किन खोजिदैन आत्महत्याको कारण ?

केहीसमय यता पूर्वमा आत्महत्याको शृंखला बढ्दो छ । किन यसरी तीव्र गतिमा फैलिरहेको छ ? यो सोच्नै पर्ने विषय बन्न पुगेको छ । सामान्यतयाः कुनै कारणबाट उत्पन्न मानसिक पीडा वा यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त बाटो र उपाय नै आत्महत्या हो । विभिन्न कारणबाट आत्महत्या गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै छ । यसरी दर्दनाक रूपमा बढिरहेको आत्महत्याको विषयमा भने गम्भीर अनुसन्धान र कारण खोज्नु जरुरी छ । त्यो सँगै आत्महत्या रोक्ने सामाजिक सचेतना पनि जोगाउनु पर्ला । अहिले दैनिकजसो भइरहेको आत्महत्या रोक्न वा हत्याको कारण खोज्न किन तदारुकता छैनन् सम्बन्धित निकाय ? किन खोजिदैन आत्महत्याको कारण ? यो विषयमा प्रहरी प्रशासनले ध्यान दिऊन् । आजको हाम्रो परिवेश मानसिक स्वास्थ्यप्रति संवेदनशील छैन ।

सामान्य उदाहरणका लागि टाउको दुख्यो भने चिकित्सककहाँ गइन्छ, मन दुख्यो या तनाव भयो भने कहाँ उपचार गर्न जाने ? यस्तो द्विविधामा मानिसहरू छन् । त्यसका कारण सचेतना फैलाउनुको विकल्प छ त ? यस विषयमा प्रचारप्रसारकोसमेत अभाव खड्किएको पक्का हो । आत्महत्याको कारण खोज्दै बाहिर ल्याउने हो भने समाजमा हुने यो घट्ना केही हदसम्म कमी आउने देखिन्छ । जब मानिसले आफ्ना समस्याहरू गुम्साएर राख्न थाल्छ, या त्यो समस्याबाट आफू कमजोर भएको महसुस गर्न थाल्छ र तत्कालीन रूपमा समस्याको निकास भेट्दैन, उसैले आत्महत्या रोजिरहेको छ । बर्सेनि बढ्दै गइरहेको आत्महत्याको कारण नखोजी प्रहरीले ढड्डामा तथ्यांक मात्र राख्ने हो भने यो क्रम अझै दर्दनाक हुँदै जाने पक्का छ । मानिसले जुनबेला आफ्नो जीवनमा नमीठो महसुस गर्छ, त्यसबेला ऊ चिन्ता र पीडाको सागरमा डुबुल्की मारिरहेको हुन्छ । आत्महत्याको मुखमा पु¥याउने मात्र पनि चिन्ता नै हो ।

यस्ता घटनाका पछाडी मुख्यतयाः पीडा, चिन्ता र दुःख नै भेटिन्छ । तर, यसको राम्रो अध्ययन गरी रोकथाम गर्ने व्यवस्था भने कतै छैन र देखिएको छैन यो अत्यन्तै आवश्यक छ । कतिपय घट्ना गरिबीका साथै हिंसा बढ्दो छ । आत्महत्याको विषयलाई सामान्य ढंगले लिएर राज्य पन्छिन पाउँदैन । राज्यले नागरिकका लागि गर्नुपर्ने दायित्व निर्वाह नगरेकाले यस्तो भयावह स्थिति आएको हो भन्न सकिन्छ । तसर्थ राज्यले आत्महत्याको कारण खोजी प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ । समाजमा सचेतनाका कार्यक्रमहरू, नाकटहरू देखाएर पनि केही हदसम्म रोकिएका थिए । विश्व स्वास्थ्य संगठनको एक अनुसन्धानमा सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकहरूमा नेपाल आठौँ स्थानमा रहेको छ । नेपालमा आत्महत्याविरुद्धको राष्ट्रिय नीति नै आवश्यक रहेको र ग्रामीण तहसम्मको कार्यान्वयन र सामुदायिक सक्रियतामा यो न्यूनीकरण हुन सक्छ । आत्महत्याका विभिन्न कारणमध्ये राष्ट्रले जनतालाई न्यूनतम शिक्षा, स्वास्थ्य र गाँसबासको सुविधा दिलाउन नसक्नु पनि हो । आत्महत्याजस्तो जघन्य अपराधपूर्ण बाटो समाउन पुग्छ । त्यतिबेला उसलाई आवश्यक परामर्श उपलब्ध गराउने र जीवनका अप्ठ्यारा बाटाहरूमा निर्भयका साथ हिँड्न दृढ मनोबल प्रदान गर्न सक्ने हो भने आत्महत्या रोकिन सक्छ । त्यसकारण आत्महत्या भएको ठाउँमा के कारणले उनले हत्या गरे यसको गम्भीर अनुसन्धान, अध्ययन गरेर अन्य ठाउँमा हुन सक्ने यो जघन्य अपराध रोक्न राज्यले महत्वपूर्ण भूमिका खेल्न जरुरी छ ।

आत्महत्यालाई रोक्न सक्दैनौँ होला तर रोकथामका लागि भने ध्यान दिनु जरुरी देखिन्छ । एउटा, आत्महत्यासम्म पु¥याउन सक्ने रोग लागेको छ भने सो रोगको मनोपरामर्शको माध्यमबाट निदान गर्ने प्रयास गर्नुपर्छ । यसका लागि विशेषगरी घरका सदस्य र अभिभावकहरू सचेत हुनुपर्ने नितान्त आवश्यक हुन्छ । आत्महत्याका बारे नेपालमा निकै कम सामग्री भए पनि प्राप्त केहि तथ्यांकहरूबाट केही निष्कर्ष भने निकाल्न सकिन्छ । नेपालमा विगत वर्षहरूमा दर्ता भएका आत्महत्याका संख्यालाई तुलानात्मक अध्ययन गर्ने हो भने बर्सेनि झन्डै आत्महत्या बढ्दै गएको पाइन्छ । आत्महत्या गर्नेहरू प्रायः झुन्डिएर मर्ने गरेको देखिएको छ । पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर तरिकाको प्रयोग गर्दछन्– जस्तै झुन्डिने, हतियारको प्रयोग गर्ने । महिलाहरू भने प्रायः विष सेवन गर्ने, पानीमा डुब्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ । प्रहरी तथ्यांक हेर्ने हो भने लागुपदार्थ दुव्र्यसनको उपचार दुव्र्यसनीहरूमा आत्महत्याको दर बढी छ । डिप्रेसन भएको मानिसले लागुपदार्थ या रक्सीको सेवन गर्छ भने आत्महत्याको सम्भावना धेरै बढ्छ ।

यदि हामीले चिनेको व्यक्ति धेरै उदास छ, निराशावादी कुरा गर्छ र उसलाई रक्सी या लागूपदार्थको आदत छ भने उसलाई कसैको निरीक्षणमा रहने व्यवस्था गर्दै दुव्र्यसन र डिप्रेसन दुवैको उपचार गर्न सल्लाह दिनुपर्छ । विकसित मुलुकहरूमा आत्महत्याको रोकथामका संगठनहरू खोलिएका छन् ।

यी संगठनहरू आत्महत्या गर्न खोज्ने व्यक्तिलाई भावनात्मक सहायता दिनुका साथै सो व्यक्तिको समस्याको पहिचान गरेर उपयुक्त तरिकाले समस्या समाधानको लागि पहल गर्दछन् । त्यस्तै यदी आत्महत्यातर्फ उन्मुख भएको व्यक्ति कुनै मानसिक रोगले ग्रसित छ भने उसको रोगको उपचारको लागि बाटो देखाइदिने या पहल कदमी गरिदिने पनि गर्दछन् । त्यस्तै क्षेत्र क्षेत्रमा रोकथामको संगठनहरू विस्तार गरी आत्महत्या रोक्न सरकारी पक्षबाट पनि पहल होस् । र, प्रहरी प्रशासनले पनि आत्महत्याको कारण खोजी न्यूनीकरणमा जनस्तरसम्म पहल गरुन् ।

प्रतिक्रिया