५ सय चौँरीको एकै पटक प्रदर्शन गरिने

yak

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा पाँच सय चौँरीको प्रदर्शन गरिने भएको छ । चौँरीपालन व्यवसायमा किसानको आकर्षण बढाउन उक्त प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनी आगामी वैशाख १ गते हुने आयोजकले बताएको छ । प्रदर्शनी सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्थाले गर्न लागेको हो प्रर्दशनमा चौँरीसँगै चौँरीको दुग्धजन्य पदार्थ, भँेडाको घ्यु तथा ऊनबाट उत्पादित वस्तु, जडिबुटी तथा कृषिजन्य वस्तुको स्टल राखिने छ । प्रदर्शनमा नेपाल र भारतका गरी १ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रदर्शनले चौँरीपालन व्यावसायलाई व्यवस्थित र आधुनिकीकरण गरी चौँंरी पर्यटन विकासमा सहयोग पुग्ने महोत्सव मूल व्यवस्थापन समितिका सदस्य डिल्ली केरुङले बताए । उनले यससँगै पशुपतिनगर, मानेभञ्ज्याङ, तुम्लिङ, कालपोखरी, सन्दकपुर, चारराते, शिखरगुम, फालोट, तीन सीमाना हुँदै कञ्चनजँघा हिमालको दक्षिणी आधार शिविर रामजेरसम्मको वैकल्पिक पर्यटकीय पदमार्ग निर्माणमा सघाउ पुग्ने बताए ।
यस क्षेत्रको जैविक विविधता साथै चौरीको दुग्धजन्य पदार्थको अन्तर्राष्ट्रिय बजारीकरण, वन एनेको अधीनमा रही लोपोन्मुख जडिबुटीको उद्यान निर्माण गरी पर्यटकीय आकर्षण बढाउन, चाँैरी चरन क्षेत्रको दिगो व्यवस्थापनमार्फत स्थानीय रोजगारी सिर्जना गर्न, उच्च हिमाली क्षेत्रको वन वातावरण संरक्षणसम्बन्धी सचेतनामा सघाउ पुग्ने दाबी गरेका छन् । प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रदर्शनमा महोत्सवमा याक, राइडिङ तथा हर्स रेस, चौँरीजन्य परम्परागत क्रियाकलाप प्रदर्शनी र सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
प्रर्दशनलाई जिल्ला वन कार्यालय, इसिमोड नेपाल, जिल्ला समन्वय समिति, जिल्ला पशु सेवा कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, द्वीपज्योति युवा क्लब, फालेलुङ गाउँपालिका वडा नम्बर ४ र ५, फालेलुङ चाँैरीपालक कृषक समूह, सामुदायिक वन महासँघ, टि.एम.आई काठमाडौं र फालेलुङ गाउँपालिकाले प्रवद्र्धन गरेको छ । पाँचथरको भारतसँग सीमा जोडिएको सन्दकपुरदेखि सुर्केथाम, चारराते, शिखरगुम, फालोट, तीन सीमाना, चिवाभञ्ज्याङ मेजरथाम, फलेके, पहाडेमेघु हुँदै तिम्बुपोखरी क्षेत्रमा परापूर्वकालदेखि नै चौँरीपालन गरिँदै आएको छ ।

प्रतिक्रिया