चुनावको मतपत्र यसरी सरल बनाउने कि ?

biswa tigelaचुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाउँमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिह्नमा भोट हाल्ने गरेको घटना अत्यधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरू दोहोरिरहन्छन् ? धेरैको उत्तर राम्ररी नसिकाइएको र नदेखाइएको कारण हो भन्छन् तर वास्तवमा त्यति मात्र हुँदै होइन ।
चुनावी प्रणालीहरू विभिन्न प्रकारका प्रचलनमा छन् । बहुमतीय प्रक्रिया, चरणगत छनोट प्रक्रिया, समानुपातिक प्रक्रिया आदि । जुनसुकै चुनावी प्रक्रिया भए पनि भोट हाल्ने मतपत्र स्पष्ट र अस्पष्ट दुबै प्रकारको बन्ने गरेको पाइन्छ । निष्पक्ष जनमत चाहनेले स्पष्ट र सरल मतपत्र बनाएको पाइन्छ । तर, धाँधली गर्ने र षड्यन्त्र गर्ने उद्देश्य भएको खण्डमा चाहिँ अस्पष्ट र कठिन प्रकारको मतपत्र बनाउने गरेको देशविदेशमा प्रयोग भएका मतपत्रको नमुनाहरूमा देख्न सकिन्छ ।
मतपत्र गणना गर्दा झन्डै पाँचदेखि १० प्रतिशत मतपत्र रद्द हुने गर्दछ त्यसको कारण पनि मतपत्र अस्पष्ट र अप्ठ्यारो हुनु हो । विशेषतः गाउँ र टोलटोलका मान्छे एकै हुल बनेर भोट गर्न मतदान केन्द्र आउने गर्दछन् । त्यसैले निर्वाचन अधिकृत तथा खटिएका निर्वाचन कर्मचारीलाई यी ठाउँका यही पार्टीका मान्छेहरू भोट गर्न आए भनेर स्पष्टै चिन्ने गर्दछन् । गाउँमा खेती किसान गर्ने साक्षर नभएका, सुकिला लुगा लगाएका मान्छे देख्ने बित्तिकै अप्ठ्यारो मान्ने, बन्दुक बोकेका प्रहरी र सेना देख्दैमा डराउने मतदाताहरूलाई भोटको छाप लगाउने टेबलमा मसी सुकेको मसिदानी राखिदिने र स्वस्तिक छाप बिग्रिएको राखिदिने र अलि अत्याउन एक दुई कुरा सोधिखोजी गरिदिने हो भने धेरैभन्दा धेरैले मतदान बिगार्ने गरेको देखिन्छ । त्यसैले कुनै पनि पार्टीले जित्नको लागि निर्वाचनमा खटिएर जाने कर्मचारीहरूको भूमिका महत्वपूर्ण मात्र होइन निर्णायक पनि हुने गर्दछ ।
सामान्यतया नेपालको चुनावी मतपत्र सबैभन्दा अस्पष्ट र बुझ्न कठिन प्रकारको देखिन्छ जसले गर्दा धाँधली गर्न एकदमै सजिलो हुने गर्दछ । गाँउघरका सोझासीधालाई झुक्याउन सजिलो हुने प्रकारको छ । तपार्इंको आफ्नै भाइभतिज उम्मेदवारलाई भोट गर्नका लागि गलत चिह्नमा भोट हाल्नु भनेर सिकाइएको घटनाहरू पनि ताजै छन् । गोठाला, खेताला गरिखानेलाई कुन पार्टीको कुन चिह्न, कुन उम्मेदवार हो भन्ने बुझ्न र सम्झन गाह्रो हुन्छ ! अर्को रोचक प्रसंग के पनि खुलेको छ भने उम्मेदवारको नजिकका मान्छेहरूबाटै अत्यधिक गलत मतदान हुने गरेको केहीकेही घटनाहरू पाइएको छ । आफ्नै परिवारको मान्छेलाई भोट माग्नै पर्दैन त्यसैले उम्मेदवार बाहिर बाहिरै खट्ने गरेको र चुनावी चटारोमा हुँदा भेटघाट पनि नहुने र यसरी भोट हाल्नूस् भनेर सिकाउन पनि नभ्याउने भएकाले धेरै मत गलत ठाउँमा पर्ने गरेको पाइन्छ । यस्ता खाले समस्याहरू धेरै भेटिएका छन् तर अशिक्षाले हो भनेर चित्त बुझाउने गरिएकाले समाधान खोज्ने काम भएको छैन ।
मतदानको बखत छलकपट र बेइमान गर्न सकिने कमीकमजोरीहरूलाई पत्ता लगाएर समाधानतर्फ हामी किन नलाग्ने ? संयुक्त अधिराज्य (युके) को मतपत्रमा पार्टीको नाम, उम्मेदवारको फोटो र पार्टीको चुनाव चिह्न भएको मतपत्रमा डटपेनले खाली कोठामा चिह्न लगाउनुपर्ने प्रकारको हुन्छ । उक्त मतपत्रमा गल्ती मतदान हुने ९९ प्रतिशत सम्भावना हुँदैन किनकि त्यहाँ उम्मेदवारको फोटो हुन्छ, पार्टीको नाम हुन्छ र पार्टीको चुनाव चिह्न पनि हुन्छ । केही अन्य मुलुकहरूमा हातको औँलाको छाप लगाउने गरेको पनि पाइन्छ । मतपत्रमा औँलाको छाप लगाएर मत दिनु सबैभन्दा उत्तम देखिन्छ किनकि मतपत्र गणनामा कुनै समस्या भएमा प्रविधिबाट उक्त मतपत्रलाई जाँच गर्न सकिन्छ । एकै औँलाले दिएको मत एकभन्दा बढी भएमा सत्यतथ्य पत्ता लगाउन सजिलो हुने देखिन्छ ।
सजिलो र स्पष्ट प्रकारको मतपत्र बनाउनको लागि प्राविधिक र आर्थिक हिसाबबाट पनि खासै फरक नपर्ने देखिन्छ । किनकि प्रत्येक क्षेत्रमा रहेका उम्मेदवारहरूको आधारमा चुनाव चिह्न भएको मतपत्र बनाइन्छ । त्यहि मतपत्रमा उम्मेदवारको फोटो, उम्मेदवारको नाम, पार्टीको नाम र पार्टीको चिह्न उल्लेख गर्नु कुनै ठूलो कुरा हुँदै होइन । मतपत्रको लम्बाई केही बढ्न सक्ला त्यो समस्या होइन । जनताले सही किसिमले आफ्नो अमूल्य मत जाहेर गर्ने अधिकारको सुनिश्चितताका लागि पनि यस बारेमा सरोकारवाला पक्षले अब गम्भीर बन्न जरुरी छ ।
यदि हामीले मतपत्रको वैज्ञानिकीकरणमा ध्यान दिने हो भने मौलाएका केही विकृतिहरू पनि हटनेछन् । राम्रो सजिलो चुनाव चिह्न रोज्ने र निर्वाचन मतपत्रको सुरुमा चुनाव चिह्न रहोस् भनी होडबाजी गरेर निर्वाचन आयोगमा दर्ता गराउन जाने क्रम पनि रोकिनेछ । निर्वाचन आयोगले चुनाव चिह्न बोल्ड गरी देखिने बनाउने र मधुरो बनाई देख्न गाह्रो बनाउने आयोगको नियोजित तिकडम पनि हटनेछ ।
पटकपटक चुनाव हारेपछि आफूलाई भोट नआउने सिमानाको गाउँबस्तीलाई निर्वाचन क्षेत्र पुनर्निर्धारण कार्यक्रममा अर्को क्षेत्रमा गाभिदिएर अर्कोपटक चुनाव जित्ने परम्परा पनि पहँुचवाला नेताहरूमा छ । त्यति मात्र होइन, पैसा बाँडेर भोट किन्ने गलत प्रचलन पनि छँदै छ । यी यावत विकृति र विसंगतिहरूलाई पूर्णरूपमा बन्द गर्न त नसकिएला तर न्यून गर्न भने अवश्य सकिन्छ ।
सन् २०१५ को मे ७ मा भएको आमनिर्वाचनमा युके इन्डिपेन्डेन्ट पार्टीले ३८ लाख ८१ हजार मत प्राप्त ग¥यो तर एक सिटबाहेक जित्न सकेन । भर्खरै ८ नोभेम्बर २०१६ मा सम्पन्न अमेरिकी निर्वाचनमा विजयी डोनाल्ड ट्रम्पले भन्दा पराजयी हिलारी क्लिन्टनले २५ लाख ६४ हजार बढी प्रत्यक्ष भोट पाइन् तर सिस्टममा व्यवस्था गरिएको सिट प्रणालीमा ट्रम्मले जितेको कारण राष्ट्रपति बनेका छन् । यी दुई अभ्यासको आधारमा हामीले स्वीकारेको प्रत्यक्ष र समानुपातिक प्रणाली उत्कृष्ट छ । यसमा हामीले गौरव गर्नुपर्दछ र चुनावमा प्रयोग गरिने मतपत्रमा पनि सरलीकरण र वैज्ञानिकीकरण गरी अझ उत्कृष्ट बनाउने कि ?

प्रतिक्रिया