रामेछाप, ५ माघ । २ महिनाअघि रामेछापको मझुवा गाविसमा चालकसहित गाडीमा आगजनी गरेको आरोपमा रामेछाप प्रहारीले २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
रामेछापको मझुवा–१ निगालपानीमा गत मंसिर ९ गते मे १ ज २१८७ नम्बरको टाटासुमो गाडीभित्र झापा लखनपुर, १ का चालक २७ वर्षीय विशाल खड्कालाई आगो लगाएर हत्या गरिएको थियो । घटनामा संलग्नताको आरोपमा प्रहरीले तेह्रथुम पौठाकका २६ वर्षीय मनकुमार लिम्बु र रसुवा सरनथलीकी १८ वर्षीया बिन्दू तामाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको बयान अनुसार मंसिर ८ गते टाटासुमो रिजर्भ गरी काठमाडौंबाट रसुवातर्फ गएका थिए । त्यहीँबाट धादिङ, हेटौंडा, बार्दिवासहुँदै मंसिर ९ गते बिहान ४ बजे सिन्धुलीको चैनपुर खाल्टेस्थित होटल सेन्तेरेममा चिया खाएर रामेछापतर्फ हिँडेका थिए । रामेछापको सित्खा बजार हुँदै मझुवा–१ निगालपानीमा पुगेर विहान ६ बजेतिर सुमो चालक विशाल खड्कालाई ३ राउन्ड गोली प्रहार गरी सुमोको पछाडि सिटमा राखेर आगो लगाई हत्या गरेर फरार भएका थिए उनीहरू ।
उक्त घटनाका मुख्य योजनाकार १ जना अझै फरार रहेकाले खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमुद ढुँगेलले जानकारी दिए । उनी रामेछाप जिल्लामै भएको र यसअघि पनि अपराधिक घटनमा संलग्न भई फरार अभियक्तको सूचीमा रहेको उनले जानकारी दिए ।पक्राउ परेका लिम्बु जनमुक्ति सेनाका पूर्वअयोग्य लडाकु हुन् । अरोपीहरूको साथबाट प्रहरीले जनमुक्ति सेना लेखिएको पर्चा, ४ थान मोबाइल, ९ थान र केही मोबाइलका सिमसमेत बरामत गरेको छ ।
प्रतिक्रिया