योजना दिगो बनाउन उपभोक्तालाई तालिम

जाजरकोट, ६ माघ । जाजरकोटका १९ वटा योजनाका उपभोक्ता समितिलाई तालिम दिइएको छ । योजनाको दिगोपन र उपलब्धिमूलक बनाउन उपभोक्तालाई तालिम दिइएको हो । नेपाल सरकार तथा स्विस सरकारको आर्थिक सहयोगमा जिल्ला विकास समितिअन्तर्गतको साना सिँचाइ कार्यक्रमले १९ सिँचाइ कुलो योजनाका १ सय उपभोक्तालाई निर्माण गुणस्तर, मर्मत, संरक्षणका विषयमा प्रशिक्षण दिइएको हो । हचुुवामा विकास योजना निर्माणले दिगो नहुने र बजेट मात्र सकिने परिपाटीलाई न्यूनीकरण गर्न उपभोक्तालाई तालिम दिएको कार्यक्रम संयोजक इन्जिनियर महेश ढुंगानाले बताए ।

यहाँका उपभोक्तामा योजनालाई कसरी दिगोरूपमा प्रतिफल दिने भन्ने ज्ञान कमीका कारण अधिकांश योजना छिटो भत्किने अवस्थामा पुग्ने गरेकोले यस्तो तालिम दिनुपरेको ढुंगानाले बताए । एउटै योजनामा पटकपटक बजेट जाने । तर, निर्माण गुणस्तर नहुने समस्या देखिएको अब तालिमपछि कमी ल्याउन सकिने अपेक्षा लिइएको छ ।

उपभोक्तालाई योजनाको डिजाइन इस्टिमेट, निर्माण कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समग्रीको खरिद, वित्तीय पक्ष, श्रमदान, रकम निकासा तथा व्यवस्थापन, योजनाप्रति अपनत्व, समावेशी सहभागितालगायतबारे प्रशिक्षित गरिएको छ । तालिम लिएका उपभोक्ताले योजनामा निकासा भएको रकमको सदुपयोग गर्ने बताएका छन् । कार्यालयसँग सम्झौता भइसकेका योजनाका अध्यक्ष, कोषाध्यक्ष, सचिव, ज्यामीलगायतलाई ३ दिनसम्म उक्त तालिम दिइएको छ ।

चालु आवमा ३ सय ५० हेक्टर खेतीयोग्य जमिनका १९ सिँचाइ आयोजनाका लागि ५ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । योजना अवधिभरका लागि २ सय ५० मजदुरको बिमा समेत गरिनेछ । यस जिल्लामा स्थानीय उपभोक्ताद्वारा निर्मित अधिकांश योजनाबाट दिगो उपलब्धि नहुने गरेको छ । सिमेन्ट, छड, काठलगायत कमसल निर्माण सामग्रीको प्रयोग र अदक्ष उपभोक्ता तथा ज्यामीले निर्माण गरेका सिँचाइ कुलो, खानेपानी, भवन र सडक योजना वर्ष नपुग्दै मर्मत गर्न बजेटको माग हुने गरेको छ ।

जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समिति, शिक्षालगायत कार्यालयअन्तर्गत सञ्चालन हुने अधिकांश योजनाको निर्माण गुणस्तरहीन हुने गरेका छन् ।

प्रतिक्रिया