अमेरिकी विदेशमन्त्री रुस आउँदै

मस्को । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलोपटक भ्रमण गर्ने भएका छन् । रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा छलफल गर्न विदेशमन्त्री टिलरसन रुस आउन लागेको जानकारी दिएको छ । मन्त्रालयले यही अप्रिल ११ र १२ तारिखका दिन उनले भ्रमण गर्नेछन् ।
भ्रमणका क्रममा टिलरसनले रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग अन्तर्राष्ट्रिय सुरक्षा, स्लामिक स्टेट (आइएस) विरुद्धको लडाइँ र सिरिया र युक्रेनमा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्नेछन् । ‘हामी अमेरिकाको नयाँ नेतृत्वसँगको सम्बन्धलाई सकारात्मक बनाउन चहान्छौँ, यस भ्रमणले दुई देशको अवस्थामा सुधार आउने विश्वास गरिएको छ, हामी वास्तविक व्यवहारमा आधारित रहन्छौँ भन्ने हामीलाई लागेको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
सरकारी अन्य निकायले पनि भ्रमणको पुष्टि गर्दै युक्रेन, सिरिया, उत्तर कोरिया र दुई पक्षीय सम्बन्धका बारेमा छलफल हुने जनाएका छन् । कतिपय संवेदनशील विषयमा दुई देशका बीचमा विवाद र मतान्तर भइरहेका बेला टिलरसनको पहिलो भ्रमण हुन लागेको हो ।

प्रतिक्रिया