स्तरहीन राजनीतिले बिगारेको देश

राज्य सञ्चालनका लागि बाहुन–क्षेत्री, व्यापारका लागि वैश्य र अरू सबै कर्मका लागि शुद्रको प्रयोग हुने वर्ण व्यवस्था भएको समाजमा सामन्तहरूको बोलवाला सधैँ रहिआएको छ । राजतन्त्रात्मक प्रणाली सामन्तहरूको आश्रय थलो भएकोले यसमा अनेक खाले सामन्तहरू नै जन्मिन्छन् । विनाकाम अर्काको श्रमशक्तिमाथि निर्भर भई अर्थलाभ गर्ने स्वभावको विकास गराउनमा तल्लीन रहेको राजतन्त्रको भूमिका इतिहासको पानामा सुरक्षित छ । राजा भनेको जुनीजुनीको सत्कर्मबाट प्राप्त देवत्व स्थान हो । यो स्थान सहजै प्राप्त गर्न सकिन्न । भगवान्का प्रतिनिधिको रूपमा रहेको राजा यो स्थानमा पुगेपछि उसको आदर, सम्मान र पूजा गर्नु जनताको कर्तव्य हो आदि राजतन्त्रात्मक महिमाले इतिहास भरिपूर्ण छ । नेपालमा राजतन्त्रात्मक व्यवस्थाको लामो इतिहास छ । मैले जनताप्रति उत्तरदायी रहने सत्ययुगको राजतन्त्रको कुरा गरिरहेको छैन । नेपालको भौगोलिक अवस्थाअनुसारका अविकसित, पछौटेपन, सामुदायिक हुँदै एउटा ठूलो भूखण्डको राजालाई पाउँछौँ । अविकसित अवस्थामा शासन प्रणाली पनि आजको जस्तो विकसित नरहेकोले प्रणालीको बर्बर नमुना हामी शाहवंशीय कालसम्म पाउँछौँ ।
किरातकाल, लिच्छवीकाल, मल्लकाल, शाहवंश र राणाकालसम्मको शासन प्रणालीको अभ्यासमा जन्मिएका सामन्तहरूको एउटा ठूलो र सशक्त शासकवर्ग खडा भयो । शासनसत्तामा वंश परिवर्तन देखिए पनि राज्यसत्तामा तात्विक परिवर्तन केही भएन । समयानुसार शासनको विधिमा केही फरक आउनु स्वाभाविक थियो तर जनअपेक्षा पूरा गर्ने शासनको कल्पनासम्म थिएन । जनताको रगत चुसेर खाने सामन्ती शासकको स्वभाव भएकोले किरातकालमा लिच्छवी, लिच्छवीकालमा मल्ल, मल्लकालमा राणा र त्यसपछि शाहवंशले राज्यसत्ताको निरन्तर अभ्यास गरेको प्रतिफल नै सत्ता प्राप्ति हो ।
राज्यसत्ताको अभ्यासमा खसवर्गीय परम्पराको थालनी शाहवंशकालदेखि घनीभूत रूपमा देखिन्छ । हुन त मल्लकालमा पनि यदाकदा खसको उपस्थिति त छ तर शाहवंशकालदेखिको अभ्यास गणनायोग्य छ । पृथ्वीनारायण शाहले नेपाल अधिराज्यको स्थापना गरेपछि खसहरूले अतुलनीय योगदान गरेवापत राज्यसत्ता खसलाई सुम्पेका थिए । यसको प्रमाण उनको महान्वाणीमा स्पष्ट देख्न सकिन्छ– ‘बाहुनको सवार भन्याको बयल हो, पातक लाग्छ । ठकुरीको सवार भन्याको सिंह हो, पछाडि दगा हुन्छ । मग्रको सवार भन्याको टागन घोडा हो, ढिलो हुन्छ । खसको सवार भन्याको ताजि तुर्की घोडा हो, खसको सवार ग¥या चाँडो होला…’
पृथ्वीनारायण शाहको अवसानपछि भीमसेन थापाले खसवर्गलाई दुई श्रेणीमा विभाजन गरे– गोर्खाली र अगोर्खाली । राज्यप्राप्तिको अग्रपंक्तिमा रहने सबै गोर्खाली र पछिल्लो पंक्तिमा रहने त्यही वंशका खस अगोर्खाली कहलाइए । भीमसेन थापाले सेनालाई विशुद्ध गोर्खाली स्वरूपको राख्न अरू सबैलाई मासिदिए । यहाँबाट खसवर्गीय गोर्खाली सामन्तहरूको वंश परम्परा सुरू भयो । राज्यसत्ताको अभ्यास गरेका तथा सत्ताभन्दा किनारमा रहनुपरेका अगोर्खाली खसहरू असन्तुष्ट थिए । गोर्खालीहरूबीच वैमनस्यता उत्पन्न हुँदा सत्तापक्षले अगोर्खालीहरूलाई प्रयोग गरी अनेक ताण्डव मच्चाएको इतिहास साक्षी छ ।
एउटै वर्गको अन्तर्विरोधले अनेक हत्याकाण्ड मच्चिएका छन् । ती सबै हत्याकाण्ड जनअपेक्षा पूरा गर्नका लागि होइन, सत्ता प्राप्तिका लागि थियो । असन्तुष्ट अगोर्खाली पक्ष सत्तामा सामेल हुन संघर्षको रूपमा अनेक प्रयास गर्दै अगाडि बढ्दै गए । तर, तिनले गोर्खालीको निरंकुशतालाई ढाल्न सकेनन् । असन्तुष्ट पक्ष त्यसपछि राजनीतिक दलका रूपमा संगठित हुन थाले । पार्टीहरू खुले– प्रजा परिषद्, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी आदि । यिनीहरू सामन्तवर्गका उदारवादी विचारक थिए । जनताको सहयोग नलिई गोर्खालीलाई परास्त गर्न सकिन्न भनेर यिनले सर्वहारा राज्यको स्थापना गर्न तथा कोही समानताको आधारमा समाजवाद स्थापना गर्ने फरकफरक विचार लिएर जनतालाई संगठित गर्न थाले । निरंकुशताका विरूद्धमा उभिएका नेपाली कांग्रेस र नेकपा सुरूका दिनमा पारस्परिक रूपमा एक–अर्काका शत्रु नै थिए । असन्तुष्ट पक्षमा पारस्परिक मिल्न नसक्ने दुई श्रेणी रहेसम्म राज्यसत्तामा आसीन गोर्खाली शासकलाई केही बिगार्न सकिँदैन भन्ने यथार्थलाई बुभ्mन कांग्रेस र कम्युनिस्ट पार्टीलाई दशकौँ लाग्यो । अनुदार शासन ढालेपछि उदारवादी विचारको कब्जामा राज्यसत्ताको सम्पूर्ण बागडोर आएपछि खसवर्गीय उदारवादी शासकहरूले सधैँ दुःख दिने राजतन्त्रलाई वैधानिक रूपबाट समाप्त पारेपछि कम्युनिस्ट र कांग्रेस निर्विकल्प शक्तिका रूपमा स्थापित भए । अर्काे शब्दमा भन्दा यिनीहरू देवत्वको स्थानमा अर्काे ‘प्रभु’ का रूपमा आसीन भए । सत्तामा जाने कम्युनिस्ट–कांग्र्रेसले खासगरी जनताका अपेक्षालाई बिर्से । मधेसी जनतालाई नेपाली नागरिकको रूपमा स्वीकार गर्न नचाहने वर्गीय चारित्रिक विशेषताले यिनलाई कता–कता सत्ताको पाश्र्वमा रहेको गोर्खाली शक्तिले आप्mनो प्रभावमा तान्न थाल्यो ।
अहिले एमाले अध्यक्ष त्यही गोर्खाली राष्ट्रवादका नाइके बनेका छन् र जंगबहादुरजस्तै मधेसमा नरसंहार गराउँदै हिँडिरहेका छन् । बलियो संगठन र राज्यसत्तामा सशक्त उपस्थितिले विकसित भएको महत्वाकांक्षाले यिनका उदार विचारलाई बिस्तारै समाप्त पार्दै छ । उदार विचार पनि गोर्खाली राज्यसत्ताको अस्तित्वसँग जोडिन गएपछि वर्गीय राज्यसत्ताको चरित्र उदांगिएको छ । सामन्ती निरंकुश शासन प्रणालीको लुटतन्त्रमा जन्मिएको राज्यसत्ताले विरासतमा पाएको एकल तथा सामन्ती चरित्र अनेक आन्दोलनका झन्झावात खेप्दै आप्mनो परम्परागत स्वरूपलाई कायमै राखेको छ । आन्दोलनका ठुल्ठूला आँधीबेहरीमा राणाहरूको अन्त्य, राजतन्त्रको समाप्ति, लोकतन्त्रको पुनस्र्थापना भएको देखिए पनि असलमा जनअपेक्षा पूरा गर्ने शासन व्यवस्था आएको छैन । तीन श्रेणीमा विभाजित सामन्तहरूको सत्ताप्राप्तिको पारस्परिक संघर्षलाई जनसंघर्ष भनियो । यस क्रममा राजा त्रिभुवन र राजा वीरेन्द्रलाई पनि प्रजातन्त्रमा विश्वास गर्ने राजाका रूपमा चित्रण गरियो ।
नेपाली समाजमा प्रस्फुटित भइरहेको सामन्ती शोषण र उत्पीडनविरूद्ध बीजाकुंरले प्रजातन्त्रका अभिनय गर्नेहरूलाई गलत सावित गरी इतिहासको पानामा थन्कायो । एकात्मक तथा केन्द्रिकृत वर्गीय राज्यसत्ताले नेपाली समाजमा आइरहेको परिवर्तनको भेललाई रोक्न अनेक मुखौटा लगाई जनतालाई झुक्याउने प्रयास गर्दै रह्यो । यी वर्गीय राज्यसत्ताले हरेक आन्दोलनमा मधेसलाई उपयोग गरे पनि उसको अधिकारप्रति कोही संवेदनशील भएन । अन्ततोगत्वा मधेसलाई आप्mनो अधिकारका लागि राज्यको विरूद्ध उभिन बाध्य हुनु प¥यो । मधेसको विश्वास छलेको एमाले, कांग्रेस र माओवादी केन्द्र अहिले जनमुखी स्वरूप हटाएर नैतिकहीन, मर्यादाहीन र छलकपटमा आधारित राजनीतिमा लागेर एक–अर्कालाई पछार्ने तल्लोस्तरको राजनीतिमा लागेका छन् ।
एक दशकदेखि शीर्षस्थानमा बसेका कांग्रेस, एमाले र माओवादी नेपालको द्वन्द्व व्यस्थापनमा कसैको सहयोग नचाहिने भनेर लागेका छन् । बरू वर्गीय निरंकुश शासकीय प्रवृत्ति देखाएर द्वन्द्व भड्काउने दिशामा अग्रसर एमालेलाई साथ दिएर अरूहरू अगाडि बढिरहेका छन् । मधेसलाई राज्यका विरूद्ध उभ्याएर, पेलेर जसरी पनि चुनाव गराउने शीर्ष दलहरूको आपराधिक मानसिकता ध्वंश गर्न जति खप्पिस छ, देशको आर्थिक विपन्नता, परास्रित राष्ट्रिय संकट, समुदायबीच बढ्दै गइरहेको वैमनस्यता, जनविश्वासको संकट, राजनीतिक भ्रष्टीकरण, विकास र उत्पादनशीलताको संकट हटाउन उत्तिकै कमजोर, लाचार र निकम्मा देखिन्छ । आप्mनो अस्तित्व र धनलाभ प्राप्त गर्न स्वाभिमान त्यागेर भए पनि शक्तिकेन्द्रको गुलामी गर्न नहिच्किचाउने दलहरूको अब धरातलबाटै आलोचना सुरू भएको छ । भ्रष्टतन्त्रमा चुर्लुम्म डुबेको देशमा ऊर्जामन्त्री जनार्दन शर्मा र कुलमान घिसिङको दृढ इच्छाशक्तिले उपत्यकाबाट लोडसेडिङ हटाएर एक्लै पनि सुधार गर्न सकिने उदाहरण दिएका छन् । लोडसेडिङ हटेपछि मात्र थाहा भयो, भ्रष्टाचारले विद्युत् प्राधिकरणलाई कसरी कब्जा गरेको थियो । एक्लैले गर्ने संसारमा धेरै उदाहरण छन् । सुधारका लागि दृढ इच्छाशक्ति चाहियो । तर, सत्ता कब्जा गरेपछि धनवर्षा सुविधामा रमाउने दलहरूले सुधारको क्षेत्रमा जाँदा गोर्खाली राष्ट्रियताको क्षयीकरण हुने ठानेर यथास्थितिलाई स्वीकार गरेका छन् । अहिले मधेस राज्यसत्ताका विरूद्धमा देखिएपछि अस्तित्वको खतरा देखाएर खसवर्गीय संगठनलाई मजबुत पार्ने रणनीति लिएको एमाले राष्ट्रघातमा लागेको आमधारणा रहे पनि यसको विरूद्धमा बढी जिम्मेवारी बोकेका माओवादी केन्द्रलगायत कांग्रेसले अविलम्ब पहल गर्नुपर्ने स्थिति आएको छ ।
देश बिगार्ने मधेसी होइन, देशको राष्ट्रिय समस्या हो । यसलाई बुभ्mन नसक्ने गोर्खाली प्रवृत्ति हो । सामाजिक सद्भाव भड्काउने असामाजिक तत्व हो । धरातलीय यथार्थलाई बुझेर बुझ पचाउने राज्य सञ्चालकको अदूरदर्शी चिन्तन हो । पैसा नपाए विरोध गर्ने, पाए चुप लाग्ने स्तरहीन राजनीतिले देश बिगारेको छ । यस्ता असामाजिक तत्वलाई नियन्त्रण गर्न सकिएन भने देशमा कहिल्यै पनि अमनचैनको वातावरण आउँदैन । राजनीतिको भ्रष्टीकरणबाट देश सुधारको कल्पना गर्नु बेकार हो । वर्गीय रूढिवादी संकीर्ण चिन्तन, सामन्ती गोर्खाली चरित्र, पूर्वाग्रही व्यवहार, सहअस्तित्व स्वीकार्ने भावनाको अभाव, असमान दृष्टिकोण आदिले न देशलाई उँभो लाग्न दिन्छ, न लोकतन्त्रको स्थापना हुन दिन्छ । देश विकासका लागि यी शत्रुहरूलाई परास्त गर्न जरूरी छ ।

प्रतिक्रिया