कर्पोरेट पुँजी र यसको दुष्परिणाम

आधुनिक पुँजीवादले लामो यात्रा तय गरिसकेको छ । औद्योगिक पुँजीवादबाट आरम्भ भएको पुँजीवादको यो यात्रा अहिले उदारवाद, नवउदारबाद हुँदै अहिले ‘क्रोनी पुँजीवाद’ अर्थात् ‘कर्पाेरेट’ पुँजीवादसम्म आइपुगेको छ, जसले आवारा पुँजीको रूपमा एउटा निर्मम, निरंकुश र नितान्त अमानवीय बजारको शक्तिको रूपमा विश्वलाई आफ्नो मुठ्ठीमा नराम्रोसँग कसिरहेको छ । आजको क्रूरतम सत्य यही हो कि बजारको गतिलाई अब राष्ट्र–राज्यले तय गरिरहेका छैनन् बरु बजारका शक्तिहरूका सामुमा ती राष्ट्र–राज्य या त नतमस्तक छन् या एकदमै असहाय । अझ मजाको कुरा त के छ भने कर्पोरेट बजार अर्थशास्त्रका नियम र सिद्धान्त मुताविक चल्दै चल्दैन । आजको विश्व बजारका शक्तिहरू यति प्रबल भइसकेका छन् अनि यति उन्मुक्त र स्वच्छन्द रूपले काम गरिरहेका छन् कि विश्वका विभिन्न देशहरू र तिनका सरकारहरू त्यसमाथि अंकुश लगाउन सक्षम छैनन । इंग्ल्यान्डमा ‘बे्रक्जिट’ र अमेरिकामा ‘ट्रम्प’ को विजयबाट यस्तै प्रकारका नयाँ संकेतहरू मिलेका छन्् । हालै जर्मनीमा भएको दक्षिणपन्थीहरूको सम्मेलन पनि त्यस्तै लक्षण र संकेत देखाउँदछ ।
वस्तुतः बितेको साढे दुई दशकदेखि चल्दै आएको भूमण्डलीकरणबाट जुन लाभ उठाउन सकिन्थ्यो त्यो अमेरिका, बेलायतसमेत अन्य विकसित देशहरूको कर्पोरेट पुँजीले उठाइसकेको छ । कर्पोरेट पुँजीद्वारा सञ्चालित र नियन्त्रित विश्व पुँजीवादलाई अगाडि लैजानमा भूमण्डलीकरणको वर्तमान स्वरूपको प्रासंगिकता सन्देहास्पद भइसकेको छ । यस संकटपूर्ण घडीमा यो कर्पोरेट आवारा पुँजी कुनै नयाँ बाटोको खोजमा छ र यस खोजीकै कारणले सम्भवतः बेलायतमा ब्रेग्जिट र अमेरिकामा ट्रम्पको विजय सम्भव भएको हो जसको आरम्भ भारतमा नरेन्द्र मोदीको २०१४ मा भएको विजयदेखि भएको मानिँदै छ । आखिर ती के कस्ता परिस्थिति हुन् जसले कर्पोरेट पुँजीवादलाई नयाँ बाटो खोज्न र अझ अघि बढ्न प्रेरित गरिरहेका छन् ? हुन त युरोपमा औद्योगिक पुँजीवादको विकासको साथसाथै राष्ट्र–राज्यहरूको उदय भएको थियो । औद्योगिक पुँजीवादका लागि आवश्यक बजार, पुँजी तथा विज्ञान एवं प्रविधिको विकासलाई राष्ट्र–राज्यहरूको संरक्षण तथा प्रोत्साहन मिल्यो ।
सन् १७८२ मा भएको अमेरिकी क्रान्ति र त्यसपछि युरोपमा भएको फ्रान्सेली क्रान्तिले उच्च र आदर्शवादी लक्ष राखेता पनि यथार्थमा राष्ट्र–राज्यहरू र पुँजीको गठजोडबाट पश्चिमा देशहरूमा औद्योगिक विकास ल्याउने काम त्यसले ग¥यो । सन् १४९२ मा कोलम्बसको समुद्री यात्राबाट सुरु भएको भूमण्डलीकरणले आज सन् २०१७ लाग्दै गर्दा पुँजीवाद तथा राष्ट्र–राज्यहरूको गठजोडको मद्दतले आफ्नो चरम अवस्था प्राप्त गरिसकेको छ, जसमा राष्ट्र–राज्यहरू अब उसका लागि पहिला जस्तो सहयोगी रहन सकेका छैनन् या यसो भनौँ कि तिनले एक किसिमले आफ्नो प्रासंगिकता गुमाउँदै गएका छन् । यसकारण यो आवारा विश्व कर्पोरेट पुँजीवाद यस्ता नयाँ हतियार र संस्थाहरू विकसित गरिरहेको छ जसले राष्ट्र राज्यको परिधि उसको नियमनको परिधिभन्दा बाहिर होस् ।
यीमध्येमा सबैभन्दा महत्वपूर्ण शक्तिशाली आजको बजार हो जुन सर्वव्यापी भइसकेको छ । यसको दायरामा पृथ्वीका प्रत्येक वस्तु आइसकेका छन् । जल, जंगल, जमिन, खनिज तथा हावादेखि लिएर मानिसहरूको मेधा–निपुणता, महिलाहरूको कोख, बौद्धिकता, जीव कोशिकाहरू, अन्तरिक्ष कक्षहरू र यस्तै अरू सबै सबै कुरा यसका दायरामा सामेल छन् । यो सर्वव्यापी बजार लगभग सबै किसिमका नियन्त्रणहरूबाट मुक्त छ । यो बजारको गति अब राष्ट्र–राज्यहरूले तय गर्दैनन्
त्यसकाविपरीत बजारका शक्तिहरूसमक्ष त ती स्वयं असहाय या नतमस्तक छन् । यसले बजारमा समानताको सिद्धान्त चलाउँदैन बरु ‘जसको लाठी उसकै भैँसी’ को सिद्धान्तजस्तो जंगली कानुन चल्छ या चलिरहेको छ । बजारका यी शक्तिहरूलाई कहीँ कतैबाट कुनै चुनौती मिल्ने सम्भावना पनि देखिएको छैन । भूमण्डलीकरणले यो बजारको निर्माण गरेको हो तर त्यो अब सबै नियमनभन्दा माथि छ र आफ्नो साम्राज्य स्थापित गरिसकेको छ । राष्ट्र–राज्य अब त्यसको अधिनमा छन्, यसकारण कल्याणकारी राज्य र संस्थाहरूको जनतान्त्रिकरणको कुरा यसले मन पराउँदैन ।
भूमण्डलीकरण गैरप्रासंगिक हुनुको दोस्रो ठूलो कारण हो विश्व पुँजीको अत्यन्त ठूलो संकेन्द्रीकरण । आज विश्वका केवल ५ सय कम्पनीसँग विश्वको आधा पुँजी रहेको छ । विश्वका केवल एक प्रतिशत मानिसहरू यस पुँजीको मालिक छन् र तिनकै मर्जी र आवश्यकताअनुरूप यो आवारा पुँजी आउने जाने गर्दछ । यो पुँजीले देश–देशका बीच घृणा फैलाएर आफ्नो हतियार उद्योग र हतियार व्यवसाय तथा ड्रग बजारको एउटा ठूलो सञ्जाल विकसित गरेको छ, जसको केवल एउटै उद्देश्य छ, मुनाफा र विश्वको बर्बादी जसको एउटा उदाहरण र परिणाम हामीले इराक, लिबिया, अफगानिस्तान, सिरिया तथा टर्कीमा भएको घटना देखिरहेका छौँ । यसको गुञ्जन यस आवारा पुँजीका अड्डाहरूमा जस्तो अमेरिका, बृटेन, ब्राजिल, फ्रान्स र जर्मनीमा भएका आतंकवादी हमलाका माध्यमबाट पुग्दा त्यसका कान अवश्य ठाडा भए तर त्यसका जनविरोधी घिनलाग्दा खेल जस्ताको तस्तै निर्वाध किसिमले चलेको चलेकै छ । यस पुँजीका लागि राष्ट्रहरूको सीमा र तिनको नियमनको कुनै अर्थ छैन । भारतको हालैको नोटबन्दीको खेल पनि यही कर्पोरेट पुँजीको एउटा नाटकीय खेल मात्र हो । हुन पनि यो आवारा पुँजीको कुनै पनि आफ्नो देश हुँदैन । पूरा संसार नै उसको घर र खेल मैदान हो । डिजिटल करेन्सीका चलनले वास्तवमा यो अवैध पुँजीको लेन–देनको अनियन्त्रित बाटोलाई पक्का तुल्याउँदछ ।
यस पुँजी एकत्र गर्न राज्यको भूमिका महत्वपूर्ण रहेको छ र उपनिवेशहरूको लुटलाई सुगम बनाएको हो । तर, यो पुँजी अब प्रौढ भइसकेको छ र यसलाई अब राष्ट्र–राज्यको आवश्यकता पनि छैन । राष्ट्र–राज्यद्वारा यसको सुरक्षाका लागि लडिएका युद्धहरूले देश र समाजहरूलाई बिनष्ट गर्न सक्तछन् जुन कुरालाई हामीले विश्वभर पैmलिएको आतंकवाद र ड्रग व्यवसायहरूमा देखिरहेका छौँ । यस पुँजीको हमलाको सबैभन्दा खतरनाक पक्षलाई आम जनताले देख्न सक्तैनन् । यस पुँजीको सबैभन्दा घातक र प्रहारकारी हतियार हुन् सञ्चारमाध्यमहरू र सूचना प्रविधि जसले मिनेट भरमा मुद्दाहरू भड्काउने र त्यसको तस्बिर बदल्ने क्षमता राख्दछन् । सञ्चारमाध्यम र सूचना प्रविधिहरू पनि यही बजारु मूल्यका बिस्तार हुन् र तिनलाई स्थापित तुल्याउँदछन् । यस पुँजीलाई अगाडि बढाउनका लागि ती नयाँ सम्बन्ध विकसित गर्ने चिन्तामा हुन्छन् जसबाट विश्व राजनीतिक परिदृष्य बदलिइरहेको छ । तमाम् आन्तरिक विरोधहरू हुँदाहुँदै पनि विश्वभरीका देशहरूमा उन्मादी राष्ट्रवाद, पारस्परिक घृणाको राजनीतिको विस्तार भइरहेको छ जुन यही आवारा पुँजीले रोपेको विषालु बीउको प्रतिफलबाहेक अरू केही होइन ।
यो क्रोनि अर्थात् आवारा पुँजीको विस्तार र विकासको एउटा ठूलो कारण हो विश्व कर्पोरेट व्यव्स्थाको प्रविधि नियन्त्रण र एकाधिकार । विज्ञान र प्रविधिको जस्तो उपयोग बजारको विस्तार र विश्वभरीबाट निचोरेर केन्द्रीकृत गरिएको छ, त्यो भूमण्डलीकरणको क्रममा भएको अद्भूत र भयावह कुरा हो । सूचना प्रविधिले यस आवारा पुँजीको पक्षमा आम राय बनाउन, भोगवादी संस्कृतिको प्रसार गर्न तथा आम
जनसाधारणलाई भ्रमित तुल्याउनमा धारिलो हतियारको रूपमा काम गरेको छ । विज्ञान र प्रविधि पनि अब राष्ट्र निरपेक्ष छैन र यसको विकास र विस्तार पूर्णरूपले विश्व कर्पोरेट व्यवस्थाको हातमा रहेको छ । सर्वव्यापी बजारको नियन्त्रण मुक्ति, विशाल सघन पुँजीको मारकारी उच्छृंखलता र विज्ञान तथा प्रविधिको एकाधिकार खेलले देशदेशको राजनीतिलाई भ्रष्ट, सिद्धान्तहीन, लक्ष्यहीन, अराजक तथा अर्थतन्त्र र समाजलाई विखण्डन र पर्यायवरणलाई विध्वंश गरिदिएको छ । विश्व कर्पोरेट शक्तिहरू यही चाहन्छन् र यो चाहनालाई तिनले कमबेशी मात्रामा सफलीभूत पनि बनाइरहेका छन् । बजार, पुँजी र प्रविधिको यस खेलमा देशहरू भित्रका सामाजिक तानाबाना, सांस्कृतिक अस्मिता, मानवीय चेतनाको जसरी विनाश भइरहेको छ त्यससँग राज्य सत्ताहरू निःसहाय जस्तै देखिँदै आएका छन् ।
वास्तवमा यो विश्व कर्पोरेट पुँजीवादको विजय हो जसले उसलाई अझ अगाडि बढ्ने बाटो खोल्दछ । अनि पहिलाको जस्तै यो नवीकृत पुँजीवादी युगको अगुवाइ पनि बेलायत र अमेरिकामा बसेका कर्पोरेट जगत्का शीर्ष व्यक्तिहरूले नै गर्नेछन् । तिनले अनेक चुनौतीहरूको समाना गर्नुपर्ने छ तर पनि ती निद्र्वन्द्व अगाडि बढ्ने नै अहिलेसम्मको स्थितिले दर्शाइरहेको प्रतीत हुन्छ । आम जनसाधारण कै बीच परस्पर र देशहरूका बीच पनि घृणा र विद्वेष फैलाएर यो आवारा पुँजी निर्वाध आफ्नो राज्य चलाउन प्रबल इच्छाका साथ विश्वलाई नष्ट गर्न हात धोएर लागेको छ र पूरा विश्व समुदाय यतिबेला असहाय जस्तो देखिएको छ । विश्वभरीमा अहिले यसका विरुद्ध केवल ल्याटिन अमेरिकी देशहरूले मात्र केही चुनौती दिइरहेका देखिन्छन् । अरू कतै केही छैन तर सधँै यही प्रवृत्ति रहन्छ भन्ने छैन । विश्वलाई आक्रान्त पार्ने यो कर्पोरेट पुँजीवादविरुद्ध जनलहर उठ्नु अनिवार्य द्वन्द्वात्मक नियम नै हो । अबको विश्व त्यसैतिर जाँदै छ ।

प्रतिक्रिया