स्ववियु नेतृत्वका आगामी कार्यभार

नेपालको राजनीतिक आन्दोलन र विद्यार्थी आन्दोलन एक अर्काका परिपूरक हुन् । आधुनिक नेपालका राजनीतिक स्वतन्त्रता तथा प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनलाई विद्यार्थी वर्गले सुरुआत र विस्तार गरेको देखिन्छ । जयतु संस्कृतम् आन्दोलन, पुस्तकालय पर्व, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको आन्दोलन र ०६२÷६३ सालको राजनीतिक आन्दोलन विद्यार्थी नेतृत्वकै अग्रसरमा भएका थिए । त्यस्तै, नेपालका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र सुधारमा पनि विद्यार्थी राजनीतिको अत्यन्त सकारात्मक भूमिका रहेको देख्न सकिन्छ ।नेपालमा विद्यार्थी आन्दोलन मूलधारको राजनीतिक आन्दोलनको मेरुदण्ड हो । विद्यार्थी नेताहरूले हरेक राजनीतिक आन्दोलनको सुरुआत गर्ने र सफलताको विन्दुसम्म पु¥याउने कार्य गरे । जनचासोका हरेक मुद्दामा विद्यार्थी वर्गले राज्यसत्ताको ध्यान आकर्षित गर्ने कार्य ग¥यो । राष्ट्रिय हित संरक्षणका आन्दोलनमा विद्यार्थी वर्ग सधैँ अग्रपंक्तिमा रह्यो । सामाजिक रूपान्तरणका विषयमा आफूलाई सधँै कटिबद्ध बनाउन सक्यो । विद्यार्थी आन्दोलनबाटै धेरै व्यक्तिहरू राष्ट्रिय र स्थानीयस्तरमा शक्तिशाली राजनीतिज्ञको रूपमा स्थापित हुन सके । विद्यार्थी आन्दोलनकै पृष्ठभूमिबाट स्थापित नेतृत्वले आज राज्य संयन्त्रमा कार्यकारी भूमिका निर्वाह गरिरहेको छ ।
विडम्बना, नेपालको शैक्षिक सुधार र विद्यार्थी वर्गको हकहित संरक्षणको कार्यदिशामा भने विद्यार्थी आन्दोलनले प्रभावकारी भूमिका खेल्न सकेको देखिँदैन । जसका परिणाम हुन्, विद्यार्थीमा देखिन थालेको राजनीतिक निराशा, अव्यावहारिक पाठ्यक्रम, शिक्षाको अनियन्त्रित व्यापारीकरण, दक्ष जनशक्तिको विदेश पलायन आदि ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थी हकहितको लागि कार्य गर्ने संस्थाको रूपमा लामो संघर्षपश्चात् प्राप्त उपलब्धि हो । देशको राजनीतिक संक्रमणको कारण लामो समय स्ववियुको निर्वाचन हुन सकिरहेको थिएन ।
स्ववियु निर्वाचनले विद्यार्थी राजनीतिका आगामी स्वरूपबारे धेरै सकारात्मक आशाहरूको सिर्जना गरेको छ । जसको तत्कालीन परिणामस्वरूप हाल सम्पन्न हुन लागिरहेको निर्वाचनमा पैसाको अनियन्त्रित लगानीमा कमी, गुन्डागर्दीमा कमी आदिको रूपमा देखा पर्न थालिसकेका छन् । क्याम्पसको नियमित विद्यार्थी निर्वाचनको उम्मेदवार हँुदा अहिलेको चुनाव राजनीतिक दलका कार्यकर्ताबीचको प्रतिपर्धा मात्र नभई क्याम्पसका विद्यार्थी नेताहरूबीचको प्रतिस्पर्धाको रूपमा विकसित हँुदै जाने सम्भावनाहरू देखापरेका छन् ।
उमेरमा २८ वर्षे हदबन्दीको निर्णयले विद्यार्थी संगठनको केन्द्रीय स्तरका नेताहरू उम्मेदवार बन्नबाट वञ्चित भएका छन् । क्याम्पस स्तरका कमिटीमा क्रियाशील सदस्यलाई स्ववियुका महत्वपूर्ण पदहरूमा निर्वाचित हुने अवसर प्राप्त भएको छ । यसले क्याम्पसको वास्तविक यथार्थ र समस्याहरूको बारेमा प्रत्यक्ष जानकारी राख्ने नेतृत्व स्ववियुमा स्थापित हुने सम्भावना देखापरेको छ । निर्वाचित भएका स्ववियुको नेतृत्वले विद्यार्थी संगठनहरूमार्फत क्याम्पसमा हुने राजनीतिक दलहरूको हस्तक्षेपलाई केही हदसम्म न्यूनीकरण गर्ने कार्यभार पूरा गर्नुपर्नेछ ।
अहिलेका विद्यार्थीमा देखिएको प्रमुख समस्यामध्ये विद्यार्थीको अति राजनीतिककरण र अराजनीतिकरण एक हो । एकातर्फ हालको विद्यार्थी राजनीतिको संरचनाले विद्यार्थीलाई पूर्णकालीन राजनीतिक कार्यकर्ताको रूपमा विकसित गरेर अति राजनीतिको दलदलमा फसाउने गरेको छ । अर्कोतर्फ, संख्यात्मक वृद्धिमा बढी क्रियाशील हुने तर गुणात्मक वृद्धिलाई उपेक्षा गरेर राजनीतिक प्रशिक्षणलाई कम महत्व दिने प्रवृत्तिको कारण आमविद्यार्थी वर्गमा समग्र राजनीतिक प्रक्रियाप्रति नै वितृष्णा बढेर जान थालेको छ । जसको कारण आमविद्यार्थी राष्ट्रियता, जनहित, सामाजिक रूपान्तरण, विद्यार्थी वर्गका हित आदि विषयहरूमा मौन बस्न थालेका छन् । विद्यार्थीलाई दल, गुट र समूहको आधारमा विभाजन नगरी एकताबद्ध ढंगले विद्यार्थीका आमचासोका राजनीतिक विषयमा सचेत र क्रियाशील गराउनु आगामी स्ववियुमा निर्वाचित हुने नेतृत्वको एक महत्वपूर्ण कार्यभार हो ।
बेरोजगारी नेपाली युवाको प्रमुख समस्याको रूपमा देखापरेको छ । रोजगारीको सिर्जना गर्ने दायित्व स्वयं युवाको नै हो । जब आजका विद्यार्थीलाई व्यावहारिक र बजारअनुकूल ज्ञान प्रदान गरिन्छ भोलि गएर तिनै विद्यार्थीले आपैmँले आफ्नो लागि उपयुक्त रोजगारको सिर्जना गर्न सक्दछन् । अव्यावहारिक र बजारप्रतिकूलको पाठ्यसामग्री र शिक्षण प्रणाली नेपालमा बेरोजगारीको प्रमुख कारण हो । स्ववियुमा निर्वाचित हुने नेतृत्वले शिक्षा प्रणालीमा सार्थक सुधारमार्फत व्यावहारिक शिक्षालाई स्थापित गर्न नेतृत्व प्रदान गर्ने कार्यभार पूरा गर्नुपर्छ ।
विद्यार्थीको आजको सोच र व्यवहारकै निर्देशनमा समाज र राष्ट्रको भोलिको भविष्यको निर्माण हुने हो । बेरोजगारी नेपाली युवाको प्रमुख समस्या हो । नेपाल रोजगारका प्राकृतिक र मानवीय स्रोत र साधनले भरिपूर्ण देश हो तसर्थ, रोजगारीका आधारहरूको अभावमा त्यो बेरोजगारी अवस्थाको सिर्जना भएको होइन । नेपालमा बेरोजगारीको एउटा प्रमुख कारण उद्यमशीलताको अभाव पनि हो । विद्यार्थीले व्यक्तिगत र समूहगत रूपमा उद्यमशीलताका नमुनाहरू व्यवहारमा देखाउन सक्नु पर्दछ । यसले समग्र युवा वर्गलाई उद्यमशीलतातर्फ आकर्षित गरेर स्थानीय स्तरमा नै रोजगारका अवसरहरूको सिर्जना गर्न प्रोत्साहित गर्नेछ । स्ववियुमा स्थापित हुने नेतृत्वले विद्यार्थीलाई उद्यमशीलतामा क्रियाशील गराउन आवश्यक नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न सरकारलाई दबाब दिने कार्यभार पूरा गर्नुपर्छ ।
राज्य संयन्त्रको कार्यकारी तहमा विद्यार्थी राजनीतिबाट आएको नेतृत्व स्थापित भए पनि विद्यार्थी वर्गको हितअनुकूलका निर्णयहरू हुन सकेका छैनन् । राज्य संयन्त्रको नीति निर्माणको तहमा विद्यार्थी वर्गको अत्यन्त कम भूमिका रहेको छ । स्वयं विद्यार्थी संगठनको नेतृत्वले पनि राज्य संयन्त्रबाट विद्यार्थीको दीर्घकालीन हितअनुकूलका उल्लेख्य नीति नियमको तर्जुमा गर्न नेतृत्वलाई दबाब दिन सकेको छैन । जसले राज्य संयन्त्र र विद्यार्थी वर्गबीचको दुरी दिनप्रतिदिन बढाउँदै लगेको छ । यस दुरीको कारण विद्यार्थीअनुकूल नीति बन्न सकेका छैनन् र त्यसको प्रतिक्रियास्वरूप आमविद्यार्थीमा राज्य सञ्चालनका प्रक्रिया प्रतिको अपनत्वको अभाव देखिएको छ । यसले विद्यार्थीमा राज्यप्रतिको आफ्नो दायित्व बोधलाई घटाउँदै लगेको छ । दक्ष जनशक्तिको बढ्दो विदेश पलायन त्यसको एउटा स्वरूप हो । निर्वाचित हुने नेतृत्वले राज्य संयन्त्र र विद्यार्थी वर्गबीचको सम्बन्धलाई प्रगाढ बनाउन पुलको काम गर्ने कार्यभार पूरा गर्नुपर्छ ।
उपभोक्तावादी संस्कृतिले नेपालको युवा पुस्तालाई आक्रान्त बनाएको छ । बजारमा पाइने ‘लग्जरी’ का विविध उत्पादन सामाजिक प्रतिष्ठाका विषय बन्न थालेका छन् । अनुत्पादनशील उत्पादनहरूको प्रयोग आजका युवा पुस्ताका आधारभूत आवश्यकता बन्न थालेका छन् । नेपाली युवा पुस्ताको क्रियाशीलता उत्पादनमाभन्दा उपभोगतर्फ बढ्न थालेको छ । जसको कारण, आर्थिक जोहो गर्न युवाको ठूलो हिस्सा वैदेशिक रोजगारमा जान बाध्य भएको छ । यसले असुरक्षित वैदेशिक रोजगारमा जाने र जोखिमयुक्त काम गरेर कमाएको पैसा अनुत्पादक उपभोगका सामानमा खर्च गर्ने प्रवृत्ति आमप्रचलन बन्न पुगेको छ । विद्यार्थी वर्गले सधैँभरि आदर्शवादी समाजको निर्माणमा आफूलाई क्रियाशील बनाउनु पर्दछ । स्ववियुमा निर्वाचित हुने नेतृत्वले विद्यार्थी वर्गलाई उपभोक्तावादको विरुद्धमा सैद्धान्तिक र व्यावहारिक रूपमा प्रशिक्षित गर्नुपर्ने कार्यभार पूरा गर्नुपर्छ ।
नेपाली समाज राजनीतिक परिवर्तनको दिशाले अग्रगमनतर्फ उन्मुख भइसकेको छ । तर, यो समाज सामाजिक विकृति तथा विसंगतिहरूको पूर्ण उन्मूलनको दिशामा भने आशातित रूपमा अगाडि बढ्न सकेको छैन । आज पनि समाजमा छुवाछुत, बोक्सी प्रथा, दाइजो प्रथा, छाउपडी प्रथाजस्ता सामाजिक विकृति तथा अन्धविश्वास प्रचलनमा रहेका छन् । यस्ता विकृतिलाई पुरानो पुस्ताको एउटा शक्तिशाली वर्गले संरक्षण गरिरहेको हुन्छ । विद्यार्थी वर्ग परिवर्तनका संवाहक भएको कारण उनीहरूको परिचालनमार्फत यस्ता विकृतिको निर्मूलीकरण गर्न सकिन्छ । स्ववियुमा निर्वाचित भएको नेतृत्वले विद्यार्थी वर्गलाई सामाजिक कुरीतिविरुद्ध प्रशिक्षित गर्दै परिचालन गर्ने कार्यभार पूरा गर्नुपर्छ ।
शिक्षामा बढ्दै गएको निजीकरण र व्यापारीकरणले नेपालको शैक्षिक क्षेत्रलाई शोषणको माध्यम बनाउने दिशामा अगाडि बढाउँदै लगेको देखिन्छ । निजीकरणको बढ्दो विस्तारको कारण शिक्षा क्षेत्रमा राज्यको उपस्थिति तथा निर्देशन कमजोर बन्दै गएको छ । देशभित्र पनि सरकारी शैक्षिक केन्द्र तथा निजी शैक्षिक केन्द्रबाट दुई वर्गको विद्यार्थी उत्पादन भइरहेका छन् । विद्यार्थी र अभिभावक शिक्षाको अनियन्त्रित व्यापारीकरणको कारण आर्थिक शोषणमा पर्दै गएका छन् । निजी शैक्षिक केन्द्रको प्रभावका कारण सरकारी शैक्षिक केन्द्रहरूलाई कमजोर बनाउने नीतिगत निर्णयहरू गर्न सरकार नै क्रियाशील देखिन्छ । निर्वाचित भएका स्ववियुको नेतृत्वले सरकारी शैक्षिक केन्द्रहरूको सवलीकरणमार्फत शिक्षामा बढ्दै गएको व्यापारीकरणलाई नियन्त्रण गर्ने दिशामा सरकारलाई दबाब दिने कार्यभार पूरा गर्नुपर्छ ।
नेपालमा नयाँ संविधानमार्फत गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीजस्ता जनपक्षीय राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने दिशामा अगाडि बढिरहेको छ । यस प्रक्रियालाई परिवर्तनविरोधी दक्षिणपन्थीहरू तथा नश्लीय राजनीति गर्ने उग्रपन्थीहरूबाट बारम्बार कमजोर बनाउने कार्यहरू भइरहेका छन् । जसको परिणामस्वरूप देश लामो समयदेखि राजनीतिक अस्थिरताको दुष्चक्रमा फँसिरहेको छ । विद्यार्थी वर्गलाई प्राप्त राजनीतिक उपलब्धिको सकारात्मक पक्षको बारेमा जानकारी गराउँदै यसलाई स्थापित गर्न राजनीतिक रूपमा अग्रसर गराउने कार्यभार स्ववियु निर्वाचनमा निर्वाचित भएको नेतृत्वले गर्नुपर्छ ।
लामो समयको अन्तरालपछि हुन लागेको स्ववियुको निर्वाचनले धेरै अवसर तथा चुनौतीसँगै खडा गरेको छ । उल्लिखित कार्यभारहरू पूरा गर्दै अगाडि बढ्न सकेमा स्ववियु, विद्यार्थी संगठन तथा समग्र विद्यार्थी आन्दोलनको ऐतिहासिक गौरवलाई निरन्तरता दिन सक्नेछ । धेरै पक्षले विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिप्रति आलोचना गर्न सुरु गरिसकेका छन् । यदि, स्ववियुमा निर्वाचित नेतृत्वले उल्लिखित कार्यभार पूरा गर्न सकेन भने, स्ववियुका आलोचकहरूको तर्क सान्दर्भिक देखिनेछ र स्ववियु र समग्र विद्यार्थी राजनीति विघटनको दिशातर्फ अगाडि बढ्ने खतरा देखा पर्न थालेका छन् ।

प्रतिक्रिया