उदयपुर, ८ माघ । जिल्ला प्रहरी कार्यालय उदयपुरले ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुको साथै ८ जना प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले ‘मेरो प्रयास लागुऔषध विरुद्धको लागि’ भन्ने नाराका साथ चलाएको अभियानका क्रममा ४ पटकमा बरामद र पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लुपिजेसिक ५१ एम्पोल, डाईजेल्याब ४५ एम्पोल र सिरिन्ज १६ थान बरामद गरिएको छ । त्यस्तै, त्रियुगा नगरपालिका आसपासका ८ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार भेटघाटमा जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले लागुऔषधसहित प्रयोगकर्ता नियन्त्रणमा रहेको जानकारी दिए । ‘प्रहरीले पछिल्ला दिनमा विशेष रूपमा लागुऔषध नियन्त्रणमा जुटेको छ,’ केसीले भने, ‘४ पटकमा ८ जना प्रयोगकर्तासहित मुल्यवान केमिलक लागुऔषध बरामद गरेका छौ ।’
गएको माघ ५ गते त्रिनपा २ बाँसघारीबाट प्रहरीले फेरागन ३६, लुपिजेसिक ३६ एम्पोल र डाईजेल्याव ३६ एम्पोल बरामद गरेको जानकारी दिएको छ । यस क्रममा प्रहरीले त्रिनपा ३ का १७ वर्षे दिपु विक र १९ वर्षे मिलन राईलाई पक्राउ गरेको थियो । ५ गते फेरि त्रिनपा २ बाटै डाइजापाम ६ एम्पोल र फेरागन ८, लुपिजेसिक ६ थान बरामद भएको प्रहरीको भनाइ छ । यस क्रममा प्रहरीले त्रिनपा ४ बस्ने २७ वर्षे आसिम कार्की, त्रिनपा २ बस्ने २३ वर्षे मविन खत्री, ७ बस्ने १७ वर्षे संजोग अधिकारीलाई पक्राउ गरेको थियो ।
पुस २८ गते त्रिनपा १ आँखा अस्पतालबाट डाईजेल्याव, ९, एम्पुल र फेरागन ९, लुपिजेसिक ७ बरामद गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो । यसक्रममा त्रिनपा १ घर भएका ३० वर्षे किरण कार्की पक्राउ परेका हुन । केसीका अनुसार माघ ६ गते ३० ग्राम गाँजासहित त्रियुगा नगरपालिका–२ ज्योतिनगरबाट त्रिनपा–२ कै २० वर्षे संजोग चौधरी र जोगिदह गाविस–६ का १७ वर्षे हरि अधिकारीलाई पक्राउ गरेका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले १ सय ९४ रोपनीमा लगाइएको गाँजा फडानी गरेको जानकारी केसीले दिए । ‘लागुऔषध नियन्त्रण गर्न हामीले विशेष प्रहरी परिचालनमा जोड दिएका छौ,’ केसीले भने, ‘पछिल्ला दिनहरूमा राम्रो नतिजा ल्याएपनि जिल्लामा लागुऔष बढ्दै गएको पाएको छु ।’ पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रणसम्बन्धी ऐन २०३३ को दण्ड ‘ज’ बमोजिम कारबाही हुने केसीले जानकारी दिए । केमिकल लागुऔषध रहेकाले एक व्यक्तिलाई २ देखि १० वर्ष कैद हुनुको साथै १ लाखदेखि १० लाखसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको केसीले बताए ।
प्रतिक्रिया