घरमै पुगेर कृषिका योजना सम्झौता

पर्वत । जिल्ला कृषि विकास कार्यालयले गाउँमै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । योजना सम्झौता गर्न आउने क्रममा उपभोक्ताको खर्च बढी हुने तथा सम्झौता गरिएका योजना अनुरूपको काम नहुने हुँदा गाउँमै पुगेर स्थलगत अध्ययन गरी किसानसँगै योजना सम्झौता गरिएको हो ।
कार्यालयले दक्षिण पर्वतको महाशीला, पैयुँ र बिहादी गाउँपालिकाका–१३ मा २५ वटा साना सिँचाइका योजना सम्झौता गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । ‘योजना सम्झौता गर्न आउने क्रममा उपभोक्ताको अत्यधिक खर्च हुन्छ,’ रेग्मीले भने । योजनास्थलमै पुगेर उपभोक्तालाई योजनाको कूल बजेट, गर्नुपर्ने काम, समयावधिलगायत विषयमा जानकारी गराउन सहज भएको रेग्मीको भनाइ थियो । कार्यालयले लुंखुमा र सरौँखोलामा ४÷४ वटा, शालिग्राममा ३÷३ वटा, हुवास, रानीपानी र वहाकीमा २ वटा तथा भोर्ले, त्रिवेणी, बेउलीवास, उरामपोखरा, बाच्छा र बर्राचौरमा १÷१ वटा योजना सम्झौता गरेको हो । प्रत्येक योजना ४० हजारदेखि ५० हजार रूपैयाँसम्मका रहेका छन् । चालु आवमा सयवटा प्लास्टिक पोखरी र ७५ वटा साना सिँचाइका योजना सञ्चालन हुनेछन् ।

प्रतिक्रिया