बौद्ध धर्म उत्थानको कारण

buddha
अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आपूmले बौद्ध धर्म ग्रहण गरेपछि उनले आफ्ना सबै छोराछोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई राजकीय सम्मान प्रदान गर्ने कार्य गरे । यसबाट बुद्ध धर्मको उत्थान हुन गयो ।
परवर्ती कालमा हिन्दू पण्डितहरूलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरूप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरूको योगदान रहेको छ । वैदिककालमा विषेश गरी दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ (ब्राह्मणवाद र श्रमणवाद) ब्राह्मणहरू वेदमा विश्वास गर्थे भने श्रमणहरू अवैदिक थिए । श्रमणहरू आस्तिक र नास्तिक दुवै थिए । श्रमणहरू ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरू गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र, जप, दान, होम आदि अनुष्ठान गर्थे । होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधिपूर्वक भएकोले यसलाई हिंसा मानिँदैन थियो । पुरोहितहरू समाजमा उच्च वर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो ।
ब्राह्मणहरू बिस्तारै सम्पत्ति र विलासी जीवनको मोहमा फस्दै गए । धर्मको डर, त्रास देखाएर मानिसबाट अनियोचित दान माग्थे । मानिस सरल र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनेको यहि तथ्यबाट गौतम बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए । समाजमा हिंसाविरोधी मत बलियो देखिन थाल्यो, होमादिको सार्थकतामाथि प्रश्न उठाउन थालियो, होमादिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो ।
यसरी बिस्तारै मानिसहरू कर्मकाण्डभन्दा विभिन्न दार्शनिक प्रश्नमा विचार विमर्श गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो । बुद्धले आफ्ना शिक्षालाई धम्म–विनय भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाइएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दुःखमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका दुई हजार गरी ८४ हजार सूत्र संग्रहित छ्न् ।
बुद्धले दुःख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिँदैनथे । उनी भन्दथे, ‘भिक्षुहरूलाई म दुई कुरा मात्र सिकाउँछु । दुःख र दुःखमुक्तिको उपाय ।’ बुद्धको प्रयोगात्मक शिक्षालाई तीन किसिमले वर्गीकरण गर्ने चलन छ– शील, समधि र प्रज्ञा ।
शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःखमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो । शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ । चार आर्यसत्यहरू यस प्रकार छन् ः–
१. दुःख, सत्य दुःख छ भन्ने कुरा र यसको अवस्थाको बोध
२. दुःखको कारण सत्य, दुःखको कारण आसक्ति र अन्तत ःअविद्या हो भन्ने बोध
३. दुःखको निवारण सत्य, दुःखको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
४. दुःखको निवारणको मार्ग सत्य, दुःखको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना । आर्य अष्टांगिक मार्गलाई शील, समाधि र प्रज्ञाको रूपमा पनि वर्गीकरण गर्ने गरिन्छ ।

प्रतिक्रिया