जगतको सृष्टि बारे थारू संस्कृतिको कथा

 

प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टिसम्बन्धी विभिन्न क्षेत्रहरूको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधारचाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यति ठूलो मतैक्यता छैन । यहाँ भने थारू संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ । एकसमय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरञ्जन ठाकुर नाम गरेका सत्पुरुष र दृष्टिविहीन दम्पत्तिबाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । दृष्टिविहीन दम्पत्तिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गदर्थे । पतिव्रता र पत्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अरूथोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरञ्जन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले दृष्टिविहीन दम्पत्तिलाई देखे । अब भने उनको दिमागमा एक किसिमको बुद्धि आयो ।
उनी दम्पत्तिदेखि पूर्व दिशामा गई ‘टुबटुब’ भनेर आवाज निकाल्न थाले । त्यो आवाजका बारेमा जसले वर्णन गर्छ त्यसले शक्तिहीन भई मर्नुपथ्र्याे । घरिघरि ‘टुबटुब’ आवाज आइरहेकाले पत्नीले के को आवाज हो, कसले निकालिरहेको छ भनी आफ्ना दृष्टिविहीन पतिलाई सोधिन् । पतिले त्यसका बारेमा बुझ्ने र बुझाउने काम गर्नुहुन्न भन्ने जवाफ फर्काए । पत्नीले बढो जिद्दी गरिरहिन् । पतिचाहिँ ‘नजाने गाउँको बाटै नसोध’ भनी पन्छिँदै थिए । आखिरमा त्यो आवाजको बारेमा खुलस्त नबताएमा पत्नीले आत्महत्या गर्ने धम्की दिइन् । पत्नीको यस्तो भनेपछि पतिले त्यस्तो नसोच, यस कुराले हाम्रो अनिष्टबाहेक अर्काे फल हामी केही पाउँदैनौँ भनेर सम्झाए । पतिको कुराको वास्तै नगरी पत्नी मर्न तयार भइन् । पत्नीको हठदेखि केही नलागेर ‘हेरेर मर्नुभन्दा छेरेरै मर्नु निको’ ठानी पतिले सबै कुरा भन्न राजी भए । उनले भने, ‘हेर, हाम्रो बिछोडको घडी आइपुगेछ । यी सम्पूर्ण कुरा बुझिसकेपछि हामी अलगअलग हुन्छौँ र हाम्रो प्राण पनि धरापमा पर्छ । हाम्रो तागत हराउँदै जान्छ र हामी मारिन पनि सक्छौँ ।’ यत्ति कुरा सुन्दा पनि पत्नीको अडान कायमै भयो । पतिले अगाडिका कुरा भन्नै पर्ने भयो । उनले भने, ‘लौ सुन, यस जलमग्न ठाउँमा हामीवाहेक एक सत्परुष निरञ्जन ठाकुर नाम गरेका प्राणी छन् । उनैले हामीलाई देखी संसारको सृष्टि गर्ने इरादाले यो आवाज निकालेका हुन् । अहिले आवाज निस्केको दिशालाई पूर्व भनिन्छ ।’ अब पश्चिम दिशामा ‘टुबटुब’ भनेर आवाज निस्कन थाल्यो । त्यो आवाज निस्केको दिशालाई पश्चिम दिशा भनिन्छ भनेर पति बताउँदै गए । यही रीतिले उत्तर र दक्षिण दिशाबाट पनि आवाज आयो र पतिले नै ती दिशाको नामाकरण गरी पत्नीलाई सुनाए ।
त्यसपछि उनीहरूको शक्ति हराउँदै गयो । सत्पुरुष निरञ्जन ठाकुरले कदभर्खाको रूप लिए र युद्ध गरी अन्धालाई मारे । अन्धाको मृत लासको दाहिने हात, देब्रे हात, दाहिने खुट्टा र देब्रे खुट्टा क्रमशः पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा फ्याँके र चार दिशा निर्धारण भयो । पेट चिरी माथि फ्याके र आकाश बन्यो । ढाड तल फ्याके र पाताल बन्यो । दाहिने आँखाबाट सूर्य बन्यो भने देब्रे आँखाबाट चन्द्रमा बन्यो । यति गर्दा पनि जलमग्न अवस्था रहिरह्यो । त्यसैले कदभर्खारूपी सत्परुष निरञ्जन ठाकुरले पानीमा माटोको जोर्डन हाली जमिन बनाउन झिँगे माछोको सृष्टि गरी चाँडो माटो ल्याउन पाताल पठाए । झिँगे माछा पाताल पुग्यो र माटो पनि भेट्यो । माटो उठाउन मुख गाड्दा उसको मुखको जुँगा नै त्यहीँ अल्झियो । केही गर्दा पनि ननिस्केकाले उसले माटो ल्याउन सकेन । धेरै काल बित्दा पनि माछो नफर्किएकोले हिले माछोको सृष्टि गरी काम अह्राए । त्यसले माटो ल्यायो । जोर्डन हालियो र जलमग्न क्षेत्र बिस्तारै बिस्तारै जमिनमा रूपान्तरण हुँदै गयो ।
जमिन थलथल गथ्र्याे अर्थान् हल्लिन्थ्यो । यस्तो ठाउँमा प्राणी अडिन सक्दैनन् भनी कदभर्खारूपी सत्पुरुष निरञ्जन ठाकुर जमिनको नाइटो खोज्दै हिँड्न थाले र नेपालको वराह क्षेत्रमा नाइटो भेट्टाए । सुँगुरको रूप धारण गरी त्यो नाइटोलाई थुतुनोले क्याप्प समाएर माथि उचाल्दा जमिन स्थिर भयो र कडा माटोमा परिणत भयो । त्यसपछि उनले अरू प्राणीहरूको सृष्टि गर्दै गए । प्यारा भाइबहिनीहरू ! अहिले पनि सुनसरी जिल्लाको बराहक्षेत्रमा सुँगुर (बराह) ले धर्ती माथि उचालेको प्रतिमा हेर्न सकिन्छ । त्यस प्रतिमाको दर्शन गर्न बर्सेनि लाखौँ भक्तजनको घुइँचो लाग्छ ।

प्रतिक्रिया