उपेन्द्र यादवलाई चार धाम मान्न तयार बाबुरामको भविष्य एउटा नीति कथासँग मिल्न जाँदा कथा पस्कने अनुमति माग्दछु ।
पानीमा बस्ने भ्यागुता र दुलोमा बस्ने मुसाको दोस्ती यति प्रगाढ भयो कि उनीहरू एकआपसविना आफ्नो अस्तित्व नभएको महसुस गर्न पुगे । फलस्वरूप एकदिन भ्यागुता र मुसाले एउटा डोरी दुबैको एक–एक खुट्टामा बाध्न राजी भए । आफ्ना आफ्ना स्वार्थले जेलिएका भ्यागुता र मुसाको दोस्तीले निम्त्याएको सम्बन्ध डोरीको सहारामा अगाडि बढाउन दुबैको बाध्यता बनेको तब खुल्यो जब भ्यागुताले पानीमा हामफाल्यो ।
खुट्टामा बाँधिएको डोरीले लतारिँदै मुसो पनि पानीमा डुब्न पुग्यो । बडो सकस र कठिनाई पार गर्दै पाखा लागेको मुसो हेर्दै भ्यागुता खुसी हुँदै गर्दा एउटा ठूलो चिलले मुसालाई टिप्दै आकाशमा उडदा भ्यागुता पनि आकाशमा पुग्न बाध्य भयो । चिलको सिकार बन्दै मुसापछि प्राण त्याग्ने भ्यागुताको कहानी उपेन्द्र यादवलाई चार धाम मान्न राजी हुँदा बाबुराम कै निम्ति बनेको कथा मान्नेहरू नयाँ शक्ती पार्टीभित्र प्रशस्त भेटिन्छन् । नीति कथाका भ्यागुता र मुसाको हालतमा पुगेका डाक्टर बाबुराम र उपेन्द्र यादबको लक्ष्यको श्रोत र गुरु (दक्षिण र बेदानन्द झा) एकै रहेको सबैले बुझ्न पाउँदै गर्दा डाक्टर बाबुराम नामको प्रयोगशाला बन्द गरिने तयारी हो भन्न करै लाग्दछ । पुष्पलालको पूर्व चेला उपेन्द्र र मोहनबिक्रम सिंहका पूर्व चेला बाबुरामको माक्र्सबाद एउटै रहेको खुल्दै गर्दा बाबुरामसँगै चार धाम जानेहरूको संख्या दिनप्रतिदिन घट्दै छ । डाक्टर बाबुरामको बाँकी जीवन यादव आश्रममा बस्दै ‘गुरु बेदानन्द झा र म’ नामक आत्मकथा लेख्नुमा हुनेछ भन्न सकिन्छ ।
प्रतिक्रिया