यो सरकारको आयु सकियो ः निधी

काठमाडौं । कांग्रेस नेता तथा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आफंै सहभागी सरकारको आयु सकिएको घोषणा गरेका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘टफटक’ सँग कुरा गर्दै निधीले सरकार गठन हुनुअघि कांग्रेस र माओवादी केन्द्रबीच भएको लिखित सहमतिमा पुष्पकमल दाहालको प्रधानमन्त्री हुने म्याद चैत मसान्तसम्म रहेको खुलासा गरेका हुन् । वर्तमान गठबन्धनका डिजाइनर समेत रहेका निधी कांग्रेसका तर्फबाट सरकार गठनको सहमतिका लागि संयोजकको भूमिकामा थिए ।
‘कांग्रेस–माओवादी केन्द्रबीच भएको लिखित सहमतिअनुसार दाहालजी प्रधानमन्त्री हुने म्याद चैत मसान्तसम्म हो, त्यसपछि उहाँले सरकार हस्तान्तरण गर्नुपर्छ’, दाहाल सरकार कै उपप्रधानमन्त्री निधीले भने, ‘तर, आगामी ३१ वैशाखका लागि स्थानीय चुनावको मिति घोषणा भइसकेको छ, त्यसैले अब उहाँले जेठमा सरकार हस्तान्तरण गर्नुपर्ने हुन्छ ।’ निधीले यही सरकारले स्थानीय चुनाव गर्ने समझदारी भएकाले कांग्रेसले ३१ वैशाखसम्म कुनै प्रश्न नउठाउने बताए । दाहाल सरकार कहिलेसम्म रहन्छ ? भन्ने प्रस्तोताको प्रश्नको जवाफमा ‘यो कुरा भन्ने समय आएको छ र म भन्छु’ भन्दै निधिले यो खुलासा गरेका हुन् ।

प्रतिक्रिया