बहिनी तेरिया,
न्यानो स्नेह
ज्वरोले मेरो शरीर फतक्क गलेको छ, बहिनी । तैपनि, म लेख्न बसेको छु । सबैले तिमीप्रति देखाएको उदारता र तत्परताले मलाई पनि केही लेख्न ऊर्जा मिलिरहेको छ । हाम्रो भेट २ वर्षअघि टोकियोमा भएको थियो । जतिबेला तिमी भर्खर डिआइडी लिटिल मास्टर्स सिजन–३ को विजेता बनेकी थियौ । सौभाग्य मान्नुपर्छ, तिमी आमन्त्रित कार्यक्रम सञ्चालकको लागि आयोजकले मलाई पनि आमन्त्रण गर्नुभएको थियो ।
म त्यो समय निकै खुसी थिएँ र दुःखी पनि उस्तै । खुसी यसकारण थिए कि तिमीसँग भेट भएको थियो । तर, एकल जातीय संस्थाले तिम्रो सम्मान गरेको देख्दा निकै दुःखी भएको थिएँ । सिंगो नेपालको स्वाभिमानलाई उँचो बनाउने होनाहार प्रतिभालाई एकल जातीय संघसंस्थाले मात्र सम्मान गर्नुपर्दाको त्यो क्षणभन्दा पीडादायिक क्षण अरू के हुन सक्छ ?
अफशोच ! यहाँ यस्तै छ, टेरिया बहिनी । तिमी सानी छौ । फोहोरी राजनीतिले बिगारेको नीति र स्थिति बुझ्न अझै समय लाग्ने छ । भोलि तिम्रो प्रतिभामा पनि राजनीति गर्न खोज्नेछन् तर, हामी त्यसो हुन दिदैनौँ । कसैको प्रतिभामाथि जातीय राजनीति गर्ने अधिकार कसैलाई छैन । खुला आकाशमा निष्फिक्री नाचिरहेका चरी झै तिमी पनि स्वतन्त्र रूपमा यो धर्तीमा नाच्न पाउनुपर्छ ।
हामी ३ दिन सँगै रह्यौँ । मैले सोचेको थिएँ, अरूमा जस्तै तिमीमा पनि स्टार हुनुको घमन्ड, शान, रवाफ हुनेछ । तर, तिमीमा त्यो पटक्कै थिएन । तिमी कति सरल र अनुशासित थियौ भन्ने जवाफ बुझ्न मलाई समय लागेन । किनकी, सधैँ मुस्काइरहने तिम्रा अनुहार नै त्यसका जवाफ थिए ।
तेरिया बहिनी ! हामी भेटिएर छुटेको पनि २ वर्ष बितिसकेछ । तिमी फेरि अर्को सफलताको नजिक पुगेको खबरले मलाई धेरै खुसी मिलेको छ । म मात्र होइन, हामी सबै नेपाली खुसी भएका छौँ र हामी सबैलाई विश्वास छ, तिमीले यसपालीको प्रतियोगिता पनि जित्ने छौ । र, हामी सबै नेपालीलाई खुसी पार्नेछौ । तिमीलाई जिताउनको लागि हामीले गर्नुपर्ने कुनै पनि कसुर बाँकी राख्ने छैनाँै ।म अहिले तिम्रा हरेक सोहरू हेरिरहन्छु । अरूको भूमिमा गएर उनीहरूलाई नै जितेर अघि बढ्ने तिम्रो साहसलाई जति सलाम गरे पनि पुग्दैन । तिम्रा हरेक सफलताले देशको शान सगर झैँ उचो बनाएको छ । नेपालको स्वाभिमानलाई चौडा बनाएको छ ।
तेरिया बहिनी ! ३ साताअघिको तिम्रो एउटा सो हेरेर म त्यतिबेला निकै भावुक बनेको थिएँ, जतिबेला तिमीले आफ्ना जजहरूलाई नेपाली टोपी लगाइदिएकी थियौ र, आफ्नो प्रशिक्षक गुरूलाई बुद्धको मूर्ति उपहार दिएकी थियौ । त्यति सानो उमेरमा आफ्नो राष्ट्रियताप्रतिको तिम्रो झुकाव र पाको चेतनालाई कति हो कति सम्मान गरेको थिएँ । देशको स्वाभिमान हराइरहेको बेला तिमी जस्ता १÷२ जना होनाहार प्रतिभाले नै देशको स्वाभिमान उँचो बनाइरहेका छौ । बिडम्बना ! त्यही प्रतिभाको सम्मान हुँदैन मेरो देशमा । हुन त प्रतिभा पहिचान गर्न नसक्ने मेरो देशमा कसरी प्रतिभाको सम्मान हुन्छ ?
तेरिया बहिनी ! तिमी जीतको नजिक छौ । तिमी धेरै सम्हालिएर अघि बढ्नुपर्नेछ । डिआइडीभन्दा यस प्रतिस्पर्धामा निकै चुनौती रहनेछ । किनकी, सबै प्रतिस्पर्धी उतिकै उत्कृष्ट र सबल छन् । तर, तिमी उनीहरूभन्दा उच्च विश्वास र उच्च मनोभाव लिएर आफूलाई उनीहरूभन्दा उत्कृष्ट बनाउनेछौ । खै अरू त के भनेर लेखौ ? तिम्राबारेमा धेरै कुरा त लेखक र पत्रकारहरूले नै लेखिसक्नु भएको छ । प्रशंसा गरौँ भने पनि भारतका चर्चित हस्तीहरूले नै धेरै उपमा दिएर तिम्रो प्रशंसा गरिसकेका छन् । म त यति भन्छु, तिमी अरूभन्दा फरक र उत्कृष्ट छौ ।
तेरिया बहिनी ! म धेरै लेख्न सक्दिनँ । ज्वरोले मेरा औँला कापेका छन् । मलाई आशा छ, यी कापेका औँलाले लेखेका शब्दले तिमीलाई केही मात्र भए पनि साहस र ऊर्जा दिनेछ । तिमीलाई जितको शुभकामना !
र अन्त्यमा, आफूलाई कहिल्यै एक्लो महसुस नगर्नू । महसुस भए एकचोटि पछाडि फर्केर हेर्नु, त्यहाँ ३ करोड नेपाली उभिएको पाउनेछौ ।
उही तिमीलाई माया गर्ने दाजु
– दिल राना
प्रतिक्रिया