धनुषा, ६ माघ । जनकपुरस्थित जानकी आँखा अस्पतालमा जाडो बढेसँगै आँखा उपचार गराउन आउने बिरामीको चाप बढेको छ । नेपाल–भारत सीमा क्षेत्रका ज्यादाजसो भारतीय नागरिक नेपालमा सस्तोमा उपचार हुने भएकाले यहाँ आउँछन् । यस अस्पतालमा घाउ नपारी शल्यक्रिया गरिने भएकाले पनि आँखा उपचारका लागि आउनेको भीड बढेको अस्पतालले जनाएको छ ।
त्यसैगरी, यस अस्पतालप्रति जनविश्वास बढेका कारण भारतका विभिन्न प्रान्तका नागरिक यहाँ आउने गरेका छन् । भारत विहारका दरभंगावासी दिलीप मेहताले जनकपुरस्थित आँखा अस्पतालको उपचारले दीर्घकालसम्मका लागि लाभदायक हुने छिमेकीबाट थाहा पाएपछि यहाँ उपचारका निम्ति आएको बताए । मेहताका अनुसार भारतमा मोतियाविन्दुलगायतका उपचारमा १ लाखदेखि २ लाखभन्दा बढी खर्च हुन्छ । तर, यहाँ थोरै रकममा राम्रो उपचार पाउने भएकाले खासगरी सीमावर्ती क्षेत्रका मानिसहरू आउने गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आँखा अस्पतालमा उपलब्ध फेको शल्यक्रिया सेवा अहिले बिरामीका लागि आकर्षण बनेको छ । भारतमा अत्यधिक महँगो पर्ने र निजी अस्पताल वा काठमाडौंमा उक्त सेवा लिन खर्च बेहोर्न नसक्नेका लागि जानकी अस्पताल राम्रो विकल्प बनेको छ । फेको शल्यक्रियामा आँखामा हुने मोतियाविन्दुको उपचार अति नै सूक्ष्मयन्त्रबाट गरिने र यसमा घाउसमेत नहुने हुनाले यस सेवाप्रति आकर्षण बढेको हो । शल्यक्रियाको आधा घन्टापछि बिरामी निको भएर घर फर्कन सकिने अस्पतालको प्रशासन शाखा प्रमुख रामनरेश पाण्डेले बताए ।
उनले भने ‘भारतीय बिरामीलाई आफ्नै देशमा यो उपचार पाउन गा¥हो रहेको तर नेपालमा १२ हजार रूपैयाँमा यो सेवा सहज रूपमा पाउन सकिन्छ ।’ काठमाडौंमा यो सेवा लिन ३० हजार खर्चिनुपर्ने अवस्था छ । भारतको विहार, उत्तर प्रदेश, झारखण्ड, बंगालसम्मका आँखाका बिरामी यस अस्पतालमा आउने गरेको र उनीहरूले नयाँ सेवास्वरूप फेकोलाई सराहना गर्ने गरेको पाण्डेले बताए । अहिले प्रतिदिन १० देखि १५ जना बिरामीको यस माध्यमबाट शल्यक्रिया भइरहेको छ ।
चिसो महिनामा आँखाको शल्यक्रिया गराउँदा घाउ नलाग्ने र छिटो निको हुने विश्वासका कारण कात्तिकदेखि फागुन महिनासम्म अस्पतालमा बिरामीको संख्या बढ्ने गर्दछ । अन्य याममा ३ देखि ५ सयको संख्यामा दैनिक बिरामी आउने गरे पनि अहिले प्रतिदिन ५ सयदेखि ७ सयको संख्यामा बिरामीको चाप रहने गरेको छ । मोतियाविन्दुको शल्यक्रिया गर्न जानकी आँखा अस्पतालमा ४ हजार ३ सय ८० रूपैयाँ शुल्क लिइने र त्यसमा अस्ट्रेलियन प्रविधिबाट बनेको गुणस्तरीय लेन्ससमेत उपलब्ध गराइने गरिन्छ । अहिले प्रतिदिन अढाइ सयदेखि ३ सय जनाको शल्यक्रिया हुने गरेको छ । यो यामको डिसेम्बर महिनासम्म १० हजार जनाले यो सेवा लिइसकेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया