हवाईयात्रामा पर्यटकलाई २५ प्रतिशत छुट

 
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले सो छुटको व्यवस्था गरेको हो ।
यहाँ अधिकांश पर्यटक काठमाडौंबाट आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै भएकाले विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौं नै बन्ने गर्छ । दोस्रो गन्तव्य पोखरा जानका लागि सडक यातायात पनि सहज छ । तर, चितवन आउँदा नारायणगढ–मुग्लिन सडकखण्ड पार गर्नुपर्ने हुन्छ । स्तरोन्नतिको काम भइरहेको उक्त सडक दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिन्छ भने समय समयमा खस्ने पहिरो, ढुंगा र हिलोका कारण पर्यटक घन्टौँ सवारी जाममा पर्छन् ।
‘अहिले सवारी जामकै कारण पर्यटकको रोजाइ चितवन नभई पोखरा हुने गरेको छ,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने । भूकम्पअघिका वर्षमा ६० प्रतिशत होटल बुकिङ हुने भए पनि अहिले ४० प्रतिशत मात्रै बुकिङ भएको उनको भनाइ छ ।
सडककै कारण २० प्रतिशत पर्यटकमा कमी आएका कारण संघले निर्णय गरेर हवाईमार्ग प्रयोग गर्ने पर्यटकलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको घिमिरेले बताए । होटल सञ्चालकले तोकेको महसुलमा बोर्डिङ पासको अर्धकट्टी पेस गर्ने पर्यटकलाई २५ प्रतिशत छुट दिन सबै होटललाई परिपत्र गरिएको छ ।
यहाँका होटलमा आठ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । एक सय ५० वटा पर्यटकीय होटल जिल्लामा रहेका छन् । सबैभन्दा बढी सौराहामा छन् भने निकुञ्ज आसपासका क्षेत्र पटिहानी, जगतपुर, मेघौलीमा पछिल्लो समय पर्यटकीय होटल थपिँदै गएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् । क्षेत्रीय होटल संघले हवाई भाडामासमेत छुट दिन विमान कम्पनीलाई आग्रह गरेको छ । हाल काठमाडौं–भरतपुर एकतर्फी उडानको नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ र विदेशीका लागि १ सय ९ डलर हवाई भाडा तोकिएको छ ।

प्रतिक्रिया