पुटिनलाई साथ दिने ट्रम्पको प्रतिज्ञा

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट ‘पूर्णसाथ’ दिने प्रतिज्ञा गरेका छन् । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जाने गरी सोमबार भएको विस्फोटनको घटनापछि उनले पूर्ण साथको प्रतिज्ञा गरेका हुन् । राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित सबैप्रति सहानुभूति व्यक्त गरेका छन् । घटनामा परी अन्य दर्जनाँै घाइते भएका छन् । रुसले सोमबारको आक्रमण नाटकीय आतंक भएको बताएको छ । सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ । सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरुमध्ये एक हो । दैनिक बीस लाखभन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन् ।
‘घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न अमेरिकी सरकारले आफ्नो तर्फबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दछ,’ राष्ट्रपति ट्रम्पको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई फोन गरेर दुःख व्यक्त गरेको पनि उल्लेख गरिएको छ । दुवै राष्ट्रपति आतंककारीलाई तत्काल नाश गर्न सहमत भएको पनि विज्ञप्तिमा लेखिएको छ । कतिपय विषयमा आरोपप्रत्यारोप भई सम्बन्ध बिग्रिरहेका बेला उनीहरुले आतंककारीहरुविरुद्ध लड्ने अठोट व्यक्त गरेका हुन् । रुसी राष्ट्रपति पुटिनले सोमबार साँझ नै घटनास्थलको भ्रमण गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया