खोइ ! सिस्टम

हामी नेपाली गफाडी छौं । त्यसैले मलाई पनि गफ हाँक्न आयो । यो गफलाई सिस्टममा लाने हो भने सानो गफको ठूलो काम हुन सक्छ । यो देशमा ठूल्ठूला परिवर्तनहरु भए । राणा शासनको अन्त्य भयो । राणा शासनको अन्त्य भइसकेपछि शाहवंशको अन्त्य भयो । पञ्चायत व्यवस्थाको अन्त्य भयो । प्रजातन्त्र आयो त्यो प्रजातन्त्र पनि अन्त्य भयो । अहिले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन खोजिरहेको छ । हामी नेपालीहरु एकपछि अर्को गरी शासन व्यवस्थाहरु परिवर्तन गर्न माहिर बन्यौ । जस्तोसुकै शासकीय स्वरुपमा परिवर्तन आए पनि हाम्रो सोचमा परिवर्तन आएन । काम गराइको ढाँचा र शैलीमा परिवर्तन आएन । त्यसैले गर्दा परिवर्तनको महसुस मात्र गरियो तर परिवर्तन गराइएन । परिवर्तनले व्यक्तिको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नुपर्छ । व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसके त्यो परिवर्तन हुँदैन समस्या हुन्छ । परिवर्तन संस्थागत गराउन नयाँ सोच र चिन्तनमा परिवर्तन आउनु पर्छ । काम गराइको ढाँचा र शैलीमा परिवर्तन आउनुपर्छ । समाज रुपान्तरणमा परिवर्तन आउनुपर्छ । अर्थ व्यवस्थामा परिवर्तन आउनुपर्छ । समाजमा भएका बेथिति कुसंस्कारमा परिवर्तन आउनुपर्छ । हाम्रा नराम्रा संस्कारमा परिवर्तन आउनुपर्छ । शासकीय स्वरुपमा भएको परिवर्तनबाट जनता प्रत्यक्ष लाभान्वित हुनुपर्छ र मात्र खोजेको नेपाल, नयाँ सहर र नयाँ गाउँ बन्न सक्छ । राजनीतिमा राजनीतिक दलहरुको परिवर्तनको खाँचो छ । राजनीतिक कार्यकर्तामा परिवर्तनको खाँचो छ । व्युरोक्रेट्समा कर्मचारीहरुको परिवर्तनको खाँचो छ । न्यायालयमा वकिल, शिक्षामा प्राध्यापक, शिक्षक, विद्यार्थीलगायत शिक्षाकर्मीहरुको परिवर्तनको खाँचो छ । सूचना सञ्चारमा पत्रकारहरुको परिवर्तनको खाँचो छ । समग्रमा जन–जनमा र वस्ती–वस्तीमा परिवर्तन हुनु पर्छ । र मात्र नयाँ नेपालको नयाँ व्यवस्थापन गर्न सकिन्छ । जनतालाई नयाँ अनुभूतिका साथ शासन व्यवस्थामा संलग्न गराउन परिवर्तनको व्यवस्थानले मात्र गराउन सकिन्छ । र परिकल्पना गरेको नयाँ नेपाल बनाउन सकिन्छ । यदि सबै पक्ष आ–आफ्नो ठाउँबाट सुधारका प्रयत्न नगर्ने हो भने हिजो पनि परिवर्तन भएको थियो, त्यसपछि के भयो ? जनताले के पाए ? भोका–नांगाले के पाए ? दलितले के पाए ? विपन्नले के पाए ? पिछडा वर्गले के पाए ? लोपोन्मुख वर्गले के पाए ? कृषकले के पाए ? मजदुरले के पाए ? समग्रमा राष्ट्रले के पाए ? अबको परिवर्तन पनि उही बोतल, उही रक्सी हुन्छ । नयाँ बोतल वा पुरानै बोतल हुन सक्छ ।
परिवर्तन चाहने हो भने, परिवर्तन गर्ने हो भने नयाँ सोच, नयाँ चिन्तन र मेहनत चाहिन्छ । प्रत्येक क्षेत्रमा पारदर्शिता चाहिन्छ । पारदर्शिता भनेको भित्री भाग र बाहिरी दुबै सबैले देखिने गरी राखिएको वस्तु हो । हाम्रो देशमा पारदर्शितामा भयानक रोगले संक्रमण गरेको छ । त्यसैको अभावमा प्रत्यक्ष अर्थतन्त्रमा असर पु¥याएको छ । स्थानीयतहदेखि माथिल्लोतहसम्म पारदर्शिता हुने हो भने दस वर्षमा नयाँ नेपालको अनुभूति दिन सकिन्छ । त्यसमा सम्पूर्ण पक्ष, राजनीतिक दल, प्रशासक, कर्मचारी, शिक्षक, वकिल, पत्रकार सबै भागेदार हुनै पर्छ र हामीमा सबैमा पनि परिवर्तन हुनै पर्छ ।
यो देशमा प्रणालीको विकास हुन सकेको छैन । प्रणाली भनेको कुनै कार्य, त्यसको व्यवस्थापन गर्ने विधि वा पद्धति वा प्रक्रिया हो । यसलाई अंग्रेजीमा सिस्टम भनिन्छ । हरेक काम वा कार्यको व्यवस्थापन गर्न नसक्दा भ्रष्टाचार मौलाएको छ । हामी सही ट्रयाकमा रहेका छैनौं । त्यसले देशको अर्थतन्त्रमा असर पु¥यायो । यो देश सिस्टम विनाको देश हो भनेर आरोप लगाइन्छ । हो पनि । किन भने काम गराइमा सिस्टम नभएर केही काम गर्नु गराउनु प¥यो भने स्थानीयस्तरको कूटनीति साम, दाम र दण्डभेद प्रयोग गर्नै पर्छ । त्यसले गर्दा हाम्रो कार्यमा कुसंस्कारको विकास भएको छ । म एउटा कर्मचारी हुँ । पाँच वर्षपछि कहाँ हुन्छु । मलाई प्रष्ट थाहा हुने हो भने मैले त्यो माथिको विविध प्रयोग गर्नै पर्दैन । अब सिस्टमको विकास गरौं । त्यसैमा सबैको भलो छ । देश र जनताकै भलो छ ।
राजनीतिमा पनि सिस्टमको खाँचो छ । राजनीतिक राज्य र नीतिबाट बनेको हो । राजनीति भनेको राज्यको शासन व्यवस्था तथा शासन चलाउने नीति वा त्यस्तो गतिविधि हो । राजनीतिक दल तथा त्यसका आबद्ध कार्यकर्ताहरु नै राज्यको शासन चलाउने गतिविधिमा लाग्ने भएकाले देशलाई कता लाने भन्ने महत्वपूर्ण जिम्मेवारी छ । यस्तो जिम्मेवारी बहन गर्ने व्यक्तिको कार्य गराइमा सिस्टमको विकास जरुरी छ । र मात्र परिवर्तन हुन सक्छ । सिस्टमको विकासले मात्र परिवर्तनको व्यवस्थापन गराउन सकिन्छ । हामीमा जताततै सिस्टमको खाँचो छ । सिस्टमले नै हामीलाई परिवर्तन गराउँछ । विकसित मुलुकमा सिस्टमको विकास आधुनिक यन्त्र उपकरणले गरेको छ । एक सेकेन्ड समय पनि खेर फाल्न सकिँदैन र अल्छीपना पनि ल्याउँदैन । फुर्सदमा बसेको तुरुन्तै थाहा हुन्छ । हामी भने गफ, चिया मिटिङ र भाषणमा समय फाल्छौं । सिस्टमको विकासले यी यावत् कुराहरुबाट हामीलाई रोक्ने छ । र देश र जनतालाई समृद्ध बनाउने छ
देशमा भएका परिवर्तन संविधान हो । त्यसलाई संस्थागत गर्न तीनै तहको निर्वाचनको विकल्प छैन । सरकारले पनि स्थानीय तहको चुनाव गराउन मिति तोकिसकेको छ । स्थानीयतहलाई व्यवस्थापन गर्न माथिका कुराहरु कार्यान्वयन गर्ने गराउने सक्षम व्यक्ति हामीसँग छ कि छैन ? हाम्रा राजनीतिक दलहरुले उत्पादन गर्नु भएको छ कि छैन ? देशले सक्षम कर्मचारी दिन सक्छ कि सक्दैन ? सही व्यवस्थापन भए गाउँको विकास हुन्छ कि हुँदैन । उही बोतल, उही रक्सी त नहोला नि ? नयाँ बोतल पुरानै रक्सी नहोला नि ? संविधान कार्यान्वयन गराउन तीनै तहका निर्वाचन त गराइएला तर माथिकै भनाइका लागि मात्र भएर पुग्दैन । त्यसको सही व्यवस्थापन गर्न यो देशमा व्यवस्थापकको खाँचो छ । विकास अभियन्ताको खाँचो छ । प्रविधिको व्यवस्थापनमा परिवर्तनको खाँचो छ । व्यवस्थापनमा सिस्टमको खाँचो छ । हामी नेपाली गफाडी छौं । त्यसैले मलाई पनि गफ हाँक्न आयो । यो गफलाई सिस्टममा लाने हो भने सानो गफको ठूलो काम हुन सक्छ
अन्त्यमा सबैमा परिवर्तन गरौं । पारदर्शी बनौं । कार्यसम्पादनमा सिस्टमको विकास गरौं । कुशल व्यवस्थापक बनौं । कुशल शिक्षक, पत्रकार, वकिल, प्रशासक बनौं । देशको विकासमा टेवा पु¥याऔं । देशको विकास गरौं । त्यसैमा सबैको कल्याण छ । सबैको कल्याण गरी नयाँ देश नयाँ सहर, र नयाँ गाउँ बनाऔं ।

प्रतिक्रिया