जिल्लामा १ सय ८९ मतदान केन्द्र

काभ्रे । स्थानीय निकायको चुनावको चहलपहल यहाँका गाउँगाउँमा सुरु भएको छ । चुनावमा सहभागी हुने सबै दलका कार्यकर्ता तथा नेता गाउँगाउँमा गएसँगै गाउँमा चुनावको माहोल तातेको तिमाल गाउँपालिकाका निरोज पाण्डेले बताए । उनले भने, ‘अब चुनाबको लागि गाउँमा कार्यकर्ताहरू तानातान सुरु भएको छ ठाउँठाउँमा चुनावसम्बन्धी बहस गर्नेहरू मात्रै भेटिन्छन्, ।’ काभ्रेका स्थानीय तहको निर्वाचनका लागि एक सय ८९ मतदान केन्द्र कायम गरेको छ । मतदान केन्द्र सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सिफारिस समिति बनाइएको छ । जिल्ला समन्वय समिति काभ्रेका १३ वटा स्थानीय तहका एक सय ३५ वडा वडाहरूका लागि पायक पर्ने गरी मतदान केन्द्र सिफारिस गरेको जनाइएको छ । मतदान केन्द्र सिफारिस गर्नुअघि जिल्ला निर्वाचन समितिको कार्यालयले जिल्लाका सबै स्थानीय तहका कार्यकारी अधिकृत तथा निमित्त प्रमुखहरू, जिल्ला स्तरीय राजनीतिक दलका प्रमुखहरू र विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूसँग छलफल गरेको र दलहरूले पनि छलफल गरी जिल्ला निर्वाचन कार्यालयको मतदान केन्द्र सिफारिस समितिलाई सुझाव दिएका थिए । जिल्लाबाट सिफारिस मतदान केन्द्रलाई केन्द्रीय निर्वाचन आयोगले अन्तिम रूप दिएको पनि बताइएको छ ।
यसअघि संविधानसभा निर्वाचन ०७० सालमा काभ्रेमा एक सय ८५ मतदान केन्द्र कायम गरीएको थियो । स्थानीय निकायको पुनर्संरचना पछि बनेको स्थानीय तहको निर्वाचनमा सबै मतदाताहरूको सुविधाका लागि कार्यालयले प्रस्ताव गरेको आयोगको मतदान केन्द्रमा दलहरूले सहमति दिएका थिए सोही प्रस्ताव अनुरूप नै केन्द्रहरू निर्धारण गरिएकोसमेत बताइएको छ ।
स्थानीय तहको निर्वाचनमा चार वटा मतदान केन्द्र थप थपिनेसमेत जनाइएको छ । मतदान केन्द्र थपिएका स्थानहरूमा बनेपा नगरपालिकामा मात्रै रहनेछ । हालको बनेपा–११ मा रहेको सरस्वती महिला सामुदायिक भवन, बनेपा–३ मा रहेको नन्दादेवी प्रावि र साविक नासिका साँगा गाविस भवन रहेको बनेपा नगरपालिका–१३ नम्बर वडामा मतदाता केन्द्र थपिएका छन् । नयाँ नगरपालिकाको रूपमा स्थापित नमोबुद्ध नगरपालिकाको–११ मा रहेको नमोबुद्ध प्रावि र धुनपा–१२ मा रहेको बथलादेवी निमाविमा मतदान केन्द्र थप गरिएको छ । अघि कायम भएको साविक ग्रैह्रिविसौना देउपुर गाविस समितिमा रहेको स्वास्थ्यचौकीको मतदान केन्द्र खारेज गरिएको छ । यसअघिका अन्य सबै मतदान केन्द्रहरूलाई आधार मानेर नयाँ केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरलेले जानकारी दिए ।

प्रतिक्रिया